site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सोमबार मध्यरातसम्म याक एन्ड यतीमा के भयो ?

काठमाडौं । नेकपा (एमाले)का दोस्रो तहका नेताहरूबीच सोमबार मध्यरातिसम्म याक एण्ड यति होटलमा वार्ता भएको छ । विवाद समाधान गर्न गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका दोस्रो तहका नेताहरू पार्टी मिलाउन अन्तिम कसरतमा जुटेका हुन् ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कार्यदलमा संयोजन गरिरहेका सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्मन्त्री प्रदीपकुमार ज्ञवाली रहेको बताइएको छ । असन्तुष्ट समूहको नेतृत्व गरिरहेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई रहेको बताइएको छ । भीम रावल भने छलफलमा बाहिरै रहे ।

रावल पार्टी विवाद मिलाउने भन्दा पनि बल्झाउनेतिर केन्द्रित रहेको भन्दै गोप्य छलफलमा सहभागी नगराइएको ओलीनिकट एक नेताले जानकारी दिए । यसअघि जेठ ९ गते बसेको बैठकमा पनि रावललाई बोलाइएको थिएन ।

Dabur Nepal

“हामी अन्तिम कसरतमा छौँ । विषय मिलिसकेका छैनन् । उहाँहरूको जेठ २ कै रटानमा हुनुहुन्छ । सबै पार्टी कमिटीहरू जेठ २ मै फर्काएर छलफल आरम्भ गर्नुपर्छ भन्नेमै हुनुहुन्छ । हामी मिलन विन्दु के हुन्छ खोजिरहेका छौँ,” छलफलमा सहभागी एक नेताले भने ।

जुम मिटिङमा तीन दिनभित्र विवाद मिलाउन विष्टलाई चुनौती

स्रोतका अनुसार खनाल–नेपाल समूहमा नयाँ पार्टी गठनका लागि दबाब बढ्दो छ । गत आइतबार नेता नेपालले आफूनिकट विद्यार्थीहरू (अनेरास्ववियु)को भेलामा नयाँ क्रान्तिकारी पार्टी गठन गरेर जानुको विकल्प नरहेको बताएका थिए । जुम भेलामा पहिले बोलेका गोकर्ण विष्टले एकता नै अन्तिम सत्यजसरी प्रस्तुत भएको अनेरास्ववियुका एक नेताले बताए । 

“पार्टी एकताको विकल्प छैन । पार्टी एकताले नै आन्दोलनलाई बलियो बनाउँछ,” विष्टको भनाइ उद्धृत गर्दै एक नेताले भने, “अहिले नयाँ आन्दोलन विकास गर्ने अवस्था पनि छैन । जेठ २ मै पार्टी आन्दोलन फर्काउनेगरी समझदारी गरेर जानुपर्छ ।”

विष्टको यस्तो भनाइ सुनेपछि नेता नेपालले ओलीसँग मिल्नै नसकिने आधार प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओली अहिले जेठ २ मा फर्कन सैद्धान्तिक र व्यवहारिकरूपमै तयार देखिए पनि कार्यान्वयन नगर्ने नेता नेपालले बताएका थिए । कुनै समझदारी पालना नगर्ने ओलीको विगतदेखिको बानी नै एकताको बाधक बन्ने नेता नेपालको निचोड थियो ।

“अहिले पनि उनको अल्मल्याउने रणनीति हो । यसमा हामी प्रष्ट हुनुपर्छ । अहिले अल्मल्याउन सकियो भने चुनाव घोषणा भइसकेको छ । नयाँ पार्टी गठन गर्न मिल्दैन । भोलि टिकट वितरणमा एकलौटी गरेर हामीलाई टेक्ने ठाउँ दिँदैनन् । त्यसकारण अहिले नै छिनोफानो गरेर नयाँ क्रान्तिकारी, रूपान्तरणसहितको आन्दोलन निर्माण गर्नुपर्छ,” माधव नेपालको भनाइ उद्धृत गर्दै ती विद्यार्थी नेता भने ।

अन्तिममा नेता नेपालले मिल्ने नै हो भने जेठ २ लाई नै आधार बनाएर तीन दिनभित्र काम फत्ते गर्न विष्टलाई चुनौती दिएका थिए ।

सोमबार याक एन्ड यतीमा के भयो ?

वार्तामा रहेका ओली पक्षका एक नेताका अनुसार घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट तीनै जना पार्टी मिलाउन सकारात्मक छन् । उनीहरूको कुराप्रति ओली ‘कन्भिन्स’ नै छन् । सोमबार पनि जेठ २ मा फर्काउन सैद्धान्तिक आधार तयार गर्ने विषयमै छलफल केन्द्रित रहेको ओलीनिकट नेता बताउँछन् ।

“अब एक–दुईदिनभित्रै परिणाम आउँछ । हामी त्यो हिसाबले लागेका छौँ । तर, उतापट्टि जसरी हुन्छ एकता भाँड्ने चिन्तन हावी हुँदै गएको छ । संवादमा रहेकाहरूलाई उतै लागे भन्ने आरोप पनि छ । चुनौतीपूर्ण छ तर पार लगाउँछौँ,” उनले भने ।

स्रोतका अनुसार पार्टी कमिटीलाई जेठ २ मा फर्काउन ओली तयार छन् । थपिएका ४१ ( २०७५ जेठ ३) र  २३ (२०७७ फागुन २८) केन्द्रीय सदस्य स्वीकार गर्न कार्यदलका सदस्य तयार छन् । मातहतका कमिटीका सम्बन्धमा के गर्ने निर्क्यौल भइनसकेको ती सदस्य बताउँछन् ।

कारबाही थाती रहने

एमालेले आज (मंगलबार) स्थायी कमिटीको सातौँ बैठक बोलाएको छ । दुई पटक (आइतबार र सोमबार) स्थगित गरेर आज बिहान ११ बजे बस्ने तय गरिएको बैठकले लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपचुनावको समीक्षा गर्ने छ । बजेटबारे पनि छलफल गर्ने छ । स्पष्टीकरण सोधिएका र जवाफ नदिएका १२ सांसदहरूको बारेमा भने कुनै निर्णय नलिने एक स्थायी कमिटी सदस्यले बताए ।

“हामी हिजो पनि वार्तामा बस्यौँ । घनिभूत छलफल भयो । पार्टी जसरी पनि मिलाउनुपर्छ भन्ने हाम्रो साझा दृष्टिकोण, निष्कर्ष, निचोड पनि छ । यस्तो अवस्थामा कारबाहीको प्रसंग नै उठ्दैन । फेरि स्पष्टीकरण सोधिएका कमरेड कार्यदल (घनश्याम भुसाल, सुरेन्द्र पाण्डे)मा नै हुनुहुन्छ,” ती नेता भन्छन् ।

उनले पार्टी विवाद मिल्ने हकमा यसभन्दा अघिका विषयलाई ‘कट् अफ् डेट’ मानेर अघि बढ्न सकिने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro