site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा पदाधिकारी थप्‍ने कसरत ! देउवा भन्छन्- साथीहरुको सहमतिमा राख्‍न सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका आसन्‍न १४औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी धेरै देखिएका छन् । कांग्रेसमा सभापतिबाहेकका पदमा अहिले नै नेताहरुले सार्वजनिक रुपमा दाबी गरिसकेका नभए पनि भित्री आकांक्षा थुप्रैमा देखिन्छन् ।

कांग्रेसमा दोस्रो र तेस्रो तहका नेताहरु आफूनिकटका नेता-कार्यकर्ताहरुसँग पदाधिकारीमा चुनावी प्रतिस्पर्धा गर्ने आकांक्षा भने राख्दै आएका छन् । यसरी आकांक्षा राख्‍नेमा संस्थापनदेखि तेस्रो धारसम्मका नेताहरु छन् । पदाधिकारीका आकांक्षी धेरै देखिएपछि संस्थापन र संस्थापनइतर समूहमा प्रभाव राख्‍ने केही नेताहरु आगामी महाधिवेशनमा पदाधिकारी थपको व्यवस्था गर्न आ-आफ्नो समूहमार्फत सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन लागेका छन् ।

सभापति देउवानिकट एक केन्द्रीय सदस्यले आगामी महाधिवेशनमा पार्टी सभापतिले मनोनीत गर्ने गरी केही पदाधिकारी थपका लागि प्रयास भइरहेको जानकारी दिए । उनले एक उपसभापति, एक महामन्त्री र एक सह-महामन्त्री सभापतिले मनोनीत गर्न पाउनुपर्ने व्यवस्था विधानमा गरिनुपर्ने ‘लबिइङ’ चलिरहेको बताए ।

अहिले कांग्रेसको विधानमा कोषाध्यक्षबाहेकका पदाधिकारीहरु निर्वाचित हुने व्यवस्था छ । कांग्रेसले विधान परिमार्जन गरेर सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह-महामन्त्रीहरु निर्वाचनबाट चयन गर्ने प्रावधान राखेको छ । यसअघि कांग्रेसको विधानमा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिले चयन गर्ने विधानमा व्यवस्था थियो । परिमार्जित विधानअनुसार अब कोषाध्यक्षबाहेकका पदाधिकारीहरु निर्वाचनबाट चयन हुनेछन् ।

तर, कांग्रेसका केही नेताहरु सबै पदाधिकारी निर्वाचनबाट चयन भएपछि सभापतिलाई कार्यसम्पादन गर्न असहज हुने भन्दै मनोनीत पदाधिकारीको पनि व्यवस्था गरिनुपर्ने भनेर ‘लबिइङ’ मा लागेका छन् । जसको पुष्टि सभापति देउवा स्वयंले गरेका छन् । उनले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा पार्टीले आयोजना गरेको ‘भर्चुअल’ अन्तर्क्रियामा पदाधिकारी थप्‍न पार्टीमा आवाज उठिरहेको बताएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयले भदौ २४ गते आयोजना गरेको ‘बीपी विचार : नेपालको समुन्‍नतिको मूल बाटो’ विषयक ‘भर्चुअल’ अन्तर्क्रियामा सभापति देउवाले विधानमा अहिले व्यवस्था गरिएको पदाधिकारी संख्या बढाउन नेताहरुले माग गरिराखेको जानकारी दिए । उनले सबैको सहमतिमा पदाधिकारी थप्‍न सकिनेसमेत बताएका थिए ।

“अहिले अधिवेशनमा हामीले समावेशी सह-महामन्त्रीहरु बनाएका छौं । हामीले आदिवासी, जनजाति, थारु, मुस्लिम सबैलाई आरक्षण दिएका छौं,” सभापति देउवाले भने, “केही साथीहरुले खुलामा पनि सहमहामन्त्री दिनुर्‍यो भन्दै हुनुहुन्छ । सबै साथीहरुको सहमतिमा आगामी महाधिवेशनमा सहमहामन्त्रीहरु राख्‍न सकिन्छ, यही भन्‍ने छैन ।”  

आगामी महाधिवेशनबाट पदाधिकारी थपको व्यवस्था गर्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सकारात्मक रहेका उनीनिकट एक केन्द्रीय सदस्यले बताएका छन् । समूहमा आकांक्षीहरु धेरै भएका कारण नेता पौडेल पदाधिकारी थपको विषयमा नकारात्मक नहुने ती नेताको भनाइ छ । 

यस्तै महामन्त्री शशांक कोइराला पनि विधान परिमार्जन हुनु अगावैदेखि केही पदाधिकारी मनोनीतको व्यवस्था राखिनुपर्ने पक्षमा थिए । सभापतिलाई कार्यसम्पादनमा सहज बनाउन पनि केही पदाधिकारी मनोनीतको व्यवस्था गरिनुपर्ने उनको ‘लबिइङ’ थियो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टीको विधान परिमार्जनका क्रममा केही पदाधिकारी मनोनीतको व्यवस्था गरिनुपर्ने माग उठेको र छलफलसमेत भएको जानकारी दिए । उनले पछिल्लो समय फेरि केही पदाधिकारी थप्नुपर्ने विषयमा भइरहेको ‘लबिइङ’ बारे भने अनभिज्ञता प्रकट गरे ।

“हामीले विधान परिमार्जन गर्ने क्रममा केही पदाधिकारी मनोनीतको व्यवस्था राखिनुपर्छ भनेर कुरो उठेको हो,” नेता लेखकले बाह्रखरीसँग भने, “तर, अहिले फेरि यो विषयमा के भइरहेको छ भन्‍नेबारे मलाई जानकारी छैन ।”

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पदाधिकारी थपका विषयमा छलफल नभएको बताएका छन् । “हाम्रो पदाधिकारी १४-१५ जना पुग्‍ने भइसक्यो । अहिले पार्टीका पदाधिकारी योभन्दा बढी बढाउने गरी छलफल भएको छैन,” उनले भने, “छलफल हुन सक्छ, त्यो अलग कुरा हो । तर, अहिले भइरहेको छैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro