काठमाडौं । गृहमन्त्री जनार्दन शर्माका सुरक्षा सल्लाहकार सुरेन्द्रबहादुर शाहले प्रहरीको प्रशासनिक कार्यमा हस्तक्षेप गरेको भन्दै गृह मन्त्रालयका कर्मचारीले असुन्तुष्टि व्यक्त गरेका छन् । लामो समयदेखि गृहमा काम गर्दै आएका अधिकृतहरुले मन्त्रीको विज्ञका रुपमा नियुक्त गरेका व्यक्तिले अधिकार क्षेत्र मिचेर आफूखुसी काम गरेको भन्दै उनका कारण प्रहरीको कार्यमा असर पर्ने बताएका छन् ।
केही समय अघिमात्र नेपाल प्रहरीबाट अवकाश पाएका पूर्वएआईजी शाहलाई गृहमन्त्री शर्माले आफ्नो सुरक्षा विज्ञका रुपमा नियुक्त गरेका थिए । मन्त्रीको निजी सुरक्षा सल्लाहकारका रुपमा नियुक्त भएका शाहले प्रहरीको सरुवा बढुवामा समेत हस्तक्षेप गरेको भन्दै यसअघि पनि विभिन्न टिका–टिप्पणी भएका थिए ।
“मन्त्रीज्यूले आफ्नो सुरक्षा विज्ञका रुपमा नियुक्त गर्नुभएको हो, सल्लाहकारको काम त नेपाल प्रहरीको मात्र नभएर अन्य सुरक्षा निकायको पनि योजना तर्जुमा गर्ने हो । तर, उहाँले त आफ्नो अधिकार भुलेर प्रहरीको सरुवा–बढुवामा चासो देखाएर मन्त्रीज्यूकै बदनाम गर्नुभएको छ,” गृहका एक अधिकारीले असन्तुष्टि पोखे । यसअघिका गृहमन्त्रीले पनि विज्ञ सल्लाहकार राख्ने गरेको भए पनि त्यस्तो नभएको उनको दाबी छ ।
मन्त्रीले विज्ञका रुपमा नियुक्त गरेका शाहले नेपाल प्रहरीका बहालवाला एसएसपी, एसपी र डीएसपी, सशस्त्रका कर्मचारी र राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई साथमा लिएर सचिवालय चलाउँदै आएको बताइएको छ । शाहको सचिवालयमा एसएसपी केदार रिजाल, एसपी मनोज केसी र डीएसपी वासु पाठक छन् । डीएसपी पाठकबाहेक रिजाल र केसीले प्रहरी प्रधान कार्यालयमै कार्यालयमै बसेर विज्ञ शाहले भनेको काम गर्दै आएका छन् ।
गृहका अधिकारीमात्र हैन, नेपाल प्रहरीका उच्च अधिकृतहरु पनि मन्त्रीका सल्लाहकारप्रति असन्तुष्ट छन् । “गृह मन्त्रालयको मातहतमा रहेका सुरक्षा संगठनहरुको नीतिनियम बनाउन र विभिन्न कार्ययोजना बनाउन सुझाव सल्लाह दिने गरी नियुक्त हुनुभएका मन्त्रीज्यूका सल्लाहकारले प्रहरीको दैनिक कार्यमा पनि चासो लिनु होला भन्ने हामीलाई लागेको थिएन,” नेपाल प्रहरीका एक अधिकारीले भने, “संगठनको दिर्घकालीन योजना भन्दा पनि उहाँले प्रशासनिक कार्यका बारेमा रिपोर्टिङ लिुनभयो । उहाँको कार्यशैली चित्त बुझेन । आईजी साबलाई जस्तै गरी रिपोर्टिङ गर्नुपर्छ उहाँलाई ।”
गृह मन्त्रालयका अधिकारीहरुका अनुसार मन्त्रीका विज्ञ शाह प्रहरीमा भएका रहेक काम आफूलाई रिपोर्टिङ गराउन खोज्छन् । प्रहरीका विभिन्न विभागीय प्रमुखलाई बोलाएर उनले रिपोर्टिङ लिने गरेको गृहका अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार सरकारले सात प्रदेशको प्रहरी प्रमुख बनाएर पठाएका एआईजीलाई पनि शाहले ब्रिफिङका लागि बोलाएका छन् । ब्रिफिङका लागि केही एआईजीहरु गएपनि केही भने नगएको स्रोतले बाह्रखरीलाई जानकारी दियो ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी हरेक मन्त्रीले सम्बन्धित क्षेत्रका विज्ञलाई आफ्नो सल्लाहकार नियुक्त गर्ने चलन रहेको र त्यहीअनुसार गृहमन्त्री शर्माले पनि सुरक्षा क्षेत्रको विज्ञका रुपमा शाहलाई नियुक्त गरेको बताउँछन् । “उहाँको काम सुरक्षा संगठनको योजना तथा नीतिनियम बनाउँदा सुझाव दिने हो । तर उहाँले सचिवालय बनाउनुभएको छ, के अन्य केकसो गर्दै आउनुभएको छ, मलाई जानकारी छैन,” उनले भने ।
गृह स्रोतका अनुसार गृहमन्त्री, गृह सचिव तथा प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा पनि शाहले भाग लिने गरेका छन् । तर यसअघिका विज्ञहरु यसरी सचिवस्तरीय बैठकमा भाग लिने नगरेको गृहका अधिकारी बताउँछन् । विज्ञले सचिवस्तरीय बैठकमा समेत भाग लिँदा काम गर्न सहज वातावरण नहुने गृहका अधिकारीको भनाइ छ ।