site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आगामी बजेट लेख्ने पाँच सह-सचिव, सिलिङ १७ खर्ब

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ बजेट लेख्ने टोली तयार पारेको छ । मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय बजेट मस्यौदा लेखन टोली गठन गरिएको हो ।

मन्त्रालयको फागुन १९ को मन्त्रीस्तरीय निर्णयअनुसार टोलीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्नेछ ।

Argakhachi Cement Island Ad

घिमिरे नेतृत्वको बजेट मस्यौदा लेखन टोलीमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्मा र मन्त्रालयका प्रवक्तासमेत रहेका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुमन दाहाल छन् ।

राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बजेटको सिलिङ पठाइसकेको छ भने सम्बन्धित मन्त्रालयलाई पनि मन्त्रालयगत सिलिङ पठाइसकेको छ । अब ती मन्त्रालयले आफ्ना निकायलाई मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) मा समावेश गरेर बजेट प्रस्ताव गर्न आग्रह गर्नेछ । सरकारी नीति, राष्ट्रिय नीति तथा दीर्घकालीन योजनालाई आधार मानेर तीसँग समानान्तर हुने गरी बजेट प्रस्ताव गरिन्छ ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले सो प्रस्ताव सिलिङभित्र रहोस् भन्नका लागि अर्थले अन्य मन्त्रालयसँग छलफल गर्ने बताए । छलफलका लागि टोली गठन भइसकेको जानकारी उनले दिए ।

“मन्त्रालयबाट गठित बजेट मस्यौदा लेखन टोलीले छलफललाई अघि बढाउँछ,” दाहालले भने, “टोलीले नीति तथा कार्यक्रमको तयारी पनि गर्नुपर्नेछ । त्यसको तयारी सुरु भइसकेको छ । एक किसिमले भन्नुपर्दा बजेट तयारी सुरु भएको छ ।”

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट सिलिङ दिइसकेको छ । आयोगको मध्यकालीन खर्च संरचनाअनुसार अपेक्षित उपलब्धि हासिल गर्न सरकारले आगामी आर्थिक वर्ष १६ खर्ब ९७ अर्ब रुपैयाँको बजेट तयार पार्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १६:५६
प्रतिक्रिया दिनुहोस्