site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा सभापतिभन्दा महामन्त्रीका आकांक्षी धेरै 

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण नेपाली कांग्रेसले आगामी फागुनका लागि निर्धारण गरेको १४ औं महाधिवेशन अनिश्चित बनेको छ । तथापि, कांग्रेसको आगामी नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा भने आ–आप्mनै ढंगले अगाडि बढिरहेका छन् ।
सभापतिका लागि शेरबहादुर देउवा,  रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालासँगै १३ औं महाधिवेशनमा ‘तेस्रो धार’ का रुपमा उदाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि रहेका छन् ।

युवा नेता गगत थापा सभापति देउवाविरुद्ध ‘सिनियर’ नेताहरुमध्ये कसैले पनि उमेदवारी दिने आँट नदेखाए आफू सभापतिमा उठ्ने बताउँदै आएका छन् । यस्तै अर्का युवा नेता कल्याणकुमार गुरुङ पनि विभिन्न सञ्चार माध्यमहरुसँगको कुराकानीका क्रममा सभापतिमा उठ्ने दाबी गर्दै आएका छन् ।

तर, महामन्त्री पदमा उमेदवारी दिने विषयमा भने अन्य आकांक्षीहरुले खुलेर कुरा भने गरिरहेका छैनन् । गगन थापा र डा. मिनेन्द्र रिजाल भने आशन्न महाधिवेशनका लागि आफूलाई महामन्त्रीको आकांक्षीका रुपमा प्रस्तुत गरिरहेका छन् ।

फागुनका लागि निर्धारित महाधिवेशनको टुंगो एकिन रुपमा लागिनसकेका कारण अन्य आकांक्षीहरु खुलेर दावी भने गरिरहेका छैनन् । यद्यपि, उनीहरु आफूनिकटका नेता–कार्यकर्ताका माझमा भने आफूलाई महामन्त्रीका रुपमा भने प्रस्तुत गरिरहेका चर्चा चलेको छ ।

महामन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका नेताहरुको संख्या संस्थापन समूहमा बढी छ । संस्थापन समूहबाट सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, एनपी साउद, रमेश लेखकले आकांक्षा व्यक्त गरिरहेका छन् ।

उनीहरु आफूनिकटका व्यक्तिहरुसँग १४ औं महाधिवेशनमा संस्थापन समूहबाट आफू महामन्त्री पदमा उठ्ने बताइरहेका कांग्रेस कार्यकर्ताहरु माझ चर्चा छ । नेता रामचन्द्र पौडेलको समूहबाट केन्द्रीय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, नविन्द्रराज जोशी, धनराज गुरुङ, डा. चन्द्र भण्डारीले महामन्त्रीमा उमेदवार बन्ने चाहना राखेको बताइन्छ ।

डा. महतले आफू नेता पौडेलपछिको सिनियर नेता भएकाले नेतृत्वमा पनि दाबी रहेको बताएका छन् । उनले देउवाविरुद्ध टिम मिलाउन सकेमा महामन्त्रीमा पनि बस्न तयार रहेको आफू निकट नेताहरुसँग बताउँदै आएका छन् ।

तर, कांग्रेस केन्द्रीय सदस्य स्रोतले पौडेल समूहबाट सिनियर नेताहरु महामन्त्रीको उमेदवार बन्ने सम्भावना न्यून रहेको दाबी गरेको छ । “डा. महत र केसीले महामन्त्रीका लागि चाहना राखेको भन्ने कुरो छ । तर, उहाँहरु महामन्त्रीभन्दा पनि पौडेल समूहबाट उपसभापतिका उमेदवार बन्ने सम्भावना हो ।”

ती नेताका अनुसार पौडेल समूहबाट महामन्त्रीका प्रवल दावेदारका रुपमा जोशीलाई हेरिएको छ । “बाँकी रहेकामध्ये धनराज गुरुङलाई सहमहामन्त्रीमा सहज हो । चन्द्र भण्डारीले यताउता गरेका कारण उहाँको स्ट्रेन्थ पुग्दैन भन्ने मेरो विश्लेषण हो,” उनले भने, “पौडेलसँग अत्यन्तै नजिक भएका कारण नविन्द्रराज जोशी महामन्त्रीको उमेदवारका लागि प्रवल दावेदार देखिनुहुन्छ ।”

केन्द्रीय सदस्य जोशीले बाह्रखरीसँगको कुराकानीमा महामन्त्रीको उमेदवारका रुपमा आफूले आकांक्षा राखेको प्रतिक्रिया दिए । “अहिलेनै घोषणा गरिहाल्ने बेला भएको छैन । म साथीहरुसँग सरसल्लाह भने गरिरहेको छु,” उनले भने, “उमेदवारीको चाहना राख्नु कुनै नयाँ कुरो भने होइन ।”

आशन्न महाधिवेशनमा सभापति पदका लागि उमेदवारीको तयारीमा रहेका महामन्त्री डा. कोइराला समूहबाट केन्द्रीय सदस्य डा. रिजाललाई महामन्त्री पदका एक्ला उमेदवारका रुपमा हेरिएको छ ।

उनी पनि देउवाको विरुद्धमा एउटामात्रै टिम बनाउनुपर्ने पक्षमा उभिँदै आएका छन् ।  यस्तै ‘तेस्रो धार’ बाट महामन्त्रीमा केन्द्रीय सदस्य थापा र प्रदीप पौडेल देखिएका छन् । थापाले १३ औं महाधिवेशनमा पनि सोही समूहबाट महामन्त्री पदमा आप्mनै ससुरा केसीविरुद्ध उमेदवारी दिएका थिए ।

पौडेल भने १३ औं महाधिवेशनपछि मात्रै पूर्वमहामन्त्री सिटौलाले नेतृत्व गरेको ‘तेस्रो धार’ मा समाहित भएका हुन् । उनी सिटौलाका प्रिय पात्रका रुपमा चिनिन्छन् । नेता पौडेल आफूनिकटका व्यक्तिहरुसँग सिटौलाले सभापतिमा उमेदवारी दिए आफू महामन्त्रीमा उठ्ने बताउँदै आएका स्रोतको भनाइ छ ।

“गगन थापा सिटौला समूहबाटै महामन्त्री लड्नु हुन्छ कि हुन्न भन्नेमा संशय छ । यस्तो अवस्थामा हाम्रो टिमबाट महामन्त्रीको उमेदवार प्रदीप पौडेलनै हो,” सिटौलानिकट एक विद्यार्थी नेताले भने । केन्द्रीय सदस्य पौडेलले पनि आफू महामन्त्री पदको उमेदवारका लागि तयारी गरिरहेको प्रतिक्रिया दिएका छन् । 

“तयारी गरिरहेको छु, लड्ने चाहना पनि हो,” उनले बाह्रखरीसँग भने, “तर, यो सबै कुरा महाधिवेशनमा समीकरण कस्तो बन्छ भन्ने कुरामा निर्भर पर्छ ।”

फाइल तस्बिर 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro