काठमाडौं । नेपाल प्रहरीको एआईजी, डीआईजी र एसएसपी बढुवामा छुटेका ३ जनाले लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको गुनासो समितिमा आफूहरु अन्यायमा परेको भन्दै निवेदन दिएका छन् ।
गृहसचिवको नेतृत्वमा बनेको बढुवा सिफारिस समितिले आफुलाई अन्याय हुने गरी बढुवा सिफारिस गरेको भन्दै डीआईजी मधुसुधन पुडासैनीले बिहीबार गुनासो सुन्ने समितिसमक्ष उजुरी गरेका हुन् ।
डीआईजी पुडासैनी एक महिनादेखि तालिमको सिलसिलामा अमेरिकामा छन् । गएको साता गृहसचिवको नेतृत्वमा बनेको बढुवा समितिले ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।
उक्त सूचीमा आफू नपारेर अन्याय गरिएको भन्दै उजुरी परेको जनाइएको छ ।
त्यसैगरी एसएसपीबाट डीआईजी बढुवामा सिफारिस गर्दा बढुवा समितिबाट आफु अन्यायमा परेको भन्दै एसएसपी सुभासचन्द्र चौधरीले पनि उजुरी गरेका छन् ।
बढुवा समितिले एसएसपी बढुवामा आफ्नो नाम छुटाएको भन्दै पुनर्मुल्यांकनको माग गर्दै चौधरीले बिहीबार उजुरी दर्ता गराएका थिए ।
त्यस्तै एसपीबाट एसएसपी बढुवा सिफारिस गर्दा पनि अन्याय गरिएको भन्दै एसपी विभुतिराज पाण्डेले उजुरी गरेका छन् ।
बढुवा समितिले आफु भन्दा जुनियरलाई सिफारिस गरेको भन्दै तीनै दर्जाका प्रहरी अधिकृतले पुनः मुल्यांकनका निम्ति उजुरी दिएका हुन् ।
लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव र कानुनसचिव रहेको समितिले उजुरीको छानविन गर्नेछ । समितिले १५ दिनभित्रै काम सकिसक्नुपर्नेछ । “उनीहरु ३ जनाकै बढुवा फाइल समितिले आइतबार झिकाएर अध्ययन गर्ने तयारी गरेको छ,” स्रोतले बाह्रखरीसँग भन्यो ।
बढुवा समितिले सूचीमा नाम सिफारिस गरेको एकसाताभित्र चित्त नबुझ्नेले उजुरी गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।