काठमाडौं । गएको बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी रविन्द्र धानुक हाजिर भए । धानुकले जिम्मेवारी सम्हालेको दुई दिनपछि नै मिलन चक्रे गुण्डागर्दीको आरोपमा पक्राउ परे । चक्रेलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
त्यसो त काठमाडौंबाट गुण्डाहरु पक्राउ पर्नु नौलो कुरा होइन । काठमाडौं प्रहरी प्रमुख भएर आउने प्रहरी अधिकारीको पहिलो काम नै गुण्डा पक्राउ गर्नु हुने गरेको छ । काठमाडौं प्रहरी प्रमुखलाई दोस्रो आईजीपीका रुपमा पनि लिने गरिन्छ, त्यसैले पनि यहाँ आउन प्रहरी अधिकारीहरुले निकै मेहनत गर्ने गरेको बताइन्छ ।
गुण्डागर्दीको आरोपमा पक्राउ परेका चक्रे राजधानीका पुराना गुण्डा हुन् । उनी यसअघि गत वैशाख अन्तिम साता पनि पक्राउ परेका थिए र उनलाई सार्वजनिक अपराधमा मुद्दा चलाएर छाडिएको थियो । चक्रेले व्यवसायीलाई रकम असुलीको धम्की दिएको भन्दै प्रहरीले पक्राउ गरे पनि उनीवरुद्ध लिखित उजुरी भने कसैको परेको छैन ।
काठमाडौं परिसरमा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, “गुण्डा उठाउनु के नौलो कुरा हो र ? हाकिम फेरिएपछि पहिलो काम भनेकै गुण्डा पक्राउ गर्ने हो । देखाउनकै लागि भएपनि एक दुईजना गुण्डा पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने चलन नै भइसक्यो ।”
यसअघिका काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम थापाको पालमा पनि दीपक मनाङ्गे, साजन महर्जनलगायत ८० जनाभन्दा बढी गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर २५ दिन थुनामा राखी छाडिएको थियो ।
त्यसअघि काठमाडौं प्रहरी प्रमुख थिए उत्तम कार्की । उनको पालामा महानगरीय अपराध महाशाखाले एमाले निकट गुण्डा दिनेश अधिकारी (चरी) को इन्काउटर गरेको थियो । चरीको इन्काउटर भएपछि गुण्डाहरुको भागाभाग नै भएको थियो ।
चरीपछि गुण्डा नाइके घैंटे पनि इन्काउन्टरमा परेपछि त झन् गुण्डाहरुबीच आतंक नै मच्चिएको थियो । प्रहरीले उनीहरुको निगरानी गरेको थियो तर खोजी गरेको थिएन । अहिले पनि उनीहरु डराएर लुकेर बस्दै आएका छन् । काठमाडौं प्रहरी प्रमुख भएर आउनेले लुकेका गुण्डालाई निकाल्ने परम्परा नै बसेको छ । त्यसैक्रममा अहिले चक्रे समातिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
लामो समयदेखि काठमाडौं परिसरमा काम गर्दै आएका एक प्रहरी अधिकारी भन्छन्, “पहिलाका नाम चलेका गुण्डानाइकेहरु थला परिसकेका छन् । बरु उनीहरुबाट हाँगा पलाएकाहरुले दादागिरी मच्चाउने गरेका छन्, उनीहरुलाई पक्राउ गर्नु त काम देखाउनु मात्र हो, यसको खासै अर्थ छैन ।”
चर्चा कमाउन मसाज, डान्सबार, क्यासिनो हुँदै गुण्डा पक्राउ
जानकारहरुका अनुसार काठमाडौं प्रहरी प्रमुख भएर आउनेहरुले केही केही न केही गरेर काम देखाउने पुरानै परम्परा हो । पहिले–पहिले यसका लागि ठमेलका मसाज सेन्टर तथा डान्स बार उपयुक्त थिए । मसाज सेन्टर र डान्स बारमा छापा मारिन्थ्यो । सञ्चालक र ग्राहकलाई पक्राउ गरी नगर प्रहरीको हलमा राखिन्थ्यो । सम्झाई–बुझाई गरी उनीहरुलाई छाडिन्थ्यो । मिडियाबाजी हुन्थ्यो । प्रहरीको चर्चा भइहाल्थ्यो ।
व्यवसायीहरुले यसको विरोध गर्न थालेपछि प्रहरीको ध्यान क्यासिनोतिर गयो । त्यहाँ पनि विरोध हुन थालेपछि प्रहरीले काम देखाउन गुण्डा समाउन थालेको जानकारहरु बताउँछन् ।
बिनाप्रमाण गुण्डाहरुलाई समातेर शान्ति सुरक्षा सबल नहुने प्रहरीकी अधिकारीहरु स्वीकार्छन् । “लुकेर बसेका गुण्डालाई पक्राउ गर्नु राम्रो हैन । गुण्डागर्दीमा यसरी सुधार हुँदैन । पक्राउ गर्योे, सार्वजनिक मुद्दा चलाएर छाड्यो । यो त काम देखाउने उपायमात्र हो,” काठमाडौं प्रहरी परिसरमा कार्यरत एक प्रहरी अधिकारी भन्छन् ।
काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुक भने गुण्डागर्दीको अन्त्य गर्ने भन्दै गृहमन्त्रीदेखि संगठन प्रमुखको कडा निर्देशन रहेको बताउँछन् । “प्रहरीले गुण्डागर्दीमा संलग्न रहेका व्यक्तिको निगरानी गर्दै आएको छ । केहीलाई दुःख दिएको उजुरी परेपछि चक्रेलाई पक्राउ गरिएको हो, अनुसन्धान जारी छ,” उनले भने ।