site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रंगेलीको विवाद बुझ्न आफैँ पुगे थपलिया, दिउँसो २ बजेपछि मतगणना पुनः सुरु हुने

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया मतगणनाको विषयमा उत्पन्न विवादबारे जानकारी लिन सोमबार मोरङको रंगेली पुगेका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत रंगेली नगरपालिकाको मतगणनाको विषयमा मतपेटिकामा त्रुटि देखिएको भन्दै विवाद हुँदा यहाँ ३६ घण्टादेखि गणना स्थगित छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थपलियाले स्थानीय जनता क्याम्पसस्थित मतगणनास्थल पुगी विवादबारे प्रत्यक्ष जानकारी लिएका हुन् । त्यहाँ आयोजित छलफलमा उनले भने, “विवादहरुलाई यहीँ निरूपण गर्नुहोस्, मतगणना रोक्नु हुँदैन ।”

छलफलमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उमेदवार मोदराज घिमिरे, नेकपा (एमाले)का उमेदवार दिलीप बगडिया, नेकपा (माओवादी)का उमेदवार रफिक आलमलगायत सहभागी थिए । सर्वदलीय छलफलमा आजै दिउँसो २ बजेपछि पुनः मतगणना सुरु गर्ने विषयमा समझदारी भएको बताइएको छ ।

रंगेली–८ को मतपेटिकामा सिल नभएको भन्दै कांग्रेस नेता–कार्यकर्ताले मतगणना स्थगन गर्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए ।

छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, रंगेलीका निर्वाचन अधिकृत रामहरि काफ्ले, सहायक प्रजिअ महेशराज तिमल्सिना, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालालगायत सहभागी थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्