site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
शेरबहादुर र रामचन्द्रसँगै जेल बसेको हुँ तर अहिले ममाथि राज्यसत्ता नै लाग्यो 

स्थानीय तह निर्वाचन २०७९को इपिसेन्टर बनेको छ, चितवनको भरतपुर महानगरपालिका । भरतपुर यसकारण पनि इपिसेन्टर बनेको सत्ता गठबन्धनलाई चुनौती दिने गरी कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवार दिएका छन् ।

अघिल्लो पटकको चुनावको मत परिणाम, त्यसले पारेको असर, गठबन्धन भत्काउने र बनाउने क्षमता भरतपुरले नै राख्ने भन्दै शीर्ष नेताले दिएको अभिव्यक्तिका कारण पनि भरतपुरमा चुनावी रौनक बढेको छ ।

प्राध्यापक, वरिष्ठ अधिवक्तासमेत रहेका नेपाल विद्यार्थी संघको संस्थापक प्रतिनिधि तथा पञ्चायतमा जेलनेल भोगेका कांग्रेस नेता पौडेल ७० वर्ष आसपासको उमेरमा भरतपुर महानगरको उमेदवार बनेका छन्, तर स्वतन्त्र । उनीसँग प्रस्तावक समर्थकलाई कांग्रेसले कारवाही गरिसकेको छ । केन्द्रले कारवाही गर्छ भनेर जान्दा जान्दै चितवनका बहुमत नेता कार्यकर्ताले भने साथ दिइरहेका छन् । तर, जगन्नाथ भने ‘जित सुनिश्चित’ भए पनि आफूमाथि राज्य नै लागेको,  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रेनुलाई जसरी पनि जिताउने सर्वसत्तावादी सोचमा देखिएकाले परिणामका विषयमा चिन्तित रहेको बताउँछन् ।

उनीविरुद्ध राज्य कसरी लाग्यो ? जनताको साथ कस्तो छ ? विपक्षीसँग तालमेलको सम्भावना कतिको छ ? यस्तै प्रश्नहरुमा पौडेलसँग बाह्रखरीका बलराम पाण्डे, रमेश वाग्ले केशवराज जोशीले गरेको कुराकानीको सम्पादित अंश :– 

अहिले चुनावी अभियान तिव्र बनाइरहनुभएको छ । माहोल कस्तो छ ? 

Global Ime bank

हामीसँग राज्यसँग भएको साधन स्रोतसँग लड्ने या माओवादी केन्द्रको साधन स्रोतसँग लड्ने प्रतिष्पर्धा गर्ने हैसियत छैन । हामी उनीहरुसँग त्यो स्केलमा पैसा खर्च गरेर चुनाव जितौं भन्ने सोच पनि छैन । तर, स्वतन्त्र निर्वाचन हुने हो र तामझाम नहुने हो भने हामीले चुनाव जितिसक्यौँ । अहिले तपाईं मतदाताको मनोभाव हेर्नुहोस्, गाउँबाट थाहा पाउनुहुन्छ । 

चितवनमा भएको पाँच दलको सभा हेर्नुस्, कति मान्छे थिए तपाईंहरु नै अनुमान लगाउनुहोस् । प्रचण्डले आक्रोशित भएर रेनुले चुनाव हारे उथलपुथल हुन्छ, देशमा ठूलो दुर्घटना हुनसक्छ त्यसकारण स्वतन्त्र उमेदवार जिम्मेवार हुनेछन् भनेर त्यो तहको टिप्पणी दिनुभएको छ । 

अब तपाईं आफैँ त्यसबाट निष्कर्ष निकाल्न सक्नुहुन्छ । यस्तो खालको टिप्पणी मतदाताको पनि अपेक्षित टिप्पणी होइन । हाम्रो प्रधानमन्त्रीको भाषण पनि त्यस्तै छ रेनु नभइ हुँदैन भन्ने छ । 

कांग्रेसको पुरानो नेता सांसद भएको व्यक्ति, कांग्रेसभित्रको यो विचलन हो कि के हो ? तपाईं किन उमेदवार बन्नुभएको यस्तो बेलामा ?

यो विद्रोह पनि होइन । यो अग्रगमन पनि होइन । यो कांग्रेस पार्टीभित्रको विचलन हो । किन विचलन हो भने ०७४को मत परिणामले हामी प्रतिपक्षी हो । २३ सिट वाला हो नि हामी । सरकारमा जाने कुनै हैसियत हाम्रो थिएन । परिस्थिति कसैले परिकल्पना गरेको थिएन ।

कल्पनाबाहिर के भयो भने नेकपामा बीचैमा झगडा भयो र त्यो मिल्न नसक्ने स्केलमा गयो । झगडा दुस्मनीमा परिणत भयो ।

पार्टी फुटेर चकनाचुर भयो । पूर्वअभ्यासको रुपमा पुस ५ गते संसद विघटन भयो । वारपारको लडाइँमा उनीहरु बीचमा समस्या आयो अनि कांग्रेसको रोल महत्वपूर्ण भएर आयो । पछि जेठ ८ गते संसद विघटन गरेपछि वारपारको लडाइँमा जाँदा कांग्रेस महत्वपूर्ण रोलमा आयो अनि सरकारको नेतृत्व गर्ने मौका पायो । 

मेरो निचोड भन्नुहुन्छ भने कांग्रेसले नेतृत्व गरेपछि केपी ओलीलाई विश्वासमा लिएर वा प्रचण्डसँग सल्लाह गरेर चुनावमा जानुपर्थ्यो । यो सरकार चुनावी सरकार हुनुपर्थ्यो । 

तर, यसैको बचाउ गर्दा अध्यादेश आयो, २० प्रतिशतले  पार्टी विभाजन गर्ने भन्ने भयो ।  ऐतिहासिक हिसाबले यो अत्यन्तै खराब निर्णय थियो । त्यसरी अध्यादेश ल्याउनु र राजनीतिक दललाई  विभाजन गर्नका निमित्त परिस्थिति अनुकूल बनाउनु ४० पनि नगरेर २० प्रतिशत गर्नु त्यो साह्रै आत्मघाती काम थियो । त्यो नहुुनपर्ने थियो । यो भइसकेको छ त्यो कुरामा म जान चाहान्न ।

तर, यो सब कुराको पछाडि हाम्रो पार्टी सभापतिलाई प्रधानमन्त्री भइरहने र यसको विस्तार चाहिँ अर्को चुनावसम्म होस् भन्ने महत्वकांक्षाकै कारण भएको हो । त्यस्तो महत्वकांक्षा जगाइदिने प्रचण्ड र माधव नेपाल हुन् । 

त्यसपश्चात् खास गरेर प्रचण्डले भनेको कुरामा प्रधानमन्त्रीले एकोहोरो छाप लगाउन थाल्नुभयो । मुलुकका प्रमुख समस्याहरु समाधान भएनन् र गरिएनन् । त्यसमा ध्यान छैन, अहिले अर्थतन्त्र डामाडोल छ । तरलताको समस्या छ, महंगी बढेको छ ।

श्रीलङ्काको बाटोमा जान्छ कि भन्ने एउटा गम्भीर आंशका छ । यसको बारेमा छलफल परामर्श छैन । विज्ञहरू राख्नु छैन ।

विज्ञता हासिल नगरेको अर्थमन्त्री छ उसको कारणले राष्ट्र बैंकको गर्भनर हट्नुप¥यो । फेरि अदालतले पुनःस्थापित गरेपछि अर्थमन्त्रीले छोड्नुहुन्छ भन्ने थियो तर भएन । प्रधानमन्त्रीले हस्तक्षेप पनि गर्नुभएन । यो सबै कमजोरी हो । सरकार विस्तार गर्ने नाममा ८८ दिनसम्म सरकार विस्तार हुन नसक्नु । यो कुनै लोककल्याणकारी राज्यको निमित्त लागि राम्रो कुरा थिएन । 

म पार्टीभित्र आलोचनात्मक मान्छे हुँ । अहिले सारा दुनियाँले थाहा पाए पनि । तर, नेपाली कांग्रेस, वकिल, वौद्धिक व्यक्तिहरुको बीचमा त्यो किसिमको पहिचान छ मेरो । म विवेक मारेर कुरा लुकाएर चपाएर गर्न हुन्न भन्छु । त्यसैकारण केन्द्रका मानिसहरुले मलाई अलि टाढा राख्न चाहन्छन् । नेताहरु विरोध गर्छ भनेर टाढा राख्न चाहन्छन् । 

अहिले तपाईंलाई सिंगो चितवन कांग्रेसले बोक्न सक्छ ?

अहिले सारा चितवन कांग्रेस मेरो साथमा छ । तपाईं हेर्नुहोस्, बुझ्नुहोस् । पाँच दलको आमसभामा अभिव्यक्ति पनि म प्रति लक्षित थियो । चितवनको स्वतन्त्र व्यक्तिका कारणले मेरो छोरीले चुनाव हारिन् भने तिमीहरु नै जिम्मेवार हुन्छौ भनेका छन् प्रचण्डले । असाध्यै राम्रो काम गरेको यस्तो राम्रो मान्छेलाई मेयर नबनाउने भन्ने कुरै छैन भनेर शेरबहादुर देउवाले पनि भन्नुभयो । हामीले लोकतान्त्रिक व्यवस्था चलाएको छौँ भनेर हामी भन्छौँ एउटा कुनै उमेदवारलाई बोकेर एउटा कुनै उमेदवारको प्रचारप्रसारमा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री हिँड्न मिल्छ ? मेरो त यसमा पनि गम्भीर आपत्ति छ । 

रेनु दाहाल त सरकारी उमेदवार हुन् । सरकारी उमेदवार पञ्चायतकालमा हुन्थ्यो । यहाँ विश्वन्धु थापा सरकारी उमेदवार भएर आउनुभयो उहाँलाई एकजना सामान्य व्यक्तिलाई हराईदिए । अब प्रचण्ड शेरबहादुरहरुको कारणले गर्दा के भएको छ भने हिजो र आजको बीचमा ८–१० हजारको भोट फरक परिसकेको छ । मान्छेमा नकारात्मक प्रभाव पर्‍यो । यिनीहरु जथाभावी बोल्छन् भन्ने प¥यो । कुनै मान्छेले हारे आकाश खस्छ भन्ने अभिव्यक्ति त्यसरी दिन मिल्छ कि मिल्दैन ? अलि बढी उनीहरु आक्रामक भएर त्यो आक्रामकताको बीचमा पनि सन्तुलन भएन भन्ने छ । त्यसले उनीहरु कमजोर छन् भन्ने देखाएको छ । 

म यहाँको नेपाली कांग्रेसको जग हुँ । यहाँ पञ्चायतकालीन व्यवस्था लागू गर्दा १८ सालमा मान्छे काटिए रगत खोलो बग्यो, कोही बोल्न सक्दैन थिए । म विद्यार्थीकालमा अलि परिपक्व भएपछि मैले विद्रोहको बाटो समातेँ । जेल नेल भयो । नेपाल विद्यार्थी संघको स्थापनामा यहाँबाट प्रतिनिधित्व गर्ने मान्छे म नै थिएँ । पत्रिका प्रकाशित गरिन्थ्यो । ३०–३१ सालमा विद्यार्थी आन्दोलन हुँदा म पनि सक्रिय भएँ । मेरो त्यो लिगेसी छ । 

एमाले नेता सुवास नेम्वाङको क्लासमेट हुँ । २०४९–५४ मा उपप्रमुख भएँ । तर, यहाँको कांग्रेसका लागि गर्ने काम चाहिँ मैले निरन्तर गरिरहेको थिएँ । मेरो व्यक्तिव जिल्लामा यो मान्छे पुरानो मान्छे हो काम गरिरहेको मान्छे हो दुःख पाएको मान्छे हो यो कहाँबाट कहाँ पुग्ने मान्छे थेचारिएर बसेको छ भन्ने टिकाटिप्पणी हुन्थे । 

अहिले परिस्थितिजन्य कारणले जिल्लाको सबै तहबाट चितवनको मेयर हुनुपर्छ भनियो । केन्द्रमा मैले प्रधानमन्त्रीलाई कुरा गरेँ ।

उताबाट फर्किएर आउँदा हाम्रो साथीहरु डराएर कोही संस्थापनमा लागे । जिल्लाको सबै तहबाट भएको निर्णय मैले बोके । मैले उमेदवारी दिन्छु भने । मेरो पछाडि हजारौँ मान्छे नोमिनेसन गर्न आए । सरकार पार्टी गठबन्धनलगायत अनेकको दबाब भयो । मेरोबारे जिल्लाबासीमा यसले मौका पायो भने काम गर्छ भन्ने छ । 

यो बीचमा तपाईंले धेरै प्रेसर थेग्नुपर्‍यो होला है ? 

मैले त्यसलाई प्रेसरको रुपमै लिएको छैन । 

रामचन्द्र पौडेललाई भेट्नुभयो, सभापति देउवालाई नभेटी हिँड्नुभयो । तपाईँ इमानमा बसेको कि दम्भ देखाउनुभएको  ? 

मान्छेले दम्भ भनेर परिभाषित पनि गर्न मिल्यो । मलाई केहीले अलि नम्र भएर, शिष्ट भएर, अलि झुकेर कुरा गर्नुपर्थ्यो भन्ने ‘लाइन अफ थिंकिङ’ पनि होला । 

म ३०औँ वर्ष वकालत गरेको मान्छे । म नेपाली कांग्रेसको ‘कि नोट स्पिकर’ भएर मेची महाकाली हिँडेको छु । मैले कैयौँ मान्छेलाई चुनाव जिताएको छु । तर, मैले प्रत्यक्ष चुनाव लड्ने टिकट एकपटक पनि पाएको छैन । चुनाव लड्न पाए हुन्थ्यो भन्ने तृष्णा कहिँ थियो । 

तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँगको भेटको कुरा छ । दुवै नेतासँग म जेल बसेको मान्छे हुँ । उहाँहरुसँग दुःख सुख गरेको मान्छे हुँ । मैले जेलबाट बाहिर निस्किएपछि हामीसँगै हिँडेका मान्छेलाई प्रोटेक्सन गरेको छु । दुर्गा सुवेदीले लेखेका पुस्तकमा पनि हेर्नुहोला, उहाँहरुले लेख्नुभएको छ –जगन्नाथजीसँग दुईपैसा लिएर गएका थियौँ भनेर । मैले सबैलाई सक्ने सहयोग गरेको छु भूमिगतकालमा पनि । मैले उहाँहरुलाई पनि सहयोग गरेको छु । 

उहाँहरु ठूलै पदमा पुग्नुभएको होला । म पार्टीको वरीयतामा तल हुँला, दुःख गरेको मान्छे हुँ । यसो भएको हुनाले उहाँहरुसँग कुरा गर्न मलाई समस्या भएन । यसकारण म उहाँहरुसँग प्रस्ष्ट कुरा गर्न सक्छु । त्यसलाई कसैले ठिक देख्छन् कसैले बेठिक भनिरहेका हुन्छन् । 

त्यसैले, उहाँहरुले गरेका गल्तीलाई गल्ती हो भन्छु ।  उहाँहरुले गरेका गल्तीलाई गल्ती हो भन्न नसक्ने हाम्रो समाजमा हामीले आँटेर गर्‍यौँ भने त्यसले ‘अट्राक्सन’ गरेको हुन सक्छ । 

शेरबहादुर देउवासँग भेट्न नचाहेको होइन । उहाँहरुले सात बजे भेटका लागि बोलाउनुभयो । त्यहीबेला हाम्रो चुनावीसभा थियो, नेताहरुलाई अनादर गरेको होइन त्यसबेला होटलमा पुग्दा शेरबहादुर देउवा तयार हुनुभएको रहेनछ । यसबाट तपाईंहरु नै अनुमान लगाउन सक्नुहुन्छ नि किन तयार नहुनुभएको ?  अर्को कुरा मलाई कसैले उमेदवारी फिर्ता गर भन्न सक्ने आँट पनि छैन । 

किनभने यहाँ धेरै किसिमका मान्छेहरुसँग मेरो कुरा भइसकेको छ । मैले आफ्ना कुरा प्रस्टसँग भनिदिएको हुनाले यो मान्छेसँग डिल गर्न सजिलो छैन भन्ने उहाँहरुलाई लागेको होला । रामचन्द्र पौडेललाई मैले भनेको थिएँ– सक्नुहुन्छ भने रेनु दाहाललाई फिर्ता गराउनुहोस् ।

प्रचण्डले प्रतिनिधिसभा चुनाव लड्ने हुन् भने त्यो पनि उनका लागि हितकर हुन्छ भनेर रामचन्द्र पौडेललाई भनेका थियौँ ।

तपाईंले रामचन्द्र पौडेलसँगको भेटमा असोज २५ मा भरतपुरमा उहाँले गरेको ‘सत्ताका लागि पार्टी अरुलाई बुझाएको’ भन्ने भाषण सम्झाउनु भएन ? 

रामचन्द्र पौडेललाई त्यो सम्झाउने बेला थिएन, मैले त्यो कुरा गरिन । किन भने अहिलेका लागि यो प्रासंगिक हुँदैनथ्यो । 

जिल्लामा आएका समयमा उहाँहरुलाई थप इरिटेड किन गर्ने ? अरु कुनै प्रसंगमा थियो भने यो प्रश्न म सोध्नेवाला थिएँ, सोध्नेवाला नै छु । 

तपाईँलाई दबाब र प्रलोभन पनि त आइरहेकै होलान् ? 

सिंगो राज्य लाग्यो भने के के हुन सक्छ ? त्यसको डेन्सिटी तपाईँले बुझ्नुभएको छ । त्यो तपाईंले अनुमान गर्नुस् । ममाथि राज्य लागेको छ । 

तपाईंविरुद्ध राज्य कसरी लागिरहेको छ ? 

राज्य लागेको विषय तपाईंहरु भावमा बुझ्नुस् प्रष्ट हुन्छ । राज्य पूरै लाग्यो, त्यसको अन्तरकुन्तरमा म जान चाहन्न । 

म पदको, प्रलोभनको र धम्कीको प्रवाह गर्दिन । मैले सबैलाई भनिदिएको छु । 

तपाईँको जित वा हारले के संकेत गर्छ सिंगो राष्ट्र र कांग्रेसको जीवनका लागि ? 

यसले नयाँ क्षितिज उघार्छ, नयाँ परिपाटी, नयाँ एउटा ‘लाइन अफ थिङकिङ’ भनौँ नयाँ ‘वर्किङ प्याटर्न’मा जान कांग्रेसमा कर लाग्छ । 


तपाईंको प्रतिस्पर्धा चाहिँ कोसँग हो, एमाले कि माओवादी ? 

म अहिले एक नम्बरमा छु । अझ एक नम्बरमै रहनका लागि म मेहनत गरिरहेको छु । त्यसकारण मेरो प्रतिस्पर्धी मै हुँ । 

एमालेसँग तपाईंको एलाइन्स हुन सक्छ ? 

भोलिको कुरा कसैले देखेको छैन, ‘पोलिटिक्स इज अ गेम अफ पसिविलिटी’ भन्छ । एमालेले मलाई सघाउँछु भन्यो भने असाधारण कुरा के हुन्छ र ? यसका बाबजुत निर्वाचन व्यवस्थापनको कुरा छ । 

तपाईलाई प्रचण्डले कुरा गर्दा के भन्नुभयो ?

उहाँले नराम्रो केही कुरा गर्नुभएको छैन । तपाईँ पुरानो मान्छे, राम्रो मान्छे हो । तपाईँजस्तो मान्छे काम गर्ने ठाउँमा आउनुपर्छ । तर, यो तपाईँको पार्टीको कुरा हो । मेरो साइडबाट राख्नुपर्ने ठाउँमा कुरा राख्छु भन्नुभयो । 

उहाँले ६५ सालमै मलाई शिक्षाप्रेमी भनेर दोसल्ला ओडाउनुभएको छ । 

प्रचण्डको घर यहाँ नजिकै थियो । उहाँको परिवार मिलमा आउने मेरै घरमा थियो ४० वर्षअघि । त्यसबेला देखि नै उहाँ र मेरो परिवारको सम्बन्ध छ ।

अहिलेको सन्दर्भमा उहाँको सुझाव के रह्यो तपाईँलाई ? 

उहाँले तपाईंका लागि विकल्प धेरै हुन सक्छन्– तपाईंले सोच्नुभो विचार गर्नुभयो भने । तर, तपाईँको पार्टीको मामिला हो । प्रधानमन्त्रीसँग तपाईंका बारेमा पनि कुरा भएको छ भन्नुभएको थियो ।

तपाईं चुनाव जित्छु भन्नेमा ढुक्क हुनुहुन्छ ? 

जित्छु नै भनेर लागि रहेको छु । यसले एउटा इतिहास बनाउँछ भन्ने आम मानिसको ‘रिडिङ’ छ । 

तपाईं असुरक्षित महसुस गर्नुभएको छ ?

मलाई त्यो संकेतहरु प्राप्त भएका छन् । हाम्रो प्रधानमन्त्रीले पनि भन्नुभयो प्रचण्डले पनि भन्नुभयो– रेनुले हार्नुहुन्न भनेर । उहाँहरुमा एउटा सर्वसत्तावादी विचार देखिएको छ । मैले भनेकै हुनुपर्छ भन्ने कुरा त प्रजातन्त्रमा हुँदैन नि ! 

महाधिवेशनको अघिल्लो दिनसम्म तपाईंसहित चितवनको टिम रामचन्द्र पौडेलकै टिम भनेर चिनिन्थ्यो । रातारात आएको पछिल्लो परिवर्तनपछि तपाईंहरुको उहाँप्रतिको मूल्यांकन के छ ? 

होइन यहाँ स्वार्थीहरुको भीड छ । यहाँकै सभामा हेर्नुस् न । जिल्लाका पूर्वसभापति, केन्द्रीय सदस्यहरुको अनुहार हेर्नुहोस् न, सभामा पनि देख्नुभयो होला । जब पोजिस त्यस्ता मान्छे रहन्छन् राजनीति त तरंगित भइहाल्छ नि ! वडा–वडाबाट निर्णय गराएर, महानगर र जिल्ला कार्यसमितिबाट निर्णय गरेर, महासमिति र महाधिवेशन प्रतिनिधिको भेलाबाट निर्णय पारित गरेर केन्द्रको ध्यानाकर्षण गराएर हामी मान्दैनौ है अरुलाई दिने कुरा भनेकाहरुको कुरुप अनुहारले देखाउँछ नि धेरै कुरा त ।

म प्रधानमन्त्रीसँगको वार्तामा बसेर फसेको हुँ । हजारौँले सडकमा ओर्लिएर मलाई उमेदवार बनाएका हुन् । रातारात परिवर्तन हुन नसक्ने कांग्रेसले त यसको समीक्षा गर्नेनैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu