काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ०७२ सालको अन्त्यतिर नक्कली डाक्टर पक्राउ अभियान थाल्यो । ब्युरोले नेपाल मेडिकल काउन्सिल तथा उच्च माध्यमिक शिक्षा परिषदको सहयोगमा ‘अपरेसन क्वाक’ नाम दिएर नक्कली डाक्टरको खोजी अभियान सुरु गरेको थियो । यो अपरेसनअन्तर्गत ४५ जना नक्कली डाक्टर समातिए ।
समातिनेमा जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत सुजितकुमार श्रेष्ठदेखि तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका निजी चिकित्सकसम्म थिए ।
उनीहरुले नक्कली शैक्षिक योग्यता पेस गरेर जनतालाई झुक्याएको भन्दै २५ दिनसम्म थुनामा राखी ठगीको मुद्दा चलाइयो । अभियान तीव्र भएका बेला सीआईबीले १५ सय डाक्टरको अनुसन्धान भइरहेको बताएको थियो । यही कारण नक्कली डाक्टरहरुको भागाभाग भएको थियो । कैयौंले मेडिकल काउन्सिलमै गएर गल्ती स्वीकार गरी काउन्सिलबाट लिएको प्रमाणपत्र फिर्ता गरे भने कैयौं डाक्टर विदेश पलायन भए ।
जनताबाट वाहवाही पाएको सीआईबीको यो अभियान निष्कर्षमा पुग्न भने सकेन । १५ सयको त कुरै छाडौं, ठगीको मुद्दा चलाइएका ४५ जना डाक्टरको मुद्दा पनि किनारा लाग्न सकेको छैन । पक्राउ परेकाहरु धरौटीमा रिहा भइसकेका छन् । सीआईबीले १५ सय डाक्टरको अनुसन्धान थालेको बताएको थियो, तर अहिले सीआईबी सुनसान छ ।
नक्कली डाक्टरको अनुसन्धानले चर्चा पाइरहँदा सीआईबीले नक्कली पाइलटको पनि अनुसन्धान थाल्यो । दुईजना नक्कली पाइलट पक्राउ परे । सीआईबीले ३ सयभन्दा बढीको अनुसन्धान थालेपछि हवाई क्षेत्रमा पनि हंगामा भयो । सीआईबीको अपरेसन चलेकै बेला एक सातामा एक दर्जनभन्दा बढी पाइलटले विभिन्न बहाना बनाएर जागिरै छाडे । कारबाहीमा परिने डरले नक्कली शैक्षिक योग्यता पेश गरी पाइलट कोर्स गरेका पाइलटहरुको भागाभाग भयो ।
नेपालको हवाई क्षेत्र जोखिममा परेको र पाइलटको कमजोरीका कारण हवाई दुर्घटना बढेको गुनासो आइरहँदा सीआईबीले अपरेसन ह्वाक नाम दिएर चलाएको नक्कली पाइलट खोज्ने अभियानले पनि प्रशंसा पाएको थियो । तर, यो अभियान पनि यत्तिकै सेलायो ।
डीआईजी नवराज सिलवालको नेतृत्वमा सीआईबीले नक्कली डाक्टर र पाइलट खोजिरहेका बेला महानगरीय अपराध महाशाखाले भने नक्कली इन्जिनियर पक्राउ गरी अनुसन्धान थालेको थियो । महाशाखाले ललितपुरबाट ३ जनालाई पक्राउ गरी अनुसन्धान थाल्यो, जुन बेला महाशाखा प्रमुख थिए, एसएसपी सर्वेन्द्र खनाल । खनाल सरुवा भएर प्रहरी प्रधान कार्यालय गएसँगै उनले सुरु गरेको नक्कली इन्जिनियरको अनुसन्धान अघि बढेन ।
नेपाल प्रहरीको वेबसाइटका अनुसार सीआईबी प्रमुख अहिले पनि डीआईजी नवराज सिलवाल नै छन् । तर नक्कली डाक्टर र पाइलटको अनुसन्धान निकै सुस्त छ । प्रहरी महानिरीक्षक बढुवा प्रकरणमा विवादमा तानिएपछि उनी अहिले निष्कृय छन् ।
कुनै पनि अभियानलाई निष्कर्षमा पुर्याउन नेतृत्वकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । अपरेसन क्वाक र ह्वाकको नेतृत्व गरेका डीआईजी सिलवाल निष्कृय भएका कारण सो अभियान निष्कर्षमा पुग्न नसकेको सीआईबीकै अधिकारीहरु बताउँछन् । “अनुसन्धानका लागि स्थापना भएको ब्युरोलाई अनुसन्धानको जिम्मा दिँदा काम सफल नहुने भन्ने कुरै छैन । तर, हामीले जतिसुकै राम्रो अनुसन्धान गरेपनि सीआईबीमा जो प्रमुख भएर आउँछ, उसैका कारण विफल हुन्छ,” सीआईबीका एक अनुसन्धान अधिकारीले भने, “गल्ती गर्ने र तस्करी गर्नेहरुको उठबस उनीहरुसँग हँुदोरहेछ । हामी दुःख गर्छौं, अन्तिममा आएर मुद्दा कमजोर बनाउनेदेखि अभियुक्तको नामसमेत परिर्वतन गर्ने काम ‘माथि’बाटै हुन्छ ।”
डाक्टर, पाइलटको मात्र नभएर अन्य अनुसन्धानमा पनि रिजल्ट आउने बेलामा माथिल्लो तहबाट ‘गडबडी’ हुने गरेको ती अधिकृतले बताए । नक्कली डाक्टर र पाइलटको अनुसन्धान गर्ने निकायको नेतृत्व नै नक्कली कागजको मुद्दामा फसेकाले अभियान निष्कर्षमा नपुगेको उनको भनाइ छ ।
सीआईबीका कार्यवाहक प्रमुख एसएसपी शेरबहादुर बस्नेतले भने केही कानुनी जटिलताका कारण नक्कली शैक्षिक योग्यता पेश गरेर बनेका डाक्टर र पाइलटको अनुसन्धान थाती रहेको बताए । बस्नेतले भने, “हामीले केही डाक्टरलाई ठगीमा मुद्दा चलाएका थियौँ, केहीलाई चलाउन बाँकी छ । कारबाही गर्दाका केही कानुनी जटिलता छन्, हामी मेडिकल काउन्सिलसँग छलफल गर्दैछौं ।”