काठमाडौं । अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले ०७० माघ २२ गतेबाट अभियुक्तसँग पोलिग्राफ टेस्ट लिन सुरु गर्यो । प्रविधिको विकास र अपराधका शैली फेरिदै जाँदा पोलिग्राफ टेस्टको आवश्कयता खट्किएछि प्रहरीले उक्त प्रविधि भित्र्याएको थियो ।
प्रहरीको केन्द्रीय पोलिग्राफ शाखाको तथ्यांकअनुसार करिब ४ वर्षको अवधिमा प्रहरीले विभिन्न अभियोगमा पक्राउ परेका १६ सय ७ जनाको पोलिग्राफ बयान लिएको छ । जसमा अधिकांश सही रिपोर्ट आएपछि अहिले प्रहरीको पोलिग्राफ बयान निकै प्रभावकारी देखिन थालेको छ ।
शाखाको तथ्यांकअनुसार परिक्षण गरिएका १६०७ मा ७६७ जनाले झुट बोलेका छन् । त्यसैगरी परीक्षणमा ल्याएका ७१९ जनाले झुट नबोलेको परीक्षणले देखायो भने १२१ जनालाई राय दिन नसक्ने भन्दै रिपोर्ट निकाल्यो ।
केन्द्रीय पोलिग्राफ शाखाका प्रमुख डीएसपी गणेश श्रेष्ठ भन्छन्, “पोलिग्राफ प्रविधिको प्रयोगपछि अनुसन्धान केही सहज भएको छ । अपराध गरिसकेपछि आफू बच्नकै लागि झुट बोल्ने हो । अनुसन्धानकर्ताले झुट बोलेको ठान्यो तर अभियुक्तले स्विकार गरेन भने उसैको मुख खोल्नका लागी पोलिग्राफ गराउने हो । अभियुक्तको शरीरमा सेन्सर लगाएर उसले झुट बोलेको वा साँचो बोलेको कुरा पत्ता लगाउने हो । हामीले हो–हैन, अथवा एस–नो भनेर सोध्ने हो, पूरै बयान लिने हैन । कुनै व्यक्तिले पोलिग्राफ नदिने भन्यो भने कर छैन ।”
११ ठाउँबाट परीक्षण हुन्छ पोलिग्राफ
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीले ११ वटा पोलिग्राफ प्रयोगमा ल्याएको छ । केन्द्रीय पोलिग्राफ शाखाका प्रमुख डीएसपी गणेश श्रेष्ठका अनुसार प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखा, विषेश ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो, महानगरीय प्रहरीको कार्यालय रानीपोखरी, बागमती अञ्चल प्रहरी कार्यालय र ५ वटा क्षेत्रीय प्रहरी कार्यालयमा पोलिग्राफ परीक्षण हुन्छ ।
५० प्रहरीकै पोलिग्राफ बयान
प्रहरीले यो प्रविधि सुरु गरेयता ५० जना प्रहरी कर्मचारीकै पोलिग्राफ बयान लिएको छ । विभागीय कारबाही, भ्रष्टाचार तथा घूस अभियोगमा पक्राउ परेका ५० जना प्रहरीले पोलिग्राफ बयान दिएका छन् ।
प्रहरीको पोलिग्राफ बयानमा २४ जनाको पोलिग्राफ बयान झुटो भएको देखाएको छ भने २६ जनाको पोलिग्राफ बयान सही देखिएको छ ।
७ ट्राफिक प्रहरीको पोलिग्राफ बयान
सडक ड्युटीमा खटिने ७ जना ट्राफिक प्रहरीको पनि घूस खाएको अभियोगमा पोलिग्राफ बयान लिइयो । सवारी चालकसँग रकम लिएको आधारमा कारबाही परेका ट्राफिक प्रहरीले रकम नलिएको भन्दै झुट बोलेपछि उनीहरुको सही कुरा पत्ता लगाउन पोलिग्राफ लिइएको थियो । सडकमा खटिएका ट्राफिक प्रहरीले सवारी चालकसँग घूस लिने, मादक पदार्थ सेवन गरेर सडकमा खटिने, सडक अनुशासन नियम नमिची कमिसनको लोभमा आफूखुसी सवारी चालकलाई कारबाही गर्ने जस्ता गतिविधिमा उजुरी बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशााखाले सडकमा खटिने प्रहरीलाई नै पोलिग्राफ बयान लिने व्यवस्था सुरु गरेको छ ।
चार वर्षमा १६ सय ७ जनाको पोलिग्राफ बयान
जघन्य अपराधदेखि सामान्य चोरीका घटनालाई लिएर दैनिक २ देखि ३ जनाको पोलिग्राफ टेष्ट हुने गरेको छ । चार वर्षको अवधिमा प्रहरीले अहिलेसम्म १६०७ जनाको पोलिग्राफ परीक्षण गरिसकेको छ । यसरी पोलिग्राफ परीक्षणमा ९० प्रतिशत सफलता मिलेको पोलिग्राफ परीक्षण शाखाका प्रमुख गणेश श्रेष्ठले बताए । पोलिग्राफ परीक्षण प्रविधि भित्र्याएयता परीक्षण गरिएका १६०७ मा ७६७ ले झुट बोलेको, ७१९ जनाले सही बोलेको र १२१ जनाको बारेमा केही राय दिन नसकिने रिपोर्ट आएको डीएसपी श्रेष्ठले बताए ।
जघन्य अपराध तथा चोरी डकैती र मानिस बेपत्ता बनाएका घटनासम्ममा प्रहरीले पोलिग्राफ बयान लिने गरेको छ । प्रहरीले करिब ४ वर्षमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दामा फेलिग्राफ टेस्ट लिएको छ । यो अवधिमा कर्तव्य ज्यान मुद्दामा ७७८ जनाको पोलिग्राफ बयान लिइएको छ । त्यसैगरी चोरीका घटनामा पनि प्रहरीले ३ सय १३ जनाको पोलिग्राफ बयान लिएको छ ।
सांसद र डीएसपीसहित ५ जनाले मानेनन्
विभिन्न अनुसन्धानमा झुटो वा साँचो भन्ने पत्ता लगाउन गरिने पोलिग्राफ टेस्ट दिन अहिलेसम्म ५ जनाले अस्वीकार गरेका छन् । यसरी पोलिग्राफ बयान दिन नमान्नेमा नेकपा माओवादी केन्द्रका सांसद ल्यार्क्याल लामा, नेपाल प्रहरीकै डीएसपी दयानिधि ज्ञवाली र मध्यपश्चिआञ्चल कार्यालयका वासुेदव गजुरेललगायत अन्य दुई छन् ।
बैंकको लकरभित्र पेस्तोलको गोली राखेको अभियोगमा पक्राउ परेका लामाले उक्त कुरा स्किारेनन् । उनलाई पोलिग्राफ गर्न लागिए पनि उनले दिन मानेनन् । त्यसैगरी सेवाग्राहीसँग घूस खाएको अभियोगमा समातिएका नेपाल प्रहरीका डीएसपी ज्ञवालीले पनि प्रहरी बयानमा झुटो बोलेपछि सत्य कुरा पत्ता लगाउन पोलिग्राफ लिन खोजिएको थियो तर उनले पनि अस्विकार गरे ।
तस्बिर सौजन्यः पोलिग्राफ शाखा, नेपाल प्रहरी