site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 दसैंअघि बस्दैन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक !

काठमाडौं । आसन्‍न १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको छ । केन्द्रीय कार्यसमितिमा रहेका नेताहरु कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका कारण बैठक अनिश्चत बनेको हो ।

कांग्रेस पदाधिकारी स्रोतले दसैं अघि केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना नरहेको जानकारी दिएको छ । “आजका लागि बोलाइएको बैठक पूर्वकोषाध्यक्षको निधनको शोकमा स्थगित गरिएको हो,” ती पदाधिकारीले भने, “पार्टीका नेताहरु कति जना आफैँ संक्रमित हुनुभएको छ, कति जना घर–परिवारका सदस्य संक्रमित देखिएपछि आइसोलेनमा बस्नुभएको छ । यस्तो अवस्थामा दसंै अगाडि बैठक बस्ने सम्भावना देखिदैन् ।”

असोज १९ गतेका लागि तय भएको बैठकका लागि असोज १५ गते सानेपामा गरिएको परीक्षणमा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठसँगै केही कर्मचारी र केही नेताको सचिवालयमा रहेका व्यक्तिहरुलाई कोरोना संक्रमण देखिएको थियो ।

यस्तै काठमाडौं बाहिर परीक्षण गरेकामध्ये केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा पनि संक्रमण देखिएको थियो । यद्यपि, असोज १८ गते पुनः परीक्षणका क्रममा चौरसियाको रिपोर्ट नेगेटिभ आएको थियो ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गत शुक्रबारबाट होम आइसोलेसनमा बसेका छन् । उनी घरमा कार्यरत एक कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका हुन् ।

“मेरो घरमा एक कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएकाले केही दिनको लागि आइसोलेनसनमा रहने छु । म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन,” नेता पौडेलले शुक्रबार बेलुकी आफू आइसोलेसनमा बसेको जानकारी दिँदै ट्विट गरेका थिए ।

“पूर्वकोषाध्यक्षको निधनको शोकमा आजका लागि स्थगित गरिएको बैठक भोलि बस्न पनि सकिन्थ्यो । तर, पार्टीकै वरिष्ठ नेता बैठकमा सहभागी हुने अवस्था नदेखिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भयो,” पदाधिकारी स्रोतले बाह्रखरीसँग भन्यो । यद्यपि, कांग्रेसले औपचारिक रुपमा भने बैठक अनिश्चतकालका लागि स्थगित भएको जानकारी भने गराएको छैन ।

कांग्रेसले आज (आइतबार) का लागि बोलाएको बैठकमा महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकाका संशोधनका लागि एजेन्डा पेस गरेर छलफल गर्ने तयारी गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबाहेक अधिकांश पदाधिकारीदेखि केन्द्रीय सदस्यहरु पूर्वनिर्धारित मितिमा पार्टीको महाधिवेशन गर्न सम्भव नभएको बताउँदै आएका छन् ।

गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको अन्तिम मिति फागुन ७–१० लाई यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो ।

नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । कार्यतालिकाअनुसार कार्यसम्पादन नहुनुलाई कांग्रेसले कोभिड–१९ को महामारीलाई देखाउँदै आएको छ ।

कार्यतालिकाअनुसार पार्टीका आन्तरिक संरचनाहरु समायोजन हुन नसक्दा क्रियाशील सदस्यता नवीकरण र वितरणको काम पनि रोकिएको छ । जसले महाधिवेशन कार्यतालिकानै प्रभावित बनेको छ । 

केन्द्रीय कार्यसमिति बैठकले विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।  

कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित समयावधिभित्र समायोजन र क्रियाशील सदस्यता नवीकरण तथा वितरण गर्न नसकिएका कारण कांग्रेसका नेताहरु पछि परिमार्जन गरिएको महाधिवेशन कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने बताउँदै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro