प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अरू नेताहरू र अरू राजनीतिक दलका नेता त सबै गैरजिम्मेवार भए नै जनसाधारणसमेत महामारीका बेलामा पनि जिम्मेवार देखिएनन् । राजनीतिक नेतृत्वमात्र हैन नागरिक पनि यसरी गैरजिम्मेवार भएपछि अन्ततः हुने त देशको दुर्दशा नै हो । कोभिड—१९ को संक्रमण सतहमा मत्थर भएको देखिए पनि यथार्थमा फैलिइरहेको भन्दै विज्ञहरूले सजग रहन चेतावनी दिएका छन् । नेपाली जनताले भने महामारीलाई परास्त गरेजसरी हेलचेक्य्राइँ गरिरहेका छन् । सरकारले समुदायमा परीक्षण र सम्पर्क पहिचान गर्न लगभग छाडिसकेको छ । यही कारणले संक्रमित संख्या कम देखिएको हो । तर, यसैलाई देखाएर नागरिकहरू पनि गैरजिम्मेवार हुँदा भयावह अवस्था उत्पन्न हुनसक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
संसारभर कोभिड—१९ को संक्रमणको अर्को लहर देखिइरहेको छ । कोभिड—१९ विरुद्ध खोप अभियान सुरु गरेको बेलायतमा नयाँ शक्तिशाली भाइरसको संक्रमण देखिन थालेपछि बन्दाबन्दी (लकडाउन)का थप उपायहरू अपनाउन थालिएको छ । युरोप, मध्यपूर्व र केही एसियाली मुलुकहरूले बेलायतसँग आवागमन निषेधको घोषणा गरेका छन् । कोभिड—१९विरुद्ध खोप अभियान सुरु गरेको अमेरिकामा पनि संक्रमण झन् झन् फैलेको छ । अर्थात्, गत वर्ष चीनको वुहानमा कोभिड — १९ सुरु भएको यही समयभन्दा अहिले विश्व झन् संकटमा परेको छ । कोभिड—१९ प्रतिरोधक खोपको विकास भएकाले केही आशा जगाए पनि संसारका सबै जनसंख्याले त्यसमा पनि गरिब मुलुकका विपन्न नागरिकले खोप पाउन अझै सके वर्ष दिनभन्दा बढी र नभए केही महिना त पक्कै पर्खनुपर्नेछ । यसैले नेपाली जनताले सरकार गैरजिम्मेवार भयो भन्दैमा आफू र प्रियजनलाई महामारीको पन्जामा पर्न नदिन सावधान हुनैपर्छ ।
विडम्बना, खोप नपाउँदासम्म कोभिड—१९ को संक्रमणबाट जोगिने उपाय सामाजिक दूरी कायम राख्ने र मास्कको प्रयोग गर्नु नै हो । रोग प्रतिरोधक क्षमता बढाउने घरेलु वा अन्य औषधिहरू धेरै प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव पनि पर्न सक्छ । ‘हाच्छिउँ साच्छिउँ’ गरेर वा बेसार पानी खाएर कोभिड—१९ को संक्रमण रोक्न सकिन्छ भन्ने प्रधानमन्त्री भएका मुलुकमा जनस्वास्थ्यविद््का चेतावनीको सरकार र समाजले उपेक्षा गर्दा आश्चर्य मान्नु त पर्दैन । परन्तु, कोभिड—१९ को संक्रमण र यसको घातक लक्षणका बारेमा थाहा पाएकैहरू आफ्नो र आफ्ना प्रियजनको जीवनसँगै खेलाँची गर्नेगरी लापरबाह हुनु भने आश्चर्य र चिन्ताको विषय हो । सरकारको राजनीतिक नेतृत्वले महामारीलाई कमाउने अवसरभन्दा अरू ठानेको देखिएन । तर, विषय विज्ञरहेका कर्मचारीहरूसमेत लापरबाह देखिनु देशकै दुर्भाग्य हो ।
सन् २०२० को अन्तिम सातामा क्रिसमस र ग्रेगोरियन नयाँ वर्ष मनाइँदै छ । नेपालमा युवा पुस्तामा क्रिसमसभन्दा पनि ग्रेगोरियन नयाँ वर्ष मनाउने रौस देखिँदै आएको छ । यी दुवै अवसरमा सहरी क्षेत्रमा हुने भिडभाडले कोभिड—१९ को संक्रमणको जोखिम बढाउनेछ । नागरिक नै गैरजिम्म्मेवार हुने हो भने त महामारी अनियन्त्रितरूपमा फैलने निश्चितै देखिन्छ । सरकारले त सायद अगिल्लो वर्षजस्तै बेवास्ता गर्नसक्छ तर जनसाधारण स्वयं संक्रमणको जोखिमप्रति सचेत हुनु आवश्यक देखिन्छ । विशेषगरी युवाहरूले एक वर्षको रमाइलोका लागि आफ्नो र आफ्ना प्रियजनको ज्यान जोखिममा पार्ने मूर्खता गर्नु हुँदैन । निषेध नगरे पनि सरकारले यस विषयमा जजनसाधारणलाई सावधान गराउने सन्देश दिनु उचित हुनेछ ।