site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
बुद्धका दार्शनिक चिन्तन

बेग्लाबेग्लै रुपमा हेर्न सकिए पनि बुद्ध धर्म र दर्शनमा अन्योन्याश्रित सम्बन्ध छ । धर्मले भौतिक या व्यावहारिक पक्ष दर्शाउँछ भने दर्शनले चिन्तनको पाटो जनाउँछ । अनीश्वरवादी बुद्ध भन्छन् – घरमा निमको बोट रोपेर ईश्वरको जतिसुकै स्तुती गरे पनि त्यसमा कुनै पनि हालतमा आँप फल्न सक्दैन भने ईश्वरको अस्तित्व प्रमाणित गर्न पनि सकिँदैन । भौतिकवादी झैं बुद्धको धारणा थियो ‘आत्मा, ईश्वर आदि कुनै नित्य वस्तु संसारमा छैन, सबै वस्तु क्षणिक उत्पन्न हुन्छन् र तुरुन्तै विलीन हुन्छन् । अनि, संसार वस्तुहरुको समूह नभएर घटनाहरुको प्रवाह हो ।’

प्रयोगवादी दार्शनिक बुद्धले दुःख र त्यसको जडलाई समाजमा नहेरेर व्यक्तिमा हेर्ने कोसिस गरे । भोग तृष्णाका लागि राजा, क्षत्रीय, ब्राह्मण, वैश्यआदि सारा दुनियाँ झगडा गरिरहेको, मरिरहेको र मारिरहेको हुँदा उक्त तृष्णालाई व्यक्तिबाट हटाउने कोसिस गरे । कर्मकाण्ड, यज्ञ र बलिका कारण समाजलाई एकसूत्रमा बाँध्ने धर्मबाट मानिसको आस्था हटिरहेको देखेर तात्कालिक शासक वर्गलाई चिन्ता भयो । क्षत्रीय राजाहरुले ब्रह्मज्ञान तथा पुनर्जन्मको दर्शनलाई अघि सारेर जनमानसको ध्यान खिँच्ने र सामाजिक विषमतालाई उचित ठहर्याउने चेष्टा गरे । 

बुद्धकालीन समय समाजमा विद्यमान मिथक तथा धार्मिक मान्यताहरुका बारेमा चौतर्फी प्रश्न गरिने समय थियो । उपनिषद्हरुमा पनि परम्परागत वैदिक सोचभन्दा पृथक ज्ञान र आत्मालाई जोड दिईएको थियो । ग्रिसमा पाईथागोरसले 
तर्कद्वारा ब्रह्माण्डको जाँच गर्दै थिए भने चीनमा लाओजी र कन्फुसियसले नैतिकतालाई धार्मिक हठधर्मिताबाट अगल गर्दै थिए । भारतीय उपमहाद्वीपमा वेदमा आधारित वैदिक धर्म मुख्य धर्म थियो जसको व्याख्यालाई बुद्धले तर्कको माध्यमबाट चुनौती दिइरहेका थिए । बौद्धवाद धर्मभन्दा पनि दर्शनको रुपमा उत्पन्न भयो । किनभने, बुद्धको उद्देश्य सत्य पत्ता लगाउनु थियो र उनले तर्कशक्तिबाट जोकोहीले सत्य प्राप्त गर्नसक्नेमा जोड दिए । परन्तु, उनी ‘मेटाफिजिक्स’को जबाफ प्राप्त गर्न नसकिने प्रश्नप्रति उत्सुक थिएनन् । बुद्धको समयको ब्राह्मणवाद र त्यसपछि देखा परेको हिन्दु धर्मले निर्वाणलाई ब्रह्ममा गएर एकाकार वा समाहित हुने अर्थमा लिने गथ्र्यो । तर, बुद्धले निर्वाणलाई अजन्म, असिर्जित, अउत्पन्न तथा कुनै संवेदनाभन्दा पर रहने अर्थमा व्याख्या गरे । 

बौद्ध दर्शन बिस्तारै चीन तथा दक्षिणपूर्वी एसियामा फैलियो जहाँ यसले लोकप्रियताका लागि डाओवाद र कन्फुसियससँग प्रतिद्वन्द्विता गर्नु पर्यो । बुद्धका दर्शन पश्चिममा ग्रिससम्म ईसापूर्व तेस्रो शताब्दीमै पुगे पनि यसले त्यतिबेला पश्चिमा दर्शनमा खासै प्रभाव पारेन । पछि गएर दार्शनिकहरु ह्युमको ‘स्वयं’ (सेल्फ) को अवधारणा तथा सोपेनहावरको मानवीय अवस्था (ह्युमन कन्डिसन) मार्फत् भने राम्रै प्रभाव पारेको देखिन्छ । हाल आएर जीवन जिउने काइदाका लागि बौद्ध दर्शनप्रति पश्चिमा जगतको आकर्षण दिनप्रतिदिन बढ्दो छ । 

बौद्ध दर्शनको सार
दुःखबाट मुक्ति नै बौद्ध दर्शनको मुख्य उद्देश्य हो जसमा कर्म, ध्यान र प्रज्ञा साधक रहेका छन् । बौद्ध दर्शन त्रिपिटकमा संग्रहित छन् जसको स्थान वैदिक धर्ममा वेदको जस्तै हो । दुःखको निदानलाई प्रारम्भ विन्दु मान्दै बौद्ध दर्शनले चार आर्य सत्य – संसार दुःखमय छ; दुःखको कारण छ; दुःखको निवारण सम्भव छ; र दुःख विनारणको उपाय पनि छ भनी बताएको छ । दर्शन भन्छ – यो संसारमा सबैथोक दुःख हो । जन्मनु, बुढो हुनु, मर्नु, प्रियजनसँग छुट्टिनु, मन नपरेको कुरा गर्न पर्नु, मन परेको गर्न नपाउनु आदि दुःख हुन् । त्यस्तै, तृष्णा वा चाहना दुःखको कारण हो जसले नश्वर शरीरको संसारलाई जारी राख्छ । यस्तो तृष्णाबाट मुक्ति पाउन सकिन्छ तर त्यसका लागि अष्टाङ्ग मार्गअनुरुप जीवन जिउनु पर्छ ।

बौद्ध दर्शन तीन मूल सिद्धान्तमा आधारित मानिएको छ । ती हुन्ः अनीश्वरवाद, अनात्मवाद र क्षणिकवाद । अनीश्वरवादी हुनाले बुद्ध ईश्वरको सत्ता मान्दैनन् किनभने संसार प्रतीत्य समुत्पाद (कार्यकारण सम्बन्धको शृङ्खला) को नियममा चल्छ । यस शृङ्खलाका धेरै चक्र छन् जसलाई बाह्र अङ्ग (द्वादश निदान)मा बाँडिएको छ । यो ब्रह्माण्डको संचालक र उत्पत्तिकर्ता कोही छैनन् । त्यसैले ब्रह्माण्डको न त प्रारम्भ न त अन्त्य नै छ । त्यस्तै, अनात्मवाद बुद्धको आत्मा सम्बन्धी सिद्धान्त हो जसअनुसार आत्मा प्रतिक्षण परिवर्तनशील छ । बौद्ध धर्ममा परिवर्तनशील मानेकाले अन्य धर्ममा जस्तो आत्माका मानिएका गुणहरु (श्वाश्वत, नित्य, स्थायी, अजर, अमर) समाप्त हुन्छन् । बुद्ध धर्मले कर्म तथा पुनर्जन्मलाई स्वीकार गरेको छ भने पुनर्जन्मको लागि कर्म उत्तरदायी मानिएको छ । अनि, क्षणिकवादले यो संसारमा सबै क्षणिक र नश्वर छन्, केही पनि स्थायी छैनन्, सबै परिवर्तनशील छन् भनी मान्छ । शरीर र ब्रह्माण्डको सम्बन्ध रथको घोडा, चक्का र पालकीको जस्तै हो कुनै एकलाई अलग गर्दा रथको अस्तित्व रहँदैन । 

यी तीन सिद्धान्तमा आधारित रहेर बौद्ध दर्शन बनेको छ जुन पछि गएर दुई प्रमुख सम्प्रदाय र छ उपसम्प्रदायमा विभक्त भएको छ । तर, यी सबैका केन्द्रीय दर्शन प्रतीत्यसमुत्पाद नै हो जसका अनुसार जीवन र जगतको हरेक घटना कार्यकारणमा निर्भर रहन्छ । मध्यमप्रतिपदा (मध्यम मार्ग) बौद्ध दर्शनको मूल सिद्धान्त हो जो दुई अतिवाद (अत्यधिक सुख र अत्यधिक दुःख) बीचको बाटो हो । अर्थात्, जीवनलाई अति सुखी वा अति दुःखी दुवै बनाउनु हुँदैन । 

अनात्मवादमा आकर्षण
बुद्धको समयअघि कर्मकाण्डलाई महत्त्व दिने ब्राह्मणवादबाट आहत समाज उपनिषद्को आत्मवादतर्फ आकर्षित हुँदै थियो । बुद्धको समयमा आत्मवादका अतिरिक्त भौतिकवादी (जडवादी) चिन्तनहरु पनि प्रखररुपमा देखिए । तर, ब्राह्मण क्षेत्रीय, सामन्त तथा धनी व्यापारीहरुको सबैभन्दा बढी आस्था बुद्धको अनात्मवादतर्फ थियो । अनात्मवादले रुप, विज्ञान, वेदना, संज्ञा, संस्कार यी पञ्चस्कन्धबाहेक आत्मा छैन भन्ने मान्यता राख्छ ।

वेद पढ्ने, यज्ञ गर्ने आदि कर्मकाण्ड तथा वर्ण व्यवस्थाले संकटबाट पार पाइने बुद्धले देखेनन् । तसर्थ, उनले आत्मनिरीक्षण गर्न खोजे । त्यसका लागि उनले ध्यान गरे तर ध्यानबाट बाहिर आएपछि फेरि त्यही संसारको सामना गर्नु पर्‍यो । यसले बुद्धलाई रुपान्तरणकारी अनुभव प्रदान गरेन । उनले मुक्ति पाउन कठोर तपस्या पनि गरे जसमा मनको साटो शरीरमा ध्यान केन्द्रित भयो । त्यसबाट पनि मुक्ति होइन झन् दुःख मिल्यो । त्यसपछि उनले मध्यम मार्ग अवलम्बन गरे । आत्माको नित्यताको बारेमा तत्कालीन मान्यता सही छैन भन्ने माने । जसरी आफू वरिपरिको वातावरण परिवर्तन भइरहन्छ त्यसरी नै आत्मा पनि एकै रहँदैन भन्ने ठहर गरे । उनको मान्यता हो – आत्माको अस्तित्व छ तर कुनै निश्चित् समयलाई लिएर यही नै हो भन्न सक्दैनौ । बुद्धले आत्माको नित्यता मुक्तिको समाधान होइन बरु समस्या हो भन्ने बुझे । वास्तवमा, फ्रायडले पत्ता लगाएको संज्ञानात्मक मनोविज्ञान (कग्निटिभ साईकोलोजी) बुद्धले पच्चिस सय वर्षअघि नै बुझेका थिए जसमा आफूलाई चिनेर आफ्नो जीवनलाई काबुमा राख्न सकिन्छ र दुःखबाट मुक्ति मिल्छ भन्ने मान्यता थियो । 

अनित्य, अनात्म, प्रतीत्य–समुत्पादमा आधारित बुद्धको दर्शनमा ईश्वर वा ब्रह्मको मात्र होइन आत्माको पनि अस्तित्व छैन । तर, उनले ईश्वरवादमाथि त्यति धेरै व्याख्यान दिएनन् जति अनात्मवादमाथि दिए । यसैलाई आधार मानी कतिपय भारतीय विद्वानहरुले बुद्धले चुप रहेर उपनिषद्का सिद्धान्तहरुलाई पूर्ण स्वीकृति दिए भन्ने जिकिर पनि गरेको पाइन्छ । 

उपनिषद् र बौद्ध दर्शन
बौद्ध धर्मको श्रोत वा प्रेरणा उपनिषद् हो कि होइन भन्ने विषयमा विभिन्न मत पाइन्छ । कतिपयले उपनिषद् बौद्ध दर्शन प्रतिपादन हुनुअघि नै अस्तित्वमा रहेको दाबी गरेका छन् भने केहीले सँगसँगै आएको मान्यता राख्ने गरेको देखिन्छ । तर, वेद झैं उपनिषद्को विकास पनि एकै चोटि भएको होइन । त्यसैले यी धारणाहरुमा केही सत्यता भए पनि ती पूर्ण सत्य भने होइनन् । 

उपनिषद्मा विद्यावारिधि गरेका प्रा. डा. रामचन्द्र भट्ट आफ्नो पुस्तक ‘उपनिषद्मा के छ?’ मा लेख्छन् – “बुद्ध दर्शनभन्दा पहिले नै उपनिषद् दर्शनको व्यापक प्रचारप्रसार भइसकेको थियो । औपनिषद युगको समाप्ति र बौद्ध युगको पूर्वको छोटो अन्तरालमा औपनिषद कालको प्रभाव बुद्धकालिक विचारमा पर्दै गयो । फलतः उपनिषद्को ‘असतः सज्जायते र असत् वा इदम् आसित्’ को असत्वाद, बुद्धको शून्यवादमा परिणत हुन गयो ।”

केहीले माध्यमिक र योगाचार बौद्ध सम्प्रदायहरु अद्वैतवादी चिन्तनमा आधारित भएकाले बुद्धलाई अद्वैतवादीको संज्ञा दिएको पनि पाइन्छ । उपनिषद् दर्शनमा स्वतन्त्ररुपले आस्तिक वर्ग (द्वैत र अद्वैत) र नास्तिक वर्गका विभिन्न दार्शनिक चिन्तनहरु भेटिन्छन् । मनुष्यलाई दुःखबाट मुक्त गर्ने बौद्ध दर्शनको मुख्य विषय उपनिषद्का थुप्रै स्थानमा वर्णित छन् । भट्ट लेख्छन् – “उपनिषद्को विचारसँग बुद्धको क्षणिक विज्ञानवाद र शङ्कराचार्यको नित्यविज्ञानवादमा समता छ । त्यसैले उनले आफ्नो मुख्य उपदेशमध्ये दुःख निरोधलाई प्रधान स्थान दिएका थिए । त्यसको लागि उनले सार रुपमा प्रतीत्य–समुत्पाद (कारण र कार्यको सम्बन्ध) र अष्टाङ्ग मार्गको उपदेश गर्नुपरेको थियो ।”

कसैले बुद्ध दर्शनको विज्ञानवाद, क्षणभंगुरवाद, अनात्मवाद र वैराग्यवादको स्रोत उपनिषद्लाई नै मानेका छन् । ती भन्छन्, उपनिषद्को “नदीहरु समुद्र भएर त्यससँग एक रुप हुन्छन्” भन्ने उक्तिले बोधिसत्वको आश्रयको “एकता र अनेकता” सम्बन्धी विचारलाई प्रमाणित गरेको छ । बुद्धले केही विषयलाई अव्याकृत (अकथनीय) मानेका छन् । भट्ट भन्छन् – “उपनिषद् दर्शनको सम्बन्धमा स्वयं बुद्धले ‘म यसलाई राम्ररी जान्दछु तर म यसभन्दा ज्यादा केही भन्दिन’ भनेर आत्माको बारेमा मज्झिम निकायमा भनेका छन् ... बौद्ध र जैन दर्शनहरु उपनिषद्बाट प्रभावित भएका छन् भन्ने कुरा धम्मपदको भूमिका र विशेषबध्यको भाष्य (यशोविजष जैन गन्धाल संख्या ३५) मा पनि उल्लिखित छ ।”

त्यसैगरी, जर्मन विद्वान् हर्मन् ओल्डेनवर्गले बुद्धसम्बन्धी आफ्नो शोधमा बुद्धमाथि उपनिषद्को प्रभाव स्वीकारेका छन् । अनि, भियतनामी बौद्ध भिक्षु तिक न्यात हन्हले आफ्नो पुस्तक ‘ओल्ड पाथ ह्वाइट क्लाउड्स’ (हिन्दीमा अनूदित ‘जहं जहं चरन परे गौतम के’) पुस्तकमा गौतम बुद्धले सबै वेदको शिक्षा गहनतासँग लिएका र ऋग्वेद र अथर्ववेदको अध्ययन विशेषरुपले गरेको बताएका छन् । उनले सिद्धार्थ गौतमले ब्राह्मण र उपनिषद्को पनि गहिरो अध्ययन गरेको उल्लेख गरेका छन् । 

माथिका विभिन्न तथ्यहरुले उपनिषद्बाट बुद्धधर्म र दर्शनमा पारेका प्रभावहरु देखिन्छन् । फरक उपागम भए पनि एउटै उद्गम भएकाले भारतीय उपमहाद्वीप र विशेषगरी नेपालमा वैदिक र बौद्ध धर्म दुवैलाई समानरुपमा सम्मान गर्ने परम्परा रही आएको छ । कसैकसैले बौद्ध धर्म उपनिषद्बाट प्रभावित नभई स्वतन्त्ररुपमा उत्पत्ति भएको धारणा राखे पनि यो वैदिक चिन्तनकै शृङ्खला भएको र यसले कतिपय पक्षमा उपनिषद्सँग तादाम्य राख्छ भन्नेमा असहमत हुनुपर्ने कारण देखिँदैन । आत्माको चिन्तन उपनिषद्ले प्रधानरुपमा गरेको तर त्यसलाई बुद्ध धर्मले फरक अर्थमा व्याख्या गरेको छ भने उपनिषद्मा प्रतिपादित कतिपय नैतिक पक्षहरुको प्रभाव बुद्ध दर्शनमा देखिएको यथार्थ हो ।

यद्यपि, उपनिषद् र बौद्ध दर्शनले बेग्लाबेग्लै भँगालो समातेका छन् । बौद्ध र उपनिषद् दुवै दर्शनले तात्कालिक व्याप्त ब्राह्मणवाद र कर्मकाण्डको उपेक्षा गरे । उपनिषद्ले वैदिक यज्ञ आदिलाई गौणरुपमा लिएको छ भने बुद्धले तिनलाई गौण दृष्टिबाट पनि बहिस्कार गरी वर्ण व्यवस्था र कर्मकाण्डको पूर्ण उपेक्षा गरेका छन् । बुद्धले पुनर्जन्मसम्बन्धी सिद्धान्तलाई दीपशिखाको दृष्टान्तबाट व्याख्या गरेकाले उपनिषद्मा जस्तो नित्यरुपमा अङ्गीकार गरेको बुझ्नु युक्तिसंगत देखिँदैन । 

निष्कर्ष
आत्मनिरीक्षण तथा नियन्त्रणविनाको गृहस्थी जीवनले निरन्तर दोहरिइरहने दुःख र निराशाको भुमरीमा परिन्छ भन्ने बुद्धको मान्यता हो । यी सबै परित्याग गर्नेको जीवनमा आशा देखिन्छ । पश्चिमा लेखकहरुले यस विचारलाई ‘निरन्तर निराशावाद’को रुपमा चित्रण गरेका छन् । तर, त्यसो भनिरहँदा बुद्धले देखाएको निर्वाण तथा मुक्तिको आशावादलाई तिनले बिर्से झैं लाग्छ । बौद्धमार्गी त्यागीहरुको मनोभावमा अँध्यारो तिक्तताको संशयमात्र नभई उज्यालो आशाको अभिलाषा पनि पाइन्छन् । 

त्यसैगरी, अभ्यास गर्नेलाई मात्र लाभ हुने तर पारिवारिक र सामाजिक सम्बन्धलाई त्यति महत्त्व नदिएकाले निर्वाण प्राप्त नहुने भनेर पनि बौद्ध धर्म वा दर्शनको आलोचना हुने गरेको छ । अपितु, बुद्धको सिद्धान्त कठोर नैतिकताको सिद्धान्त हो र उनको अष्टाङ्ग मार्ग नैतिकताको बाटो हिँड्नको लागि तोकिएको आचार संहिता हो भन्ने बिर्सन मिल्दैन । बुद्धका आस्तिकता र नास्तिकताको बारेमा पनि प्रश्न उठ्ने गरेका छन् । तर, बौद्ध दर्शनले ईश्वरको अस्तित्व होस् वा नहोस् हामी आफूले समाजमा कस्तो व्यवहार गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो भन्ने पक्षलाई विशेष जोड दिएको छ जुन आफैँमा एक युगान्तकारी अवधारणा थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro