काठमाडौं । चालकसँग तरकारीदेखि रकमसम्म घुस खाएको आरोपमा एक वर्षभित्र ६६ जना ट्राफिक प्रहरी आन्तरिक कारवाहीमा परेका छन् । तीमध्ये केहीले नसिहत पाएका छन् भने केही निलम्बनमा परेका छन् ।
“तरकारी बोकेका गाडीसँग तरकारी नै घुस खाएको पनि पाइयो,” ट्राफिक महाशाखाका एक उच्च अधिकारी भन्छन्, “चालकसँग सय रुपैयाँसम्म लिएको पनि पाइयो ।”
चालकले नियम मिच्दा ट्राफिकले पैसा लिएर छाडिदिएका कैयौं उजुरी महाशाखामा परेको छ । त्यस्ता उजुरीको छानविनपछि एक वर्षको अवधिमा ६६ जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । अधिकांश ट्राफिक चालकसँग घूस खाएको अभियोगमा कारबाहीमा परेका हुन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको साउनयता २२ जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् भने ४४ जनाले नसिहत पाएका छन् ।
महाशाखाका अनुसार कारबाही पर्नेमा धेरैजसो कंलकी क्षेत्रमा खटिने प्रहरी छन् । त्यसैगरी नयाँ बसपार्क, कोटेश्वर, बौद्ध, स्वयम्भू, बल्खुलगायत विभिन्न प्रभागमा कार्यरत ६६ ट्राफिक प्रहरीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामाले बताए ।
“हजारको हाराहारीमा ट्राफिक प्रहरी उपत्यकाभरमा कार्यरत छन् । तीमध्ये केही खराब आचरण भएका भेटिए,” उनले भने, “सडक नियम पालना गराउन बसेका ट्राफिक प्रहरीले नै नियम मिच्नेसँग हात मिलाए भने कारबाहीमा पर्छन् ।”
प्रत्येक ट्राफिक प्रहरी प्रभाग र मातहतका ट्राफिक प्रहरीको निगरानी गर्ने गरिएको र पैसा खाएको वा गलत काम गरेको थाहा भए कारबाही गरिने उनले बताए । सडकमा हिँड्दै गरेका बेला वा सवारी चलाएका बेला कुनै पनि ट्राफिक प्रहरीले गलत काम गरेको देखेमा १०३ नम्बरमा सम्पर्क गरिदिन समेत डीआईजी लामाको आग्रह छ ।