मेलम्ची । साउन १६ गते बेलुका खाना खाएर सुत्ने तरखरमा थियौँ । फोन आउन थाल्यो –‘खोला थुनियो रे हो ?’ विभिन्न व्यक्तिहरु सामाजिक सञ्जालमा स्ट्याटस लेख्न थाले, डराउन थाले, आत्तिन थाले । मेलम्चीमा खतराको संकेत दिन थालियो ।
साइरन बजेको बज्यै गर्न थाल्यो । जति धेरै साइरन बज्छ त्यति नै धेरै ढुकढुकी बढ्न थालेको थियो ।
छङछङ गर्दै लेदोसहित आएको खोलाले सबैको मन रुवाएको थियो । रातिको समय आँखैअगाडि ठडिएको भवन गर्ल्याम्म खोलामा मिल्दा आँखा रसाएर आयो । हेर्न सक्ने अवस्था भएन । तैपनि निरन्तर अपडेट गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु त छँदै थियो । मध्य निन्द्रामा परेका ससाना बालबालिकालाई उठाउँदै कुदाउँदै हिँड्नुपरेको थियो ।
बाढीले निम्त्याएको स्थिति कहालीलाग्दो छ । हेलम्बु, चनौटेमा रहेको रातोपुल बगाएको छ । असार १ गतेको र ५ गतेको बाढीले बाँकी राखेको पुल जोगाउन स्थानीय लागिपरेका थिए । यसले विशेषगरी हेलम्बु, किउल, पाल्चोक, दुवाचौर, बाँसखर्क, बरूवालगायतको सम्बन्धविच्छेद गरेको छ । पुल नभएपछि वारिपारि गर्ने स्थिति छैन ।
रेडियो मेलम्चीकोे भवन ढलेको छ । शनिबार बेलुकादेखि आएको असाधारण खोलाको बेगले हान्दा राति १२ः४० को समयमा भवन खोलामा मिलेको हो ।
असार १ गते आएको बाढीले नै भवन दुई तला डुबाएको थियो र निरन्तर खोला त्यहीँबाट बगिरहेको थियो । हिजोसम्म पनि अहिलेसम्मको अवस्थामा यो भवन काम लाग्छ पछि बस्न मिल्छजस्ता कुरा सुन्दा खुसी लाग्थ्यो । बाढीको सूचना भन्दाभन्दै रेडियोबाट चप्पलसमेत नलगाई सेन्डोको भरमा निस्किएको मेरो फेरि पनि त्यही भवनमा गएर पहिलाकै जसरी समाचार पढ्ने सपना अधुरै रहेको छ । एकमन त लाग्थ्यो– खोला आउनेजति आइसक्यो अब बिस्तारै कम हुँदै जान्छ । हामी आफ्नै घरमा फेरि पनि फर्किन सक्छौँ । तर, त्यो अब रहेन ।
केही दिनअघि मात्र सहकर्मी साथी असीम भारतीसँग कुरा भएको थियो – “भाइ, अब फेरि पनि हामी आफ्नै भवनमा बसेर काम गर्न पाउँछौँ होला है ?” उनले भनेका थिए – “खोला ठूलो आएन र अहिले बगिरहेको खोलाको धार परिवर्तन गर्न सकियो भने थोरै मर्मत सम्भारको भरमा बस्न सकिन्छ दाइ ।” अब त्यो पनि बाँकी रहेन ।
त्यो घरको भर नभइरहेको अवस्थामा जग्गाको कतै व्यवस्था गर्न सकिए अर्को घर बनाउने आँट पनि रेडियो टिमलाई नआएको हैन । हामी निरन्तर जग्गाको खोजीमा थियौँ र छौँ ।
खोला त्यहीँबाट बगिरहेको अवस्थामा हाम्रो कुनै पनि सामान झिक्न सक्ने वातावरण बनेन । नदी नियन्त्रणको लागि प्रयोग भएको स्काभेक्टरको बकेटमा जोखिम उठाएरै बसेर आफ्नो केही सामान झिक्न सकिन्छ कि भन्दै गएका थियौँ । तर, हाम्रो प्रयास असफल भएको थियो । चारथान कम्युटर, नौथान ल्यापटप, क्यामेरा, ब्याट्री ब्याकअप, टेबुल, मिक्चरलगायत हाम्रो महत्त्वपूर्ण सामान सबै खोलामा मिलेको छ ।
भाडाको घर छोडेर आफ्नै घरमा सरेका दिन हामी सबैभन्दा धेरै खुसी भएका थियौँ । अब हाम्रो एकमात्र काम रेडियोको क्षमता विस्तारसँगै समुदायका आवाजविहीनहरुको आवाज बोल्नु थियो । सामुदायिक रेडियोको भवन समुदायकै पहल र सहयोगमा निर्माण भएको थियो । व्यक्तिव्यक्तिको सहयोग, संघसंस्था, स्थानीय सरकार र केन्द्र सरकारसमेतको सहयोगबाट बनेको भवन आज प्रकृतिको आक्रमणमा परेको छ । करिब डेढ महिना खोलासँगको युद्धमा आज रेडियोले हार खाएको छ । देशमा मात्र हैन, परदेशमा रहेर बगाएको पसिनाको मूल्य आज खोलाले बगाएको छ ।
थुप्रै सपना थिए हाम्रा । त्यही भवनबाट पूरा गर्ने भनेर साँचेर राखेका थियौँ । संग्रहालय, सूचना केन्द्र, पुस्तकालय र कार्यक्रम हल एउटै घरबाट सञ्चालन गर्ने हाम्रो तयारी थियो । रेडियोका अध्यक्ष डम्बर रसिक भारती, स्टेसन म्यानेजर देवराज सुवेदी, प्रशासन प्रमुख सागर खड्कालगायत टिम स्मारिका प्रकाशनको तयारीमा थियो ।
आजसम्मको रेडियोको उपलब्धि खोलाले आफूसँगै गुटमुट्याएर लगेको छ । रेडियो स्थापनादेखिको हाम्रा कार्यक्रमहरु, दैनिक प्रयोग हुने स्टेसन आईडीदेखि फिलरसम्मका हाम्रो अति नै महत्त्वपूर्ण उपकरण नष्ट भएका छन् । सम्झिँदा र यो लेखिरहँदा मन भक्कान्निछ । एकाएक जाँगर मरेर जान्छ भने जोस सेलाउँछ ।