
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले विश्वलाई लुम्बिनीसँग जोड्ने बताएका छन् । बुद्धजयन्तीको अवसर पारेर सोमबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सिधै विश्व समुदायसँग जोडिएको बताए ।
उनले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान समेत गरे । “लुम्बिनी अब विश्व समुदायसँग सिधा हवाईमार्गमार्फत जोडिएको छ,” उनले भने, “यसले लुम्बिनीमा पर्यटक आवागमनमा सहज हुनेछ । देशको आर्थिक विकासमा समेत टेवा पुर्याउनेछ ।”
प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनले मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र लुम्बिनी क्षेत्रको पर्यटनमा समेत परिवर्तन ल्याउने बताए ।