बुबाको १३ दिनको काम सकिएलगत्तै २०७८ साल भाद्र १७ गते घरमा भगवत पुराण लगाउने तय भएको थियो । बैनी बिभा हस्पिटलको जागिर र म पनि लामो समय अफिस नगएकाले भागवतमा नबसी भोलिपल्टै काठमाडौं फर्किने तय भयो । हामी चार जना म, मेरा श्रीमान, भाइ विवेक र बहिनी बिभा काठमाडौं आउने , सीता बैनी र पार्वती दिदी पनि सँगै बुटवलसम्म आउने भनेर १८ गते भाद्र बिहान ६.३० बजे घरबाट हिँडियो । गाडी हामीले रिजर्भ गरेजस्तो नै थियो । सिट बाँकी भएकोले ड्राइभर भाइले थप दुई जना गाडीमा राखेका थिए ।
दुई दिनअगाडि ३दिनसम्म पहिरो गएको कारण बुटवल - गुल्मीको बाटो बन्द र अस्तव्यस्त थियो । बुटवल पुगिन्छ कि बाटोमा बस्नुपर्ने हो भनी मनमा कुरा खेलिरहेका थिए । त्यसैले गाडी केहीबेर पाल्पा तानसेनमा रोकेबाहेक अन्त कतै नराेकी सरासर बुटवल आयौँ । बाटोमा कहीँ अवरोध पनि भएन । सजिलोसँग बिहान ११ बजेतिरै बुटवल आइपुगियो ।
बाटोको केही भर नहुँदा भैरहवा-काठमाडौंको प्लेनको टिकट सिद्धबाबाकाे अप्ठेरो कटेपछि लिने भन्ने थियो । तर, त्यस्तो भएन । बाटोमा अवरोध नभएपछि भैरहवा काठमाडौंको प्लेनको टिकटबारे बुझियो । दिउँसोको बुक पुरा रहेछ, चार जनालाइ एउटै प्लेनमा टिकट पाइएन, बेलुका ५.१५ को श्री एयरमा एक जना र ७.१७ को बुद्ध एयरमा तीनजनाको टिकट काटियो ।
सबैजसो प्लेन समयमा नउडेकोले एयरपोर्टमा निकै भिडभाड थियो । हाम्रो पनि ७.१५ को उडान लगभग १ घन्टा जति ढिला भयो । काठमाडौंमा घर आइपुग्दा लगभग रातिको १० बजिसकेको थियो । मैंले शरीरमा दुखाइ र थकान भएकोले बाटोमै २ पटक सिटामोल खाएको थिएँ । घर त आइयो तर शरीरमा आलस्य थियो । खान मन पनि थिएन । एक गिलास दूध र थोरै खाएर सुतेँ । मेरो योजना शुक्रवार काठमाडौं पुग्ने, शनिवार र आइतवार दुई दिन थकाइ मारेर सोमवारबाट अफिसको नियमित काम सुरु गर्ने थियो । शनिवार बिहान उठ्दा शरीरमा दुखाइ र थकाइ उत्तिकै थियो । दिनभर घरमै सुतेर बित्यो । शनिबार बिहान वाग्मती सफाइमा पनि जान सकिन । आइतबार अलि जागर चल्छ की भनेको केही सुर नै देखिएन । बुबाको १३ दिनको काममा बसेको शारीरिक र मानसिक थकाइ र तनाब त थियो नै काजकिरियाका विधिविधान, दाजुभाउजु, आमाहरू किरियामा बसेकोले केही व्यवस्थापनको पाटो पनि हेर्न पर्ने थियो । खानपिनको तालमेल पनि हुने कुरा भएन । शरीरमा थकाइसहित हल्का खोकी पनि थियो । दिनहुँ चिसो पानीले नुहाएर होला भन्ने अड्कलबाजी मनमा भैरहेको थियो ।
एकजना फिजिसियनलाई देखाउने विचारले बिहान एभरेष्ट हस्पिटल बानेश्वरमा फोन गरेर ११-३ बजेसम्म डा. गर्तौला आउने थाहा भयो । मलाई हस्पिटलमा धेरै बेर कुरेर बस्ने जाँगर थिएन । डा. आएपछि बिरामीको चाप बुझेर अस्पताल जाने तयारी गरेँ । एघार बजेपछि फोन गरेँ । रिसेप्सनकी बैनीले डा. साब आउँदै हुनुहुन्छ, तपाईंलाई के भएको हो भनेर साेधिन् । मैंले ‘जेनरल चेकअप’को लागि हो, अलि अलि ख्याङ ख्याङ छ, शरीर हल्का दुखेको छ भने । बैनीले पीसीआर टेस्ट गर्नुभएको छ ?
पीसीआरको रिपोर्ट नभई त डा. साबले हेर्नुहुन्न पो भनिन् । मैंले भने २ साता पहिला त गराएको थिएँ नेगेटिभ थियो । यो एक दुई दिनभित्र भने गराएको छैन । बैनीले फेरि भनिन् - एन्टिजेन टेस्ट गरे पनि हुन्छ, यहाँ पहिला एन्टिजेन टेस्ट गरेर डा.साबलाई जँचाउन सकिन्छ ।
मैंले दुई मात्रा खोप लगाइसकेको थिएँ । खोप लगाएकोलाई एन्टिजेन टेस्टमा पोजेटिभ तर पीसीआरमा नेगेटिभ आएका धेरै घटना सुनेको थिएँ । मेरो घरमै माइला दाजुलाई पनि त्यस्तै भएको थियो । अब मैले फिजिसियनलाई देखाउन पहिले पीसीआर गर्नुपर्ने भो ।
सरकारले स्विकृती दिएकोमध्ये स्टार हस्पिटलमा गएर नमुना दिएको राति ९.३० बजे अनलाइनमा रिपोर्ट राखेको रहेछ ।
कोभिड पोजेटिभ सीटी भ्यालु २४.६ रहेछ । हतार हतार गुल्मी दाइलाई फोन गरेँ । घरमा कसैलाई केही लक्षण छ की भनेर ।
घरबाटसँगै आएको बुटवलमा बैनीलाई गरेँ । उनले अहिलेसम्म त केही भएको छैन भनिन् । काठमाडौंसम्म सँगै यात्रा गर्ने बिभा बैनीलाई फोन गरेँ उठेन । भाइले मलाई त केही भएको छैन, बिभाले भने एकदम गलेँ, थकाइ लाग्यो खाएको थाल माझ्न पनि सकिन, माझ्नु है भनेर सुत्न गई भने।
धेरै राति भैसकेकोले बुटवल दिदीलाई भोलिपल्ट बिहान फोन गरेँ । केही भएको छैन भन्नु भयो । गुल्मी घर र बुटवल दिदीबहिनीलाई केही लक्षण नदेखिएकोले अलि ढुक्क त भयो तर सँगै काठमाडौं यात्रा गरेकालाई के हुने हो मनमा डर लागिरहेको थियो। भोलिपल्ट बिहान डा. रोसन कुमार झासँग सल्लाह लिने कुरा भयो । उनको क्लिनिक सोल्टी मोड रवि भवनमा रहेछ । बिहानै ८ बजेभित्र आइपुग्नु भनिएकाले म, श्रीमान र छोरी तीनै जना डा. रोसनसँग जचाउन पुग्यौँ । डाक्टर साबको सल्लाहअनुसार मैले छ किसिमको रगत जाँच गर्न दिएँ ।
सामान्य कोभिड हुँदा खाने औषधि मेरो लागि र छोरी र श्रीमानको पीसीआर टेस्ट । मेरो रगतको नमुना दिएर, श्रीमान र छोरीको कोभिडको पीसीयार टेस्ट गर्न त बाँकि नै थियो । डाक्टर झाको क्लिनिकमा पीसीआर टेस्ट त हुने रहेनछ तर घरमै आएर नमुना संकलन गर्नेसम्मका ल्याबको सम्पर्क नम्बर रहेछन् । त्यहाँ आएर पीसीआर गर्न १.३० पर्खनु पर्ने भयो । क्रिस्टल ल्याब सिनामंगलमा रु १ हजार ५०० मा तुरुन्त टेस्ट हुने थाहा भयो ।
अनि हामी सिनामंगलतिर लाग्यौँ । बीचैमा बैनी बिभालाई पीसीआर टेस्ट भयो भनेर फोनमा सोधेँ । सिभिल हस्पिटलमा गर्न लागिराखेको छु हजार रुपियाँमा गर्ने रहेछ भनिन् । हामी पनि सबै सिबिल अस्पतालतिर हुइँकियौँ । छोरी, श्रीमान, भाइ विवेक र बैनी बिभा गरी चार जनाको पीसीआर गर्न दिएर फर्कियौँ ।
एकतिर आधारभूत स्वास्थ्य मौलिक हकका रूपमा संविधानमा लेखिएको छ अर्कोतिर कोभिडको पीसीआर टेष्टको रकम हस्पिटलपिच्छे फरक किन भएको होला ? सरकारीमा सस्तो भएको माने पनि एउटै जाँचमा निजी अस्पतालपिच्छे फरक किन ? यो पनि व्यापार नै भएछ भन्ने लाग्यो ।
केही डाक्टर र नजिकका व्यक्तिहरुलाई सुनाउँदा खै यस्तै छ जताततै, निजीले आफ्नो लगानी उठाउन होला । सरकारबाट नियन्त्रण छैन भन्ने उत्तर आयो।
मेरो त कोभिड पोजेटिभ थियो नै बाँकी मसँगै यात्रा गरेका भाइ, बैनी, श्रीमानको पनि कोभिड पोजेटिभ देखियो । अब दैनिकीमा उथलपुथल भयो ।
अलग्गै बस्ने, डाक्टरको सल्लाहअनुसार औषधि खाने, झोलिलो पोषिलो खाना खाने, दुई दिन बिराएर रगत जाँच गर्ने आदि आदि । खोकी लागि रहेको थियो, शरीरमा जाँगर कत्ति पनि थिएन, खान मन पटक्कै नलाग्ने । खानालाई औषधिको रूपमा लिएर खाई रहेँ । अलिअलि खोकी त थियो र शरीरमा जाँगर कम भए पनि दिनहुँ अल्लि ठीक भएको जस्तो भएको थियो । मेरो श्रीमानलाई भने एकदिन हल्का ज्वरो आयो ।
दुईदिन जति जाँगर छैन भन्नु भयो । अरु खासै लक्षण देखिएन । खाना पनि राम्रै खानु भइराखेको थियो । भाइ विवेकलाई खासै असर देखिएन । बैनी बिभालाई केही दिनसम्म अलिअलि गाह्रो भयो, अनि ठीक भयो। हामी सबै डाक्टरको सल्लाहअनुसार औषधि र खानपिनमा ख्याल गरी १४ दिन आइसोलेसनमा बितायौँ ।
कोभिड पोजेटिभ देखिएको चाैधाैँ दिनको रगतको रिपोर्टसहित डाक्टर झाको क्लिनिकमा गयौँ । सबै रिपोर्ट हेरेपछि, अब ठीक भयो, पोसिलो खाने, आराम गर्ने, तीन महिना जति रगत पातलो बनाउने औषधि एस्प्रिन खानु, अरु केही गर्नपर्दैन भन्नुभयो ।
भोलिपल्टबाट म अफिसका केही महत्त्वपूर्ण भर्चुअल मिटिङहरुमा जोडिन थालेँ । घरमै बसेर कम्प्युटरमा केही काम गर्न लागेँ । बोल्दा अलि खोकी लाग्थ्यो, बोल्ने काम कम गरेको थिएँ ।
अब ठीक हुनलाग्यो भन्ने लाग्न लागेको थियो । तर, तीन दिनपछि मलाई खोकी बढ्न थाल्यो, शरीरभर सियोले रोपेजस्तो सिर्का हान्न थाल्यो । ज्वरो आउन लाग्यो । अक्सिजन नियमित हेरिरहेको थिएँ । अक्सिजनको लेबल भने ठिक थियो। खोकीको औषधि र सिटामोल खाएर ठीक हुन्छ कि भनी एकदिन सुतेँ । अलि अलि सुरु गरेका काम पनि बन्द गरेँ । तर ज्वरो १०१ भन्दा बढी, खोकी र शरीर दुखाइ बढ्न थाल्यो, निको हुने चाल देखिएन ।
मलाई लाग्यो शरीरमा केहि गडबडी छ । डाक्टरको सल्लाह लिनुपर्ने भयो। कोभिडपछि छातीमा केही कम्प्लिकेसन आयो कि भनेर छाति रोग विषेशज्ञ साथै शिक्षण अस्पतालको कोभिड संयोजक डाक्टर सन्तकुमार दासलाई देखाउने सल्लाह भयो । ग्रिनसिटी अस्पतालमा डाक्टर दास बेलुका ४.३० बजे आउने थाहा पाएपछि बेलुका ग्रिन सिटी अस्पताल गएँ । डाक्टरले पहिलेका सबै रिपोर्ट हेरेपछि भन्नुभयो - ज्वरो आउन नहुने, एकपटक सबै टेष्ट गरौँ । फेरि ६-७ प्रकारको रगतको जाँच, छातीको एक्सरे, पिसाब जाँच आदि आदि । सिटामोल र खोकिको औषधि लिएर भोलिपल्ट ल्याबको रिपोर्ट डाक्टरलाई देखाउन आउने भनी घर फर्किइयो ।
भोलिपल्ट बिहान मलाई अलि च्यापिरहेको थियो । ज्वरो १०२ भन्दा बढी, शरीरमा दुखाइ र खोकी उस्तै । मलाई ल्याबको रिपोर्ट हेर्ने हतार थियो । हस्पिटलमा अनलाइन रिपोर्ट पठाउन केही सिस्टमले काम गरेको छैन भने । अरु नभए पनि दुई वटा पीसीआर र डी डिमरको रिपोर्ट भाइवरमा पठाएर सहयोग गर्न अनुरोध गरेँ । रिपोर्ट आयो दिउँसो २ बजेतिर । रिपोर्टमा दुवैको रिजल्ट रेन्जभन्दा तलमाथि रहेछ ।
पहिला पनि यी टेस्टहरु तीनपटक गरिसकेकोले मलाई तुलना गरेर हेर्न सजिलो भयो । केही गडबड छ भन्ने अनुमान भयो । तुरुन्त डाक्टर हरिहर खनाल दाइलाई फोन गरेँ ।
दाइले रगतको रिपोर्ट हेर्दा भर्ना हुनुपर्ने हुनसक्छ । कहाँ हुने घर सल्लाह गर्नु । आज शुक्रवार हो आज तुरुन्त भर्ना हुनुपर्ने भए अहिले नै तयारी गर्नुपर्छ, थप जटिलता आउनदिनु हुँदैन । छातीको रिपोर्ट हेरेपछि डा. दासले जे भन्छन् त्यही गर्ने । तर भर्ना हुनुपरे पनि तुरुन्त भर्ना हुन हस्पिटल खोज्ने, बेड छ छैन बुझ्ने सल्लाह भयो । छातीको एक्सरेको रिपोर्ट, सबै टेस्टको रिपोर्ट डा. दासलाई देखाएर जटिलताको आकलन गरी भर्ना हुनुपर्ने, नपर्ने, हुनुपर्ने भए, हस्पिटल र बेडको उपलब्धता बुझ्ने काम प्राथमिकतामा आयो । अब जति सक्दो छिटो डाक्टर लाइ भेट्नुपर्ने थियो ।
डा. दासले ४.३० बजे ग्रिनसिटी मा आउने हुनाले ४ बजे नै हस्पिटल पुग्नेगरी घरबाट हिँडियो । ल्याब र एक्सरेको सबै रिपोर्ट लिएर डाक्टरको पर्खाइमा बसियो । हस्पिटलमा धेरै भिडभाड बल्ल ५.३० बजे पालो आयो । डाक्टरले सबै रिपोर्ट हेरेपछि छातीको एक्सरे ठिकै छ, तीन सातालाई घरमै बसेर खाने औषधि चलाउने, एउटा औषधि त अहिले नै केही खाएर तुरुन्त खानु, ७२ घन्टाभित्र ज्वरो आए तुरुन्त हस्पिटल आउनु भन्नुभयो । हस्पिटल तुरुन्त भर्ना हुनेकुरा बाट छुटकारा मिल्यो ।
सन्चो नभएर डाक्टरको सल्लाहअनुसार चलेको आज ३० दिन भएछ ।
जीवनमा पहिलो पटक यति लामो समयसम्म बिरामी नभएर सुतेको । थप औषधि खाएको आज आठ दिन भयो । यसबीचमा ज्वरो आएको छैन, खोकी निकै कम भएको छ । तर, औषधिको साइडइफेक्ट हो कि खुट्टाको पैताला आगोको भुंग्रोमा राखेजस्तो हुन्छ, कमजोरी महसुस भएको छ ।
बेलाबेलामा पसिना आउँछ । हातको नशामा केही दुखाइ छ । औषधिको कारणले सुगर अलि बढेछ । मस्त निद्रा नलाग्ने तर झुम्म भइरहनेजस्ता लक्षण देखिइरहेका छन् । सुखद कुरा खाना रुचेको छ, ज्वरो आएको छैन, पूरा आराम गरिरहेको छु, छोटा छोटा योगाभ्यास गरिरहेको छु । अहिले चलिरहेको औषधि अझै दुई साता खान बाँकी नै छ । देखिएका साइडइफेक्ट कम गर्नुछ ।
यस अवधिमा परिवार, अफिस, साथी, शुभचिन्तकको सहयोग, माया र सद्भावले ऊर्जाको काम गरेको अनुभूति भएको छ । कोभिडमा आफूले मात्र सतर्कता अपनाएर नहुने रहेछ । यसका जटिलता व्यक्ति पिच्छे फरक हुने रहेछन् । कोभिडपछिको जटिलता पनि देखिने रहेछ । लक्षणको आधारमा उपचार हुने भएकाले जटिलता र पूर्ण स्वस्थ हुने समय आकलन गर्न अलि गाह्रो रहेछ ।
सबै सचेत र सतर्क रहौँ, सुझाएका मापदण्ड सबैले पालना गरौँ । कोभिड केही हैन नभनौ । यसको भुमरी र जटिलतामा फसेपछि निस्कन निकै मेहनत गर्नुपर्ने रहेछ ।