
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी छ । प्रमुख पदका तीनजना प्रत्यासीको मत परिणाममा चौतर्फी चासो छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री समेत रहेकी उमेदवार रेनु दाहाललाई नेपाली कांग्रेसको साथ छ । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीलाई राप्रप्राको साथ छ ।
कांग्रेस नेता जगन्नाथ पौडेल भुइँकटहर चुनाव चिह्नबाट प्रमुख पदमा स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन् । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उमेदवार बनेका हुन् ।
अहिले भरतपुरमा अत्यधिक चर्चा जगन्नाथ अर्थात् उनकै चुनाव चिह्न भुइँकटहरको भइरहेको छ । उनी विजय हुने सम्भावना कम देखिन्छ । यद्यपि, निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ । तर, उनले ल्याउने मतले दाहाल र सुवेदीको भाग्य र भविष्यको फैसला गर्नेछ ।
सोमबार बिहान करिब ९ बजेसम्म १० हजार २०६ मत गन्दा रेनुले तीन हजार ५७८ मत ल्याएकी छन् । सुवेदीले तीन हजार ५७५ मत पाएका छन् । पौडेलले एक हजार ३६० मत ल्याएका छन् ।
वडा नम्बर–१ र २ को गणना सकिएको छ । दुवै वडाध्यक्षमा कांग्रेस उमेदवार विजयी भएका छन् । वडा नम्बर–३ को मतगणना भइरहेको छ ।
यहाँ निर्वाचनलाई नजिकबाट नियाल्नेहरू पौडेलले पाएको मतबाट ‘आश्चर्यचकित’ छन् । उनीहरूको बुझाइमा गणना भएका वडाहरूमा जगन्नाथको प्रभाव कम थियो । तर, उनले नसोचेको मत निकाले ।
सोही रूपमा अगाडि बढे उनले १४ हजारको हाराहारीमा मत प्राप्त गर्ने अनुमान गरिएको छ ।
सुरक्षा अधिकारीहरूका अनुसार सुवेदीको राम्रो प्रभाव भएका ६, १४ र १५ नम्बर वडाको गणना बाँकी छ । त्यहाँ उनले बढी मत ल्याउन सक्छन् । जसको असर रेनु दाहालमाथि पर्न सक्छ ।
एक लाख २५ हजार मत खसेको भरतपुरमा अहिले नै विजयी को हुन्छन् भन्न कठिन छ । पौडेलले कांग्रेसको मत पाइरहेका देखिन्छ । उपप्रमुखमा भने कांग्रेसीले कांग्रेसकै उमेदवारलाई मत दिइएको सुरुवाती दुई वडाको नतिजाले देखिएको छ ।
जानकारहरूका अनुसार एमालेको बलियो प्रभाव ४, १० र ११ नम्बर वडामा छ । जहाँ एमालेले ठूलो फड्को मार्न सक्छ ।
माओवादीको सबैभन्दा प्रभाव १३ नम्बर वडामा रहेको बताइएको छ ।
एमाले नेता–कार्यकर्ता भुइँकटरले मत बढाउँदा उत्साहित देखिन्छन् भने माओवादी नेता–कार्यकर्तामा डर देखिन्छ ।
तर, प्रमुखमा एमाले उमेदवारले वडाध्यक्षले पाएको पूरै मत नपाएको देखिएको छ । भरतपुरका हरेक क्षेत्रमा यति बेला भुइँकटहरले ल्याउने मतलाई चासोका साथ हेरिएको छ ।