site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आफ्नो समूहको ‘अम्ब्रेला’ बन्न सक्लान् रामचन्द्र पौडेल ?

काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरस महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिएसँगै नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ । आगामी फागुन ७–१० का लागि निर्धारण गरिएको महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका लागि नेताहरु आ–आप्mनै तरिकाले आन्तरिक तयारीमा अगाडि बढिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवादेखि डा. शेखर कोइरालासम्मले आशन्न महाधिवेशनमा सभापति पदका लागि उमेदवारी दिन तयारी गरिरहेका छन् । उक्त तयारीमा नेता रामचन्द्र पौडेल, उपसभापति नेता विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि छन् ।

युवा नेता गगत थापा सभापति देउवाविरुद्ध ‘सिनियर’ नेताहरुमध्ये कसैले पनि उमेदवारी दिने आँट नदेखाए आफू सभापतिमा उठ्ने बताउँदै आएका छन् । यस्तै अर्का युवा नेता कल्याणकुमार गुरुङ पनि सभापतिमा उठ्ने दाबी गर्दै आएका छन् । यस्तै १३ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उमेदवार बनेका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीदेखि देउवाका विश्वासपात्र मध्येमा पर्ने केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ पनि आशन्न निर्वाचनमा आफू पनि सभापति पदमा उमेदवारी दिने बताइरहेका छन् ।

Argakhachi Cement Island Ad

कांग्रेसमा थुप्रै आकांक्षी देखिए पनि महाधिवेशन प्रक्रिया सुरु भएपछि कति जनाले सभापतिमा उमेदवारी दिने हुन् भन्ने कुरा अहिले नै ठोकुवा गर्न सम्भव देखिँदैन । तर, कांग्रेसमा स्पष्ट रुपमा देखिएका गुटलाई आधार मानेर हेर्दा आशन्न महाधिवेशनमा तीनजना सभापति पदका उमेदवार हुन सक्ने अनुमान भने लगाइए पनि यसपल्ट धेरै उमेदवार हुन सक्ने नेताहरु बताउँछन् ।

देउवा, पौडेल र सिटौला नै फेरि पनि उमेदवार हुन सक्ने केही नेताले आकलन गरे पनि कांग्रेस नेताहरुले भने अहिले सभापतिका आकांक्षी धेरै हुने अनुमान गर्छन् । तीनै जना १३ औं महाविधेशनमा पनि सभापति पदमा उमेदवार बनेका थिए । पहिलो चरणको निर्वाचनबाट सबैभन्दा थोरै मत ल्याएपछि सिटौला निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए ।

निर्वाचन प्रक्रियाबाट बाहिरिएपछि सिटौलाले देउवालाई सघाउँदा पौडेल पराजित भएका थिए । सिटौलाको साथ र समर्थनमा देउवालाई पौडेल पराजित गर्न सहज बनेको थियो । तीनैजनाले आशन्न महाधिवेशनमा सभापति पदमा लड्ने घोषणा औपचारिक रुपमा गरिनसके पनि उनीहरु आ–आफ्नो समूहबाट सभापति पदका लागि फेरि उमेदवार बन्ने निकटस्थहरु बताउँदै आएका छन् ।

यद्यपि, वरिष्ठ नेता पौडेललाई १३ औं महाधिवेशनझै समूहको नेतृत्व गर्दै उमेदवार बन्न भने कठिन देखिएको छ ।  १३ औं महाधिवेशनमा उनीनिकट रहेका नेताहरु पनि सभापतिको दौडमा देखिएसँगै पौडेललाई आगामी महाधिवेशनमा आफ्नो समूहबाट एक्लो उमेदवार बन्न कठिन देखिएको हो ।
उनी आफ्नो समूहका नेताहरुको व्यवस्थापन गरेर १३ औं महाधिवेशनझैँ एकल उमेदवार बन्ने आशामा भने बसेका छन् । 

१३ औं महाधिवेशन झै समूहको नेतृत्व गरेर उमेदवार बन्ने अवस्था नदेखिए पौडेल उमेदवार नबन्ने कांग्रेस नेताहरुको बुझाइ छ । तर पौडेलले अहिले पनि सभापतिको उमेदवारका लागि तयारी जारी राखेका छन् ।  समूहको नेतृत्व गरेर उमेदवार बन्ने अवस्था नदेखिए अत्यन्तै कमजोर प्रतिष्पर्धीका रुपमा प्रतिष्पर्धा गर्नुपर्ने भएका कारण पौडेल आशन्न महाधिवेशनमा सभापति पदका लागि उमेदवार नबन्ने एक केन्द्रीय सदस्यले बताए ।

“१३ औं महाधिवेशनमाझैँ टोटल अम्ब्रेला हुन पाए उहाँको उमेदवारी रहन्छ । नत्र १३ औं महाधिवेशनमा आफ्नै समूहका अन्य नेताहरु पनि उमेदवार भए उहाँको उठ्ने सम्भावना ज्यादै थोरै देखिन्छ,” तीन नेताले भने, “किनकि यस्तो अवस्थामा उहाँलाई कोइरालाहरुको समर्थन रहँदैन, कोइरालाहरुले साथ छोड्दा उहाँ निकै कमजोर प्रतिष्पर्धीका रुपमा देखिनुहुन्छ ।”

वरिष्ठ नेता पौडेल आफू पनि आशन्न महाधिवेशनमा सभापति देउवाविरुद्ध एकमात्र उमेदवार दिने अवस्थामा बाधा नबन्ने बताउँदै आएका छन् ।  देउवाविरुद्ध एकमात्र उमेदवार दिन नसकेको अवस्थामा भने आफूनै समूहको नेता भएको उनको दाबी रहँदै आएको छ । तर, पौडेलनिकट केन्द्रीय सदस्य नविन्द्रराज जोशी भने अहिले नै उमेदवार बन्ने नबन्नेबारे प्रतिक्रिया दिने बेला नभएको बताउँछन् । कोरोना महामारीका कारण महाधिवेशन हुने–नहुने सुनिश्चित नभएका कारण पौडेलको उमेदवारीका बारेमा टिप्पणी गर्न नसकिने उनको भनाइ छ ।  

“त्यो बेला भइसकेको छैन । मिडियाले विष्लेषण गर्ने कुरा एउटा हो,” समूहको नेतृत्व गर्न नपाए पौडेलको उमेदवारी के हुन्छ भन्ने प्रश्नमा नेता जोशीले भने, “महाधिवेशन सुनिश्चितनै छैन । सुनिश्चित भएपछि मात्रै यो बारे प्रतिक्रिया दिन सकिन्छ ।”
 
 


 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्