site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीले भनेझैं निर्मलाका हत्यारानजिक प्रहरी पुगेको हो ?
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा निर्मला पन्तका हत्यारा पनि छिट्टै पक्राउ गर्ने बताए ।

यति मात्रै होइन उनले हत्याराका नजिक पुगिसकेको र अभियुक्तलाई छिट्टै कानुनको कठघरमा उभ्याउने बताए । उनले निर्मलाका बलात्कारी र हत्यारा कानुनको पञ्जानजिक पुगेको दाबी गरे । गृहमन्त्रीको यो अभिव्यक्तिपछि निर्मला हत्याकाण्डबारे फेरि चर्चा भएको छ । तर उनले दाबी गरेजस्तै प्रहरी भने हत्याराको नजिक पुगिनसकेको र अनुसन्धान जारी रहेको अधिकारीहरुको दाबी छ ।

उच्च प्रहरी अधिकारीहरु भन्छन्, “नयाँ क्लु पाइएको छैन । अनुसन्धान भने जारी राखेका छौं । तर गृहमन्त्रीज्यूले भनेजस्तो अपराधी पुगिएको छैन । नयाँ तथ्य प्रमाण जुटाउन सकिएको छैन् । गृहमन्त्रीले अनुसन्धानबारे बोल्दा सचेत हुनुपर्ने हो ।” निर्मला हत्याकाण्डको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोली सक्रिय छ ।

Dabur Nepal
NIC Asia

नेपाल प्रहरी सबैभन्दा विवादित बनेको पछिल्लो समयको सबैभन्दा चर्चित घटना निर्मला हत्याकाण्ड नै हो । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । तर साढे दुई वर्ष बितिसक्दा पनि घटनामा कसको संलग्नता थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले ०७५ भदौ ४ मा भीमदत्तनगर १९ बाँगफाटाका ३९ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो ।

निर्मलाको शरीरबाट लिइएको भेजिनल स्वाबसँग उनको डीएनए नमिलेपछि उनी छुटेका थिए । त्यसयता प्रहरीले ८० जनाको डीएनए परीक्षण गरिसकेको छ । निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही भएको भन्दै तत्कालीन प्रहरी अधिकारी बर्खास्तदेखि निलम्बनसम्म भएका थिए । उनीहरुलाई अदालतले सफाइ दिएपछि काममा फर्किसकेका छन् ।

सुरुवाती अनुसन्धानमा खटिएको अनुसन्धान टोली बर्खास्त र निलम्बनमा परेपछि गएका सबैजसो प्रहरी अधिकारीले घटनामा दिलीप विष्टको संलग्नतालाई अस्वीकार गर्दै आएका छन् । निर्मला हत्याकाण्डलाई लिएर प्रहरीभित्रै दुई धार देखिन्छन् । घटनाको व्याख्यासमेत अनुसन्धान अधिकृतले फरक-फरक गर्ने गरेका छन् ।

निर्मला अनुसन्धानबाट फर्किएका प्रहरी अधिकारीहरु भन्छन्, “गृहमन्त्रीज्यूलगायत संगठनकै उच्च अधिकारीहरु दिलीप नै हत्यारा हो भन्ने संकेत गर्नुहुन्छ । तर बलात्कार र हत्या गम्भीर विषय हो । तथ्य र प्रमाणबिना कसैलाई अपराधी हामी करार गर्न सक्दैनौं । त्यो अर्को अपराध हुन जान्छ ।”

संगठन प्रमुखले हालसम्म अनुसन्धानमा खटिएका सबै अधिकृहरुसँग छलफल गर्नुपर्ने उनीहरु बताउँछन् । लामो समय निर्मला हत्याकाण्डको अनुसन्धानमा सक्रिय भएर फर्किएका एक अधिकारीले भने, “दिलीप नै हो भनेर सुरुमा खटिएको टोलीले दाबी गर्दै आएको छ । यसमा पूरा सत्यता छैन् । हामीले पनि अनुसन्धान नै गरेको हो नि । तथ्यले पुष्टि नगरी कसैलाई अपराधी कसरी मान्ने । संगठन प्रमुखले तथ्यको गहिराइ बुझ्ने प्रयास गर्नुपर्छ । कसैको कुरा सुनेर त्यसैका आधारमा धारणा बनाएर अनुसन्धान गर्न सकिँदैन ।”

घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकाले पनि हत्यामा कसको संलग्नता थियो भन्ने ‘क्लु’ नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको हो । प्रहरीले हालसम्म अनुसन्धानका क्रममा झन्ड एक हजारको हाराहारीमा शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्ने, कल डिटेल हेर्ने काम गरेको छ । यसबाहेक निर्मलाको गाउँ आसपासमा लगत संकलनसमेत गरिएको थियो । त्यसक्रममा प्रहरीले झन्डै दुई हजार बढी घरको विवरण संकलन गरेको थियो ।

प्रहरीले संकलन गरेको विवरणमा घरमा को-को थिए, साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेसा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को-को गएलगायत विवरण संकलन थियो । तर विवरण संकलनपछि पनि आफूहरुलाई भनेजस्तो क्लु मिल्न नसकेको उनीहरुको धारणा छ । अझै पनि केही व्यक्तिबाट अनुसन्धानमा सहयोग पाउन नसकिएको प्रहरी अधिकारीहरुको गुनासो छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro