site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा खोप भण्डारण गर्ने कोल्ड चेन छैन ! कोरोनाको खोप पहिला कसले पाउँछन् ? 

काठमाडौं  । विश्वका २१९ भन्दा बढी मुलुक अहिले कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन् । चीनको वुहानमा गत डिसेम्बरको अन्तिममा देखिएको नोभेल कोरोनाभाइरस संक्रमणको ११ महिना पूरा हुँदा पनि नियन्त्रणमा आउन सकेको छैन । हाल विश्व नै कोरोनाको खोपको प्रतिक्षामा छ ।  सोमबार ‘फाइजर र बायोएनटेक’ले विकास गरेको खोपको प्रारम्भिक परीक्षणमा यसलाई  ९४ प्रतिशत सफल मानिएको छ ।

सोमबार ९० प्रतिशत सफल मानिएको खोपको परीक्षण मंगलबार ९४ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसले विश्वको ध्यान तानेको देखिन्छ । उक्त सो खोप अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीका ४३ हजारभन्दा बढी व्यक्तिमा परीक्षण गरिएको र कुनै सुरक्षासम्बन्धी जोखिमको कुरा नउठेको बताइएको छ ।  

यता, नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पनि कोरोनाविरुद्धको खोप जिटुजी प्रक्रियाद्वारा खरिद गर्नका लागि स्वास्थ्य, अर्थ र परराष्ट्र मन्त्रालयका सचिव रहेको तीन सदस्यीय समिति गठन गरिसकेको छ । तर, त्यसअघि नै सरकारले नेपालमा कोरोना खोप ल्याउन र तयारी बारेमा सुझाव दिन ५ सदस्य समिति गठन गरेको थियो । 

Argakhachi Cement Island Ad

खोप महाशाखा प्रमुख एव्म खोप समितिका सदस्य डा. झलक शर्मा गौतमले अन्तिम चरणमा सबै राम्रो भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत स्वीकृत गरेको खोप समितिले सरकारलाई खोप सिफारिस गर्ने बताउँछन् ।  उनले भने, “हाम्रो समितिले कुन खोपको विकासको अवस्था कस्तो छ भन्ने विश्लेषण गरिरहेको छ ।”
जुन कम्पनीले खोप उत्पादन गरेका छन् सोही कम्पनीले तेस्रो चरणको प्रारम्भिक डाटा अहिले सार्वजनिक गरेको उनले जानकारी दिए । 

उनले भने, “अहिले नै ‘फाइजर र बायोएनटेक’ ले विकास गरेको खोपको अन्तिम तथ्य आइसकेको छैन्, अहिले पनि प्रक्रियामै छ ।” कोरोनाभाइरसविरुद्धको खोप अझै बनिनसकेको अवस्था नभएकाले ठ्याकै यही खोप ल्याउनुपर्छ भनेर नेपालले नसोचेको उनको भनाइ छ ।  उनका अनुसार नेपालमा प्रयोग गरिने खोपहरु विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकै खोप हुनुपर्छ वा आकस्मिक अवस्थामा प्रयोग गर्न उपयुक्त भनेको हुनुपर्छ । समितिले बजारमा आउने खोप नेपालका लागि उपयुक्त छ भनेर सिफारिस गर्ने उनले जानकारी दिए । 

उनका अनुसार कुनै खोप बनेको अवस्थामा त्यो खोप कम्पनीको तर्फबाट दर्ता प्रक्रियामा जानुपर्छ । खोप बनेर आइसकेको अवस्थामा खोप सल्लाहकार समितिले सिफारिस गरिसकेपछि स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको राष्ट्रिय खोप समितिले त्यो खोप स्वीकृत गर्छ ।  मन्त्रालयले यो खोप प्रयोग गर्छौं भनेर निर्णय गरेपछि मात्र कति खोप कहिले र कति ल्याउने भन्ने खरिद प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । 

उनका अनुसार अन्य खोप ल्याउँदा जस्तो प्रक्रिया पूरा गर्नुपछ कोरोनाविरुद्धको खोप नेपालमा आउँदा पनि सोही प्रक्रिया पूरा गरेर ल्याउनुपर्ने हुन्छ ।

यो खोपसहित १० वटा खोपहरु तेस्रो चरणमा पुगेका छन् । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका यूके, मोडेर्ना अमेरिका, क्यानसिनो चीन, गामालेया रिसर्च इन्स्टिच्यूट रुस, जान्ससेन, बेइजिङ् इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म चीन, सिनोभाक र बुटानटान ब्राजिल, वुहान इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्स र सिनोफार्म चीन र नोभाभाक्स अमेरिका छन् । 

नेपालमा भण्डारण गर्ने कोल्ड चेन नै छैन 

‘फाइजर र बायोएनटेक’ ले विकास गरेको खोपलाई माइनस ८० डिग्री सेल्सियस  तापक्रममा सुरक्षित राख्नु पर्छ । तर, सो खोप सुरक्षित र प्रभावकारी देखिएमा नेपालमा ल्याएर राख्ने कोल्ड चेन स्टोर छैन । स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखाका प्रमुख डा. गौतमले उक्त खोप राख्ने उपकरण अहिले नरहेको बताए ।

उनका अनुसार यो खोप स्टोर गरेर राख्ने अल्ट्रा कोल्ड चेन कम विकसित धेरै देशहरुमा छैन । यदि उक्त खोप सुरक्षित र प्रभावकारी भएमा अन्य खोपहरु नभएमा नयाँ संरचना तयार गर्नुपर्ने हुन सक्छ । त्यसपछि कोभ्याक्सलाई सिफारिस गर्नुपर्ने हुन्छ । जसले गर्दा प्रक्रिया लामो हुन सक्ने उनको भनाइ छ । 

“नेपालमा यो खोप बनेर आएको अवस्थामा सुरुमा राख्ने ठाउँ छैन, त्यो बनाउनुपर्ने हुन्छ भने यो खोप राख्न विशेष प्रकारका फ्रिज चाहिन्छ,” उनले भने, “अहिले नेपालमा प्रयोग भइरहेका खोपहरु २ देखि ८ डिग्री सेन्टिग्रेटमा राखिँदै आएको छ ।”

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र विश्वव्यापी भ्याक्सिन साझेदार गाभीको नेतृत्वमा  सञ्चालित कोभ्याक्सले नेपाललगायत कम विकसित देशहरुलाई कोरोनाभाइरसविरुद्धको खोप सहयोग गर्नेछ । नेपालमा कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ । तर, पहिलो चरणमा  ३ प्रतिशत खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोनाविरुद्धको खोपको नेपालमा पहिलो प्राथमिकता फ्रन्टलाइनरलाई

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोपको पहिलो प्राथमिकतामा फ्रन्टलाइनरलाई दिने जनाएको छ ।  स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई दिने तालिका बनाएको छ । त्यसपछि थप जोखिमको तहलाई दिइनेछ ।  सोहीअनुसार अन्य जोखिम समूहका व्यक्तिलाई दिने समेत मन्त्रालयले जनाएको छ । 

यी औषधि नेपालमा कोरोनाका बिरामीमा क्लनिकल ट्रायलमा

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार नेपालमा हाल नेपालमै उत्पादित फाभिर २०० नामको औषधिको क्लिनिकल ट्रायल सुरु भएको छ ।  उनका अनुसार फाभिर २०० नामक औषधि उपत्यकाका विभिन्न अस्पतालहरुमा क्लिनिकल ट्रायलका लागि सुरु भएको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार  फाभिर २०० नामक औषधिले कोरोनाका बिरामीमा कस्तो फाइदा गरिरहेको छ त्यसको नतिजा आउने क्रममा छ । 

नेपालमा कोरोनाभाइरस कुन प्रकारको छ भनेर जिन सिक्वन्सीको अध्ययन सकिएको छ । अर्को एन्टिबडी परीक्षण (फिरो इपिडिमोलोजी), प्लाज्मा थेरामी र रेम्डिेसिभिरको क्लनिकल ट्रायल भएको परिषदले जनाएको छ । 

सदस्य सचिव डा. ज्ञवालीका अनुसार कोरोनाका कारण जटिल अवस्थामा पुगेका बिरामीलाई प्रयोग गरिएको रेम्डिेसिभिरले बिरामीमा कुनै पनि असर देखिएको छैन । यसको प्रयोग गर्ने बिरामीमा लक्षणहरु घटेको र बसाइको अवधिसमेत पनि घटेको देखिएको छ । नेपालमा रिकभरी ट्रायल अक्सफोर्ड गु्रपसँग मिलेर एडिथ्रे माइसिनर र पोसिलिजिन्याप नामक एन्टिभाइरल औषधि क्लनिकल ट्रायल गर्ने तयारीमा रहेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  ०८:५४
प्रतिक्रिया दिनुहोस्