काठमाडौं । गएको वैशाख २१ गते बेलुका ७ बजे नयाँ शक्ति नेपालका तर्फबाट नागार्जुन नगरपालिका–७ का वडाध्यक्ष उमेदवार मदन गिरी आफैँ फरार भए अनि आफू अपहरणमा परेको भन्दै पार्टीका नेतालाई खबर गरे । नेताहरुले प्रहरीलाई खबर गरे । स्थानीय तहको निर्वाचनका उमेदवार नै अपहरणमा परेको उजुरी परेपछि काठमाडौं प्रहरीमा खैलाबैला मच्चियो । प्रहरीले काठमाडौं उपत्यकाभर छापा मार्दै खोजी कार्य गर्यो तर पत्तो लागेन ।
तर, अपहरणमा परेको भनिएका गिरी दुई दिनपछि आफैँ गोदावरीमा फेला परे । अपहरणकारीलाई मुक्का हानेर गोदावरीको जंगलबाट भागेको भन्दै प्रहरीलाई झुक्याएका गिरीको बारेमा अनुसन्धान गर्दै जाँदा युवतीको पछि लागेर आफैँ गायब भएको रहस्य खुल्यो ।
झापाको बिर्तामोड नगरपालिका–५ की बबिता बस्नेत गएको जेठ ११ गते एकाएक गायब भइन् । बबिताकै नम्बरबाट मकवानपुर मनोहरी गाउँपालिका–४ का विष्णुबहादुर गोतामेले बबिताका दाइ कुलमणि बस्नेतलाई फोन गरेर १० लाख फिरौती रकम मागे । बबिताको परिवार फिरौती लिएर भेडेटार पुग्यो । तर, अपहरणकर्ताले फिरौती रकम १० बाट बढाएर ३० लाख पुर्याए । बबिताकै अगाडि गोतामेले श्रीमान्लाई फोन गरेर ‘रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीको किनारमा भेटाउँछस्’ भन्दै आएका थिए ।
बबिताका परिवारले उनी हराएको बारेमा ११ गते नै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पनि अनुसन्धान गर्दै थियो । प्रहरीले परिवारको सहयोगमा रकम बुझाउने बहानामा फिरौती रकम माग गर्ने गोतामेलाई पक्राउ गर्यो । अनुसन्धान गर्दै जाँदा बबिता आफैं मिलेर रकमको लागि अपहरणको नाटक गरेको रहस्य खुल्यो ।
शनिबार दिउँसो विभिन्न व्यवसायबाट डुबेर ऋण तिर्न नसकी लुक्दै आएका एक दम्पतिलाई ऋणीले रकम असुल गर्न विप्लव माओवादीको प्रयोग गरी अपहरण गरे । गोंगबुबाट एक दम्पती अपहरणमा परेको सूचना आएपछि महानगरीय अपराध महाशाखाले अनुसन्धान सुरु गर्यो । घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले विप्लव माओबादीको कब्जामा रहेका गोपालबाबु श्रेष्ठ र कविता दाहाललाई शंकरदेव क्याम्पस क्षेत्रबाट अपहरणमुक्त गर्यो । दम्पती अपहरण गर्ने विप्लव माओवादीका कार्यकर्ता शक्ति विश्वकर्मा र अञ्जु भारती पनि पक्राउ परे ।
श्रेष्ठ र दाहाललाई अपहरण गर्न लगाउने काठमाडौं सुन्धाराका दम्पती मदनकृष्ण महर्जन र अञ्जु महर्जन पनि तानिए । घटनाको अनुसन्धान गर्दै जाँदा अपहरणमा परेका दम्पतीको अगाडि नै उजुरी परेको रहेछ । अन्ततः उनीहरु पनि दोषी देखिए र थुनामा बस्नुपर्यो ।
आफन्तलाई ठग्ने मनसायले अपहरणमा परेको नाटक गर्नेहरुका कारण प्रहरीलाई हैरानी हुने गरेको छ । ऋणमा डुबेको रकम उठाउने देखि आफ्नै परिवारका सदस्यलाई ठगी गर्ने मनसायले अपहरणका नाटक गर्ने गरेका घटना बाहिर आउने गरेका छन् । यस्ता घटना दिन दिनै बढ्न थालेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य भन्छन्, “अपहरणमा परेको भन्दै उजुरी पर्छ, अनुसन्धान गर्दै जाँदा कोही भन्दा कोही कम हुँदैनन् । फसेको पैसा उठाउन पनि अपहरणको नाटक गर्ने धेरै छन् ।” कतिपय अवस्थामा त अपहरणमा पर्नेलाई नै थुनामा राख्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।