site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस र गठबन्धनको पक्षमा आएको नतिजाले एमाले आत्तियो : कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले नेकपा (एमाले)ले मत गणनाको विषयमा सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टी प्रवक्ता प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम  र देशभरका पालिकाको मत गणनाको प्रारम्भिक नतिजाले एमाले अत्तालिएको उल्लेख गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“...निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटनअनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्ध रूपमा धाधली गर्‍यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो,” विज्ञप्तिमा लेखिएको छ,“निर्वाचन कार्यतालिकामा उमेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन ।”

कांग्रेसले निर्वाचनमा विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा भएको भन्दै लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरूपमा स्वीकार गर्नुपर्ने विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्