काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा राति सवारीसाधन चलाउन प्रशासनले रोक लगाएपछि त्यसको असर कोटेश्वरमा परेको छ ।
मुग्लिनको बाटो पहिरोका कारण जोखिमपूर्ण भएपछि बिपी राजमार्ग हुँदै तराई जाने सवारीको संख्या बढेकाले कोटेश्वरमा जाम बढेको ट्राफिक प्रहरीको भनाइ छ । अफिस टाइममा कोटेश्वरको जाम कौशलटारसम्म पुग्छ ।
“पहिले यो क्षेत्रमा ५ मिनेटभन्दा बढी जाम हुँदैनथ्यो । तर अहिले कोटेश्वरमा कम्तीमा एक घण्टा जाममा फस्नुपर्छ । चार लेनको बाटोमा एक किलोमिटर पार गर्न एक घण्टा लाग्छ,” कोटेश्वर चोकमा खटिएका एक ट्राफिक प्रहरीले भने, “कलंकीको रोग यता सरेको छ, मुग्लिनमा पहिरो जान्छ, यहाँ हाम्रो १२ बज्छ ।”
पहिरोको उच्च जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द गरिएको छ । नारायणगढ– मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रमा अहिले पुनर्निर्माणको काम चलिरहेको छ । चितवनका प्रहरी उपरिक्षक दीपक थापाका अनुसार बस, माईक्रो तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा क्षेत्रमा साँझ रोकिनेछ । ती सवारीहरुलाई साँझ ६ बजे रोकेर विहान ४ बजे छाडिने गरेको छ । प्रशासनले रातिको समयमा बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ ।
त्यसैको असर कोटेश्वर क्षेत्रमा देखिएको प्रहरीको भनाइ छ ।
त्यसो त समस्या कोटेश्वरमा मात्र छैन । जोरपाटीबाट सुनधारा आइपुग्न एक घण्टाभन्दा बढी लाग्छ, जबकि यो दूरी १० देखि १५ मिनेटको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले उपत्यकाका ५ स्थानमा बिहान–बेलुका अत्यधिक जाम हुन्छ । कंलकी, कोटेश्वर, बौद्ध–जोरपाटी, चावहिल–गौशाला, बानेश्वर, माइतीघर थापाथली, त्रिपुरेश्वर टेकुलगायत बढी जाम हुने क्षेत्रमा पर्छन् ।
राजधानीबाट बाहिरिने नाका कंलकी–थानकोट सडक खण्डमा पनि दैनिक १ देखि २ घण्टा जाममा फस्नुपर्छ । ट्राफिक प्रहरीका अनुसार यो सडकमा सरासर सवारी चल्ने हो भने १५ देखि २० मिनेटको बाटो हो । चाबहिल–बौद्ध–जोरपाटी सडक खण्ड पनि अत्यधिक जाम हुने क्षेत्रमा पर्छ ।
महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिग्मार लामा जामको दोष मेलम्ची आयोजना र मुग्लिन क्षेत्रको पहिरोलाई दिन्छन् । “मेलम्चीले सडक बिगारेको छ अनि मुग्लिनको पहिरोले गर्दा राति सडक बन्द हुँदा त्यसको असर काठमाडौंमा परेको छ,” लामा भन्छन्, “सडकमा सवारीसाधन उति नै हुन्, ट्राफिक प्रहरी पनि थपिएको छ, ड्युटी आवर पनि बढाइएको छ । तरपनि जाम कम हुँदैन ।”
जामको दोषी चालक पनि हुने लामा बताउँछन् । भन्छन् “नागरिकलाई लाग्छ होला, ट्राफिकले जाम खुलाउन सकेन । तर उनीहरुले सडकको अवस्था बुझ्दैनन् । चालक पनि उस्तै मूर्ख छन्, मेरो कारणले अरुले जाम खेप्नु नपरोस् भन्ने छैन, खाली हतार गर्छन् । अनि जाममा आफू पनि फस्छन् अरुलाई पनि फसाउँछन् ।”