1651410619.jpg)
सत्ता गठबन्धनबाट काठमाडौंको मेयरको पदमा उमेदवार बनेकी सिर्जना सिंह ०४६ सालका जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहकी बुहारी हुन् । ०४१ सालमा गणेशमान निवास चाक्सीबारी भित्रिनुअघि उनले गोरखामा महिला संघको जिल्ला नेतृत्व सम्हालेकी थिइन् । वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा कोषाध्यक्षमा हराएर निर्वाचित भएकी उनी चाक्सीबारी प्रवेशपछि सक्रिय राजनीतिबाट छायाँमा परेकी हुन् ।
नवौँ महाधिवेशनदेखि (१२औं र १३औं बाहेक) निरन्तर महाधिवेशन प्रतिनिधि भएर काम गरिरहेकी उनी महिला संघको प्रमुख सल्लाहकार छिन् । महिला उत्थान र क्षमता अभिवृद्धिका तालिम सञ्चालन गर्दै सामाजिक क्षेत्रमा लागेकी उनलाई अहिले कांग्रेसले काठमाडौं महानगरको प्रमुखमा उठाएको छ । अहिले उनी पीएल सिंहपछि काठमाडौंले इमान्दार र रचनात्मक प्रमुख नपाएको बताउँदै आएकी सिर्जना आफ्नो पालामा त्यो कमी पूरा हुने दाबी गर्छिन् ।
काठमाडौं महानगरलाई व्यवस्थापन सहज छ ? भन्ने प्रश्नमा सिर्जना भन्छिन्– “मानिसले मरुभूमिलाई त हराभरा बनाएका छन् । यहाँ त बनिसकेको सहर, यसलाई त केवल व्यवस्थापनको जरुरी छ, त्यो काम अब मैले गर्नेछु ।”
अन्तर्वार्ताको क्रममा उनले यस्तो भनेकी हुन् । प्रस्तुत छ, गठबन्धनकी उमेदवार सिंहसँग बाह्रखरीका रमेश वाग्ले र सुनिता लोहनीले गरेको कुराकानीको सम्पादित अंश ।

लामो समयपछि सक्रिय राजनीतिमा तपाईंको पुनरागमन भएको छ । कस्तो लागिरहेको छ ?
मान्छेहरूले मलाई ‘गृहिणी भएर फेरि राजनीतिमा आई’ भन्छन्, त्यसो होइन । मैले कुनै पद नलिए पनि मैले पूरै राजनीति छोडेर बसेको भने होइन ।
मैले पद नलिइकन पार्टीको लागि मात्र राजनीति गरिरहेकै थिएँ र छु पनि, । यो मुलुकमा प्रजातन्त्र ल्याउनको लागि लडेँ । पछि एउटा सामाजिक अभियन्ता भएर सामाजिक कार्यमा निरन्तर गरिराखेँ । कतिपय काम तपाईंले सामाजिक सञ्जालमा देखिराख्नु भएकै थियो होला । त्यसैले, म घरमा बसेर एकैपटक राजनीतिमा आएको अनुभूति भने मलाई छैन ।
फरक पाटोमा राजनीति गरिरहनुभएको तपाईं अहिले त सक्रिय राजनीतिमा हुनुुहन्छ नि ! फरक अनुभूति भइरहेको छैन ?
मैले राजनीति गर्न नचाहेको पनि होइन, नखोजेको पनि होइन । मेरो घर नै राजनीतिक पृष्ठभूमिको घर हो, जहाँ देशकै मुहार बदल्छु भनेर राजनीति गरेर शीर्ष नेतृत्वहरू बस्नुभएको थियो ।
तर, हाम्रो समाज कस्तो छ भने इन्जिनियरको श्रीमती इन्जिनियर भए आहा ! कस्तो राम्रो जोडी भन्छ । डाक्टरको श्रीमती डाक्टर नै भए कस्तो राम्रो जोडी भन्ने । तर, नेताको श्रीमती नेता नै भयो भने रुचाउँदै नरुचाउने ।
देशका लागि नेताको श्रीमतीको जति नै योगदान भए पनि मन नपराउने हुँदा म आफैँले निर्णय गरेर पद लिइनँ । आफ्नै किसिमले राजनीतिमा सक्रिय भएँ । सामाजिक रूपमा महिलाहरूको उत्थान तथा सशक्तीकरणको लागि पद नलिकनै लाग्छु भनेर निरन्तर लागिरहेकै छु ।
काठमाडौं महानगरको प्रमुखका लागि त मन्त्री भएका समेत लालायित थिए । सांसद पद छोड्न तयार छु भनेकै थिए । त्यस्तो ठाउँमा तपाईं जिम्मेवारी लिन आइपुग्नुभएको छ । त्यो जिम्मेवारी कतिको चुनौतीपूर्ण लागेको छ ?
सानो पद होेस् या ठूलो त्यो चुनौतीपूर्ण नै हुन्छ । तर, जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्न सक्छु भन्ने आँट र हिम्मत चाहिँ मलाई छ ।
काठमाडौं राजधानी र बहुआयामिक विशेषता भएको स्थान भएकोले भोलि तपार्इंको नेतृत्वको काम कारबाहीबाट सबै देखिन्छ । त्यो पदको सम्मान बढाउन तपाईंले के सोच्नुभएको छ ?
काठमाडौं भनेको ऐतिहासिक सहर हो । विश्व सम्पदा सूचीमा रहेको सहर हो । मरुभूमिलाई त हराभरा बनाएका उदाहरण छन् । यहाँ त बनिसकेको सहरलाई व्यवस्थापन मात्र गर्नुपर्ने छ ।
यति हुँदाहुँदै पनि मैले यो चुनौती स्वीकार गरेकी छु । म गरेर देखाउन सक्छु भन्ने हिम्मतका सात अघि बढेकी छु । यहाँको गुठी, जात्रा, रीतिरिवाज, सभ्यता, संस्कृति सबैसँग परिचित महिला हुँ म ।
सानो चिजका लागि त चुनौती हुन्छ भने महानगरको नेतृत्व लिने कुरा चुनौतीपूर्ण भई हाल्छ नि । तर, मैले पद नलिइकन अभिभावकको रूपमा यसअघि जसरी भूमिका निर्वाह गरे त्यसरी नै अब पद लिएर महानगरबासीको अविभावकत्व लिन खोजेकी हुँ । घर सम्हाल्दै सामाजिक अभियन्ताको रूपमा काम गरिरहेँ । त्यसरी नै अब महानगरलाई सम्हाल्नेछु । महानगरको अभिभावकीय भूमिकामा तेरो मेरो नभनीकन काठमाडौंलाई राम्रो, सुन्दर, स्वच्छ र सुरक्षित सहर बनाउनेछु । यसका लागि ममा हिम्मत आँट र योजना पनि छ ।
राजधानीका लोपोन्मुख सम्पदा, अशिक्षित तथा अभिभावकविहीन समुदाय आदिलाई सम्बोधन गर्न नगरको नेतृत्वमा गर्न के कुरा हुनुपर्छ भन्ने लाग्छ ?
सबैभन्दा पहिला त सुन्दर काठमाडौं निर्माणको गुरुयोजना नै बनाउनुपर्छ । किनकि, सबै क्षेत्र लथालिंग भएको छ ।
तपार्इं घरबाट निस्कँदा फोहोरको थुप्रो लागिरहेको हुन्छ । ट्राफिक हेर्नुस् त्यस्तै अस्तव्यस्त छ । सामुदायिक स्कुलको जति स्तरोन्नति हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
युवाहरूमा बेरोजगारी त्यत्तिकै बढेको छ । बाहिरी जिल्लामा जति समस्या छन्, बेरोजगारीको समस्या यो राजधानी भएर पनि उस्तै छ ।
युवाहरूलाई यहाँको आवश्यकता सम्बोधन पनि हुने र स्वरोजगार पनि हुने बाटोमा हिँडाउनु छ । उनीहरूलाई रोजगारीकै लागि विदेश जान रोक्नुपर्ने नेतृत्वको जिम्मेवारी हो ।
काठमाडौंमा रंगशाला, मैदानदेखि कभर्ड हललगायत सबै पूर्वाधारहरू छन् । तर, यहाँको युवालाई त्यसमा आकर्षित गर्न सकिएको छैन ।
वर्षमा एकपटक मेयर कप गरेर मात्र युवामा आकर्षण बढाउन सम्भव हुन्न । त्यसैले, क्लबहरूलाई एक्टिभेट गरेर महानगरपालिकाले समन्वय गर्ने मेरो योजना छ ।
साथै, प्रविधिको जमाना भएकोले आईटीको विकास गरेर युवाहरूमा सीप विकास गर्दै उद्यमी बनाउने मेरो योजना छ ।
यहाँको मूर्तिकला, काष्ठकला र प्राचीन कलालाई प्रवद्र्धन गर्न युवाहरूलाई समेटेर म त्यसलाई पनि सस्ंकृति र रोजगारी प्रवद्र्धनको माध्यम बनाउनेछु ।
काठमाडौं महानगरपालिकाको ठूलै बजेट छ । तर, व्यवस्थापन ज्यादै कठिन देखिएको छ । त्यसको समाधानको उपाय सोच्नुभएको छ ?
एकदमै सोचेको छु । किनकि, म आफैँ भुक्तभोगी हो । म आफैँ काठमाडौंको बासिन्दा । यहाँको फोहोरको व्यवस्थापनको समस्या वर्षौंदेखि देखिरहेको छु । धेरैले फोहोर व्यवस्थापनलाई ठूलो चुनौतीको रूपमा हेरेको देख्छु । तर, यो त ठूलो समस्या नै हो जस्तो मलाई लाग्दैन । व्यवस्थापन गर्नपट्टि नलागेर मात्रै यो समस्याको रूपमा खडा भएको जस्तो लाग्छ ।
फोहोरलाई घरमै जैविक र अजैविक छुट्टाएर निकाल्ने हो भने यो समस्या ठूलो हुँदैन । जैविक फहोरबाट मल बनाउने र अजैविक फोहोर पनि पुनः प्रयोग गर्ने र नष्ट गर्नुपर्ने छुट्टाउन सकिन्छ । त्यसरी छुट्टाएपछि थोरै फोहोर मात्र व्यवस्थापनका लागि महानगरको जिम्मेवारी हुन्छ । धेरै फोहोर त नगरबासी आफैंले पैसामा बेचिसक्ने अवस्था निर्माण हुन्छ ।
अहिले त सबै चिज सडकमा फाल्न ल्याएका कारण मात्र व्यवस्थापन चुनौतीपूर्ण भएको हो । यसरी त अस्थायी व्यवस्थापन मात्र त होला, तर स्थायी व्यवस्थापन सम्भव हुँदैन । त्यसैले, फोहोर व्यवस्थापन योजनालाई बलियो बनाउन पहल गर्नेछु ।
तपाइँ आफ्नो परिचय रोज्नुपर्दा कुन रोज्नुहुन्छ – धूलोबाट उठेर आएको राजनीतिकर्मी की गणेशमान सिंहकी बुहारी ?
यसलाई छुट्टाउन चाहन्न म । किनभने म दुवै हो । मलाई गर्व छ म गणेशमान सिंह र मंगलादेवी सिंहको बुहारी हुन पाएकोमा । एउटा भाग्यमानी मान्छेले मात्र उहाँहरूको बुहारी हुन पाउँछ ।
अर्को कुरा राजनीतिमा म धूलोबाट उठेर नै आएकी हुँ । त्योे घरसँग नाता नजोड्दै मैले राजनीतिमा एउटा तहको यात्रा तय गरेकी थिएँ । त्यसैले, मेरो दुवै परिचयप्रति बराबर सम्मान छ । राजनीतिसँग पनि मेरो त्यत्तिकै लगाव र झुकाव छ र त्यो घरको बुहारी हुन पाएकोमा त्यत्तिकै गौरव छ ।
मलाई घरबाट राजनीति गर्न कुनै रोकावट थिएन । मैले आफैँले सक्रीय राजनीति गर्दा घरलाई अप्ठेरो पर्न सक्छ भनेर सामाजिक क्षेत्रमार्फत राजनीतिमा बाटो रोजेको हुँ ।
तर, मान्छेले ‘प्रकाशमानले आफ्नो श्रीमती ल्यायो’ भन्ने सुन्छु, योे एकदम गलत हो । महिला संघले प्रस्ताव गर्दा मलाई त थाहा थिएन भने प्रकाशमान सिंहलाई कसरी थाहा हुन्छ ? त्यो झुटो कुरा हो । म नेपाल महिला संघको प्रमुख सल्लाहकार हुँ । मैले महिला हकहित, आन्दोलन र सशक्तीकरणको लागि निरन्तर काम गरेँ ।
अहिले महिलाको युग र महिला सशक्त भएको कारणले उहाँको नियमित बैठकमा महिला सधैँ आरक्षणकै कोटामा मात्र बस्ने त ? उपमेयर र वडा सदस्य मात्र हुने त ? अब हामीले वडाध्यक्ष खोज्ने र मेयरमा पनि लड्ने भनेपछि महिला संघको प्रमुख सल्लाहकार, काठमाडौंलाई बुझेको, गर्न सक्नुहुन्छ र अनुभव पनि छ भनेर महिलासंघबाट प्रस्ताव आएको हो । उहाँहरूले सोचेको जस्तो धूलोरहित सफा काठमाडौं बनाउन सक्छ भनेर मेरो नाम प्रस्ताव गर्नुभएको हो ।
काठमाडौंलाई सुरक्षित सहर बनाउने भन्नुभएको छ । सुरक्षा केन्द्र सरकारको हातमा छ । किशोरी युवतीहरू ढुक्कले हिँड्ने शहर कसरी बनाउनुहुन्छ ?
काठमाडौं राजधानी हो तर, मुख्य सडकमा मात्र बत्ती छ । भित्री गल्लीमा अहिले पनि अन्धकार छन् । ती सडकमा राति पनि बत्ती बल्ने व्यवस्था गर्ने कुरालायृ मैले प्राथमिकतामा राखेको छु ।
यसको अलवा सीसीटीभी क्यामेरा जडान गर्ने, महिला दिदी–बहिनी र श्रमिक महिलाहरू राति पनि ढुक्कले हिँड्न सक्ने वातावरण बनाउन नेपाल सरकार र नेपाल प्रहरीसँग समन्वय गर्छु । महिला र पुरुष दुवैले सुरक्षा महसुस गर्न सक्नेछन् ।
यसैगरी, महिला र वृद्धलाई त सामाजिक सुरक्षा दिलाउँछु भनेर मैले प्रण गरेको छु ।
विदुर भत्ताको कुरा उठाउनुभएको छ । यसको बारेमा खासै बहस भएको छैन । यो कन्सेप्ट कहाँबाट आयो ?
मेरो आफ्नै भोगाइ र हेराइबाट आएको हो । म काठमाडौंबासी । स्थानीयसँग बिहे गरेर आएँ । घरमा पाहुना आउँछन् ।
पहिले खेती किसानी गरेका परिवारको कुरा गर्दा विदुर पुरुषहरू लौन भाउजु छोरीलाई भेट्न जानुपर्यो, बसको टिकट काट्ने पैसा पनि छैन । खानाको लागि पैसा छैन भनेर माग्छन् ।
उहाँहरूको जग्गा जमिन सकिसक्यो । भूकम्पले भत्केको घर टेको दिएर राखेका छन् । उहाँहरूको आयस्रोत भनेको घर भाडा हो । त्यस्तो भत्किन लागेको घरमा कोही भाडामा बस्दैन । ज्यालादारी गरेर खाने बस्ने हो ।
उहाँहरू एकदमै पीडामा हुनुहुन्छ । जो ज्येष्ठ नागरिक भत्ता पाउनुहुन्न, उहाँहरूको त झन् बिजोग छ । मैले विदुर भनेर सबैलाई दिन भनेको होइन । जसको आय न्यून र गरिबीको रेखामुनि छ । खास भन्ने हो भने अहिले भूकम्पपछि मुख्य सुकुम्बासी सहरभित्र छ । उहाँहरूलाई एकदमै दुःख पीडा छ, जुन मैले नजिकबाट देखेको छु ।
एकल महिला भत्ताको व्यवस्था छ । हुने खाने महिलाले पनि त्यो भत्ता पाइरहेका छन् । तर, सरकारले यी विदुरहरूलाई ध्यान दिएको छैन । काठमाडौंका विदुरहरू झन् विशेष पीडामा छन् । ज्येष्ठ नागरिकको भत्ता पाउन ७५ कट्नुपर्यो । कतिपय छोरा बुहारीबाट छुटेर एक्लै बसेका छन् । उनीहरूको पीडा अथाह छ । त्यो पीडा देखेर यो निर्णय लिएको हुँ ।
प्रतिस्पर्धामा दुईपटक मेयर जितिसकेका अनुभवीदेखि दक्षिण एसियाकै उत्कृष्ट सहर बनाउने गफ गर्ने व्यक्ति प्रतिस्पर्धी हुनुहुन्छ । कतिकोे चुनौती महसुस गर्नुभएको छ ?
उहाँहरूले के बोल्नुहुन्छ, त्योसँग मेरो सरोकारको कुरा भएन । त्यो उहाँहरूको कुरा हो ।
म ठुल्ठूला कुरा गर्दिनँ । म आफूले सक्ने कुरा गर्छु । ग्राउन्ड रियालिटीको कुरा गर्छु । त्यसैले, उहाँहरूलाई मैले चुनौतीको रूपमा पनि लिएको छैन । महानगरलाई सफा र स्वच्छ राख्छु भनेर उमेदवारी दिएको छु । त्यसमा विगतका कमजोरी दोहोरिन दिन्न । मलाई पार्टीले पनि विश्वास गरेर टिकट दिएको हो । अरुले के–के कुरा गर्छन्, त्यसमा सरोकार राख्दिनँ ।
तपाईंले देख्नुभएकै छ दुई–दुई पटक मेयर भएको व्यक्ति, महानगरको हालत कस्तो छ । यति धेरै बजेट भएको ठाउँमा एक दुईटा काम गर्नु ठूलो कुरा हो र ?
काठमाडौं फेरिएको भए पो हामीले चुनौती महसुस गर्ने ? अस्तव्यस्त काठमाडौं बनाउनेसँग मलाई त्यस्तो चुनौती लागेको छैन ।
तपाईंको मुख्य प्रतिस्पर्धी मानिएका एमालेका उमेदवार केशव स्थापितलाई बेरुजु, महिलाप्रतिका दृष्टिकोण र व्यवहारका प्रश्न उठिरहेका छन् । त्यसलाई मसला बनाउने योजनामा हुनुहुन्छ ?
उहाँले गरेको व्यवहार उहाँले नै भोग्नुहुन्छ । त्यसमा म केही टिका टिप्पणी गर्न चाहन्नँ ।
महिलाको सुरक्षाको सवालमा धेरै कुरा उठाइराख्नुभएको छ । विगतमा भएका हिंसामा न्याय दिलाउन सक्छुसमेत भन्न सक्नुभएन भने फेरि तपाईंले भनेका कुरा कसरी पत्याउलान् मतदाताले ?
उहाँमाथि जुन–जुन आरोप लाग्यो, त्यही आरोपले मन्त्री पद त्याग्नुपर्यो । उहाँ आरोपित नभई त्यो हुने कुरा होइन । त्यसकारण यसमा मैले थप बोल्नुपर्छ जस्तो लाग्दैन । खुल्ला किताब जस्तै छर्लङ्ग छ ।
म सधैं हिंसाको विरोधी हो । सबै प्रकारका हिंसाविरुद्ध लड्न तयार हुने म महिला हिंसा सहनुपर्छ भन्ने कुरा हुँदैन । यसको विपक्षमा म लड्नेछ् ।
मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ । म सशक्तरूपमा लागिरहेकोले पनि गर्न सक्छु भन्ने छ । मेरो पृष्ठभूमिले गर्दा पनि सफा, सुग्घर र पर्यटकीय गन्तव्य काठमाडौं बनाउँछु भन्ने अठोट छ ।
महानगरमा सुशासनको समस्या छ ? तपाईं आएपछि भ्रष्टाचार उन्मूलन हुन्छ ?
हेर्नुस् म कमाउन भनेर महानगरको नेतृत्वको दाबीमा आएको होइन । मेरो परिवारले समाजलाई केही गर्नुपर्छ भन्ने प्रेरण दिएको छ । म यो उमेर पुगे अब मलाई बदनामी कमाउनु छैन । राम्रो काम गरेर नाम कमाउन सके भने त्यसले मलाई जीवनमा सन्तोष दिनेछ । महानगरबासीको आर्शिवाद पाउन सकँे भने मेरो जीवनकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
मेरो परिवारले यो देशमा लिनका लागि काम गरेको छैन । भ्रष्टाचारमा मेरो परिवारको नाम अहिलेसम्म जोडिएको छैन ।
सामाजिक विचलन मेरो परिवारले कहिल्यै गरेको छैन । यस्तो परिवारलाई कलंकित गर्ने परिकल्पना गर्न पनि म सक्दिनँ ।
मेरो प्राथमिकतामा सुशासन सबैभन्दा पहिला पर्छ । किनभने घरभित्रै सफा छैन भने आँगन सफा भएर के गर्नु ? त्यसैले, महानगरभित्र सुशासन ल्याउनु, सबैलाई सेवा सुविधा दिनु, भ्रष्टाचारमुक्त महानगर बनाउनु मेरो प्रमुख दायित्व हुन्छ ।
यस्तै, विश्वसम्पदा सूचीमा परेका सम्पदालाई एक इन्च पनि तलमाथि पर्न दिन्न । तीनको पहिचान र अस्तित्वका लागि काम गर्छु । साथै, यहाँका पुरातात्विक सम्पदालाई संरक्षण र सम्वद्र्धन गर्न लाग्नेछु ।
भूकम्पको दृष्टिकोणले काठमाडौं जोखिमयुक्त क्षेत्र हो । आगलागीका घटना पनि बढिरहेका छन् । प्राकृतिक विपद्बाट बच्न तपाईंका योजना के छन् ?
काठमाडौंका कतिपय घरहरू अहिले टेको दिएर राखिएको छ । त्यसैले विपद् व्यवस्थापन हुने गरी यहाँको सभ्यता र शैलीको संरक्षणसहित महानगरपालिकाको सहयोगमा भवन बनाउने मेरो योजना छ । नेवाः शैलीको एकरूपता कायम हुने र सुरक्षित भवन बनाउनेतर्फ विशेष ध्यान हुनेछ । संघीय सरकार, प्रदेश सरकार महानगर र व्यक्ति स्वयम्को सहभागितामा ऐतिहासिक महत्व झल्कनेगरी सहरको पुनर्निर्माण मेरो दीर्घकालीन योजनामा छ ।
यस्तै, दमकल या वारुणयन्त्र चोकभित्र (नेवाली समुदायभित्रका चोक) जान नसक्ने हुँदा हाइड्रेन राखेर त्यसबाट आगो निभाउनसक्ने पूर्वाधारण निर्माणको योजना छ ।
तपाईंलाई काठमाडौंवासीले भोटचाहिँ किन दिने ?
म आफैँ युवावस्थादेखि राजनीतिमा होमिएर अधिकारको लागि लडाइँ लडेकी महिला हुँ । संयोगले म राजनीतिक परिवारमा पनि हुर्कन पाएकी छु । राजनीतिक परिवारको संस्कार सिक्ने पर्याप्त मौका पाएकी छु । यो देशमा प्रजातन्त्र ल्याउन, जनताको अधिकार पाउन ४० वर्षदेखि आन्दोलनमा हिँडेकी छु ।
काठमाडौं महानगरलाई नजिकबाट हेर्दा पीएल सिंहको पालामा केही फरक र रचनात्मक काम भएका थिए । त्यसबाहेक अरू कसैको पालामा पनि काठमाडौंको मुहार फेरिने काम हुन सकेन । काठमाडौंको मान्छेले स्वच्छ हावा, सफा वातावरण पाउन सकेको छैन । महानगर एक्लैले स्वच्छ काठमाडौं बनाउन नसक्ने भए पनि शुरुवात गर्नुपर्ने यहीबाट हो । जुन हुन सकेको छैन ।
अब यसलाई म सकेसम्म स्वच्छ काठमाडौं बनाउने कोसिस गर्नेछु । यसका लागि तपाईंले मेरो भावनालाई बुझेर भोट दिनुहुन आग्रह गर्दछु ।
तस्बिर ः सनील प्रधान