सामान्यतः साहित्य, चित्रकला, संगीतजस्ता ललितकलाका विभिन्न विधासँग मात्र सम्बद्ध जस्तो लाग्ने प्रतिलिपि अधिकारसम्बन्धी राज्यको व्यवहार सम्बन्धित समाजको सभ्यताको पनि कसी हो । नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी कानुन भएर पनि त्यसको पालना गर्न गराउन समाज र सरकार दुवै गम्भीर देखिएका छैनन् । सम्भवतः यसैले व्यक्तिको सम्पत्ति सरहको प्रतिलिपि अधिकारको रक्षा गर्ने प्राथमिक कर्तव्य पूरा गराउन पनि आन्दोलन गर्नुपरेको हो ।
प्रतिलिपि अधिकार हनन चोरी वा डकैतीजत्तिकै गम्भीर अपराध हो । अरू कसैको सम्पत्ति त्यसको स्वामीलाई थाहै नदिई वा बलपूर्वक निजको अनुमतिविना उपभोग गर्नुजस्तै कुकार्य हो प्रतिलिपि अधिकार हनन । तर, नेपाली समाजले भने यसलाई सहज मानेको देखिन्छ । कुनै स्रष्टाको सिर्जना अरू कसैले अनधिकृतरूपमा प्रयोग गरेको थाहा पाउँदा पनि समाजमा कसैले चासो राखेको देखिएको छैन ।
समाज र राज्यले मात्र हैन स्रष्टा स्वयं पनि आफ्नो सिर्जनामाथिको अधिकारप्रति सजग देखिँदैनन् । कसैले आफ्नो प्रतिलिपि अधिकारको हनन गरेको देख्दा पनि बेवास्ता गर्ने स्रष्टा नै बहुसङ्ख्यामा छन् । त्यसो त प्रतिलिपि अधिकार कायम गर्न आवश्यक प्रशासनिक औपचारिकता पूरा गर्न पनि झन्झट मान्ने स्रष्टाका कारण पनि प्रतिलिपि अधिकार गर्न तम्सनेहरूलाई सहज भएको छ ।
राज्यले देखाएको यही उदासीनताका कारण स्रष्टाहरू त पीडित, शोषित भएकै छन् विज्ञान वा वाणिज्यका क्षेत्रमा पनि नयाँ अन्वेषण, अनुसन्धान र प्रयोग हतोत्साहित भएको छ । कानुन बनासकेपछि सरकारले त्यसको कार्यान्वयनका लागि आवश्यक प्रविधि र जनशक्ति पनि जुटाउनुपर्छ । नेपालका शासकहरूले भने यो सामान्य सत्य पनि कहिल्यै आत्मसात गरेनन् । यसैले प्रतिलिपि अधिकार चरितार्थ गर्ने विषयमा पनि समस्या उत्पन्न भएको हो ।
यसैले प्रतिलिपि अधिकारको संरक्षण गर्न राज्य, समाज, स्रष्टा र अन्वेषक स्वयं पनि सजग एवं क्रियाशील हुनु आवश्यक देखिन्छ । प्रतिलिपि अधिकारको सम्मान गर्ने कार्य संस्कृतिको विकास गर्न सके नेपालमा पनि सिर्जना र अन्वेषण प्रोत्साहित हुनेछ । राष्ट्रको उन्नति र वैभव डाँडाको चुचुरामा ठड्याइने सिमेन्ट र स्टिलका टावरमा हैन कला, साहित्य र ज्ञान विज्ञानमा समाजले गरेको प्रगतिमा निर्भर हुन्छ । प्रतिलिपि अधिकारको सम्मान र संरक्षणमा समाज र राज्यले ध्यान दिएर समुन्नत भविष्यको ढोका खोलौँ ।