site stats
बाह्रखरी :: Baahrakhari
विचार
चुनावी गठबन्धनको आधार के ?

गठबन्धित सरकार छ । गठबन्धनमा सामेल राजनीतिक दलहरु चुनावमा पनि गठबन्धन बनाएर जाने आन्तरिक कसरतमा छन् । सरकारको नेतृत्वमा रहेको नेपाली कांग्रेसमा बाहेक चुनावी तालमेलबारे गठबन्धनका अरु दलमा फरक मत सुनिदैन । तिनमा सहमति नै छ भन्ने बुझिन्छ । 

पहिलो प्रश्न – यो गठबन्धन सरकार के उद्देश्यले बनाइएको हो ? प्रश्नले नै स्मृतिको विगत पृष्ठभूमि उधिनेको छ । सँगै अर्को जिज्ञासा – गठबन्धन सरकारले गराउने (?) स्थानीय तहको निर्धारित चुनाव (५० दिन बाँकी)मा पनि गठबन्धन–तालमेल सँगै जाने, लाने आधार वा मनसाय के ?

गठबन्धन बन्यो, कांग्रेसले सरकारको नेतृत्व पायो । अर्थात्, गठबन्धित अरु दलले पनि सरकारमा हिस्सा पाए । त्यसैले कांग्रेसलाई सरकारमा पुर्यायौँ भन्नुको साथै हामीले पनि कुर्कुस्त सरकारी हिस्सा पायौँ, लियौँ भन्नु पो सत्य हुन्थ्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घुक्र्याउनु पर्दा कहिले काहीँ नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल जो गठबन्धन दलका एक नेता पनि हुन्, उनी आफूहरुले कांग्रेसलाई सरकारमा पुर्याएको हुँकार सार्वजनिक गर्छन् । तर, बिर्सन्छन् कि लुकाएका हुन कुन्नि उनी आफैँले सरकारमा दोस्रो ठूलो हिस्सेदारी भाग लिएको ? उनको दाबामा कुनै त्याग छ र ?

कांग्रेसलाई सत्तामा पुर्याउन गठबन्धन बनाइएकै होइन । हुन्थ्यो त्यस्तो माया भने चुनावको मुखमा सँगै सरकारको कांग्रेसलाई चटक्क छोडेर नेकपा (एमाले)मा लीन नेकपा बन्ने, बनाइने नै थिएन । नेकपा किन बन्यो ? कांग्रेससँग पुनः किन गठबन्धन गरियो ? सरकारमा बसेर कांग्रेसलाई सरकारमा पुर्याएको हुँकार अघि सम्झने घटना दृश्य हो यो । 

सरकारी हिस्सामा सहभागी मनोविज्ञानले नै चुनावी तालमेल वा गठबन्धनको पक्षपोषण गरिएको निर्विवाद हो । स्थानीयमात्रै किन, प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन तालमेलकै लालसा अभिव्यक्त छ । किन ? कांग्रेसलाई सरकारमा पुर्याउन वा जिताउन अथवा बचाउन ? कि आफैँ बाच्न ? माकेलगायत सत्ता गाँठोले बाधिएका दलहरुले उत्तर खोज्ने हो । 

दलीय राजनीतिक गठबन्धनको मुख्यतः दुई आधार हुन्छन् । पहिलो सैद्धान्तिक, दोस्रो व्यावहारिक । नेपालको अहिलेको गठजोड सैद्धान्तिक विषय आआफ्नो ठाउँमा राखेर खासगरी व्यावहारिक लेनदेनको हो । अहिलेको गठजोडमा बसेका कांग्रेस र कम्युनिस्ट दलबीच लोकतन्त्र र अधिनायकवाद जति नै सैद्धान्तिक दूरी छ । 

चुनावी तालमेल वा गठबन्धनलाई ठाडै अस्वीकृत गरिएको होइन । यसको आधारबारे चाहिँ स्पष्ट हुन चाहेको हो । यो कुनै एकको चाहमात्रै होइन, लोकतान्त्रिक समाजको चाहना हो । व्यावहारिक गठजोड खासगरी सत्ता, शक्ति, स्रोत र साधनको लेनदेनमा नै  सीमित हो । तर, सत्ता गठबन्धनलाई सैद्धान्तिक धरातल पनि दिनुपर्छ । 

सरकारी होस् वा चुनावी तालमेल त्यसमा सैद्धान्तिक सहमति हुनुले गठबन्धन संस्कृतिसमेत नैतिक पक्षलाई विकसित गर्न मद्दत पुग्छ । चर्चित गठबन्धनमा सामान्य सैद्धान्तिक सहमति संविधान र निर्दिष्ट लोकतान्त्रिक संघीय संसदीय प्रणालीप्रति निश्छल प्रतिबद्धता हुनसक्छ । चुनावी तालमेल अघि लिखित प्रतिबद्धता र त्यही प्रतिच्छाया आआफ्ना घोषणापत्रमा लिपिबद्ध गराइनु राजनीतिक विश्वासको आधार बन्नेछ । 

सैद्धान्तिक प्रतिबद्धताले व्यवहार सहज र स्पष्ट बन्छ । बाङ्गो टिङ्गो कुरा गर्नैपर्दैन । सिद्धान्त निर्देशित व्यावहारिक सहमति लक्षित उल्लेख्य घटना बीपी र कम्युनिस्ट नेता पुष्पलालबीच बनारसमा भएको थियो । 

दुवै नेता राजनीतिक प्रवासमा भारतको बनारसमा बस्नुहुन्थ्यो । पुष्पलालले बीपीसँग कुरा राख्नुभयो – राजाले नेतृत्व लिएको नेपालको निर्दलीय पञ्चायती तानाशाही व्यवस्था ढाल्न लोकतन्त्रवादी कांग्रेस र कम्युनिस्ट मिलेर गर्ने संघर्षले मात्र सम्भव छ, त्यसैले हामी मिलौँ। तात्पर्य यही हो । बीपी पनि सहमत नै हुनुहुन्थ्यो । 

तर असहमति थियो कहाँ त ? स्पष्ट छ कम्युनिस्टहरुबीच नै असहमति थियो । बीपीले पुष्पलाललाई ससर्त सहमति दिनुभए छ । उहाँको पहिलो सर्त– कम्युनिस्ट पार्टी धेरै छन्, कोसँग मिल्ने ? पहिले कम्युनिस्ट पार्टीहरु नै गठबन्धित वा एक बनाएर आउनोस् । दोस्रो – केको लागि मिल्ने ? प्रजातन्त्रको लागि । बीपीले थप भन्नुभए छ– राजनीति म हेर्छु, अर्थनीति तपाईँ । पुष्पलाल  फुरुङ्ग हुनु भएछ । 

यही कुरा पुष्पलालले बनारसमा बस्दै आएका नेपालका कम्युनिस्ट नेताहरुलाई प्रस्ताव गर्नुभयो । बीपीसँगको वार्ता निष्कर्षसमेत सुनाउनु भएछ । त्यतिबेला मोहनविक्रम सिंह, मोदनाथ प्रश्रित, बलराम उपाध्यायलगायत सयौं कम्युनिस्ट नेता, कार्यकर्ता बनारस बस्थे ।

भोलिपल्ट बिहान त बनारसका गल्ली, गल्छ्यौडामा ‘गद्दार पुष्पलाल’ लेखिएका पर्चा छरपस्ट भेटिए । पर्चा छर्नेहरु तिनै कम्युनिस्ट थिए । बिहानै चिया पिउन पसल जानेहरुको हात हातमा पर्चा पुग्ने नै भयो । मैले पनि दुग्धविनायक गल्लीबाट एउटा पर्चा उठाएर पढेको याद छ ।

शीतयुद्धको बेला । एउटा कम्युनिस्ट दुनियाँ थियो, अर्को प्रजातान्त्रिक विश्व । अहिले त नौरङ्गी कम्युनिस्टहरु रहेको नेपालमा त्यतिबेला कोही नेताको नाममा (लेनिन, स्टालिन, माओ आदि) कोही देश, विदेशको नाममा अर्थात् कम्युनिस्ट चीन वा रुस समर्थक थिए । कोही भाकपा, माकपा र नक्सलाइट(भारत)का नाममा गौरव गर्ने नेपाली कम्युनिस्ट घटकहरु (झन्डै दुई दर्जन) मा केही त दरबार सञ्चालित कम्युनिस्ट पनि थिए । 

तिनैले छरेको पर्चा ‘गद्दार पुष्पलाल’ पढेपछि स्वप्नभङ्ग मुद्रामा पुष्पलाल हुनुहुन्थ्यो रे ! पछि सुनियो – बीपीसँग पुष्पलालले आत्मग्लानि व्यक्त गर्दै भन्नुभयो रे – नेपालका कम्युनिस्टलाई मैलेभन्दा तपाइँले चिन्नु भएको रहेछ ।  

अर्थात्, सैद्धान्तिक मान्यताको सहमतिले नै गठजोड वा गठबन्धन वा राजनीतिक तालमेललाई  परिणामदायी र व्यावहारिक बनाउने हो । उदाहरण –२०४६ सालको जनआन्दोलन बीपीले पुष्पलालसँग राखेको सर्त अनुकूल नै भयो । बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको लागि साहना प्रधानको अध्यक्षतामा सात दलीय कम्युनिस्ट मोर्चा बनाइयो । अनि नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा संघर्ष गरियो र प्रजातन्त्र पुनःस्थापना भयो ।  

तहहरुको पदमा हिस्सेदारीको बाँडफाट मिलाउन गरिने चुनावी तालमेलले पनि लोकतान्त्रिक पद्धतिलाई स्थायित्वका साथै गठबन्धितहरुको सैद्धान्तिक रुपान्तरणमा सहयोग  दिनुपर्छ । यसको लागि गठबन्धन उपयुक्त हुन्छ ।  पदको हिस्सेदारीलाई मात्रै गठजोड गरिँदैन । 

पद भागबन्डा गर्ने सिद्धान्तहीन चुनावी तालमेलको गठबन्धन पदीय आशक्तिमा लिप्त दलबदलु कार्यकर्ता जस्तै कहिले यता, कहिले उता हुने विगतसिद्ध नै हो ।  
           
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०७:२७
प्रतिक्रिया दिनुहोस्