नेपाली कांग्रेस जीवन र मृत्युको दोसाँधमा छ । भन्दा कठोर लाग्छ तर स्थितिबोधले यस्तै बताउँछ । इतिहास रचेका विश्वको थुप्रै ऐतिहासिक पार्टी इतिहासको गर्तमा पुरिएका उदाहरण छन् । नब्बेको दशकदेखि शुरु भएको कम्युनिस्टहरुको पतन यस्तै शृंखलाको एउटा घटना हो । नेपालकै प्रजापरिषद्को अब इतिहासमात्र छ । महात्मा गान्धी र जवाहरलाल नेहरुजस्ता विश्वप्रसिद्ध राजनेताहरु जन्मे, जन्माएको भारतको भारतीय राष्ट्रिय कांग्रेस यति बेला जीवन मरणको संघर्षमा छ । नेपाली कांग्रेस कतै, यस्तै दुर्दान्त दोसाँधमा त छैन ?
नेपाली कांग्रेस यतिबेला विभिन्न कोणको चर्चामा छ । कांग्रेसका नेता, कार्यकर्ताभन्दा बढी स्वतन्त्र पर्यवेक्षक भनिने राजनीतिक विश्लेषकहरुले सामयिक दृश्यबाट चर्चा चलाएका छन् । चर्चा चिन्तामा छ, चिन्तन र विचारमा छ । कांग्रेसको यथास्थिति वा भावी गति र समयलाई बोल्न, भन्न सक्ने रुपान्तरणको सोचमा चर्चा निःसृत छ ।
कार्यकर्ताबीच आन्तरिक जोडघटाउको हिसाबकिताब होला तर त्यसभन्दा माथि प्रजातान्त्रिक तह गहिरो अभिरुचिका साथ व्यक्त हुँदैछ । यसै प्रसंगमा कांग्रेसको सान्दर्भिकता वा विघटन भन्ने जस्ता सबाल उठाइएका छन् । यस्ता सबाल किन उठे ? खासमा तलदेखि माथिसम्मको कांग्रेस नेतृत्व र नेतृत्वमा पुग्ने लहरमा बसेकाले अध्ययन गर्ने विषय हो ।
‘विघटन’ शब्द शालीन लाग्छ र पनि अर्थसन्देश अवसान वा मृत्युकै दिन्छ । मृत्युभन्दा विघटनमात्र मन्दविष । भनिन्छ, मृत्यु स्वाभाविक हो तर संस्थाहरुको मृत्यु जीवको जस्तो स्वाभाविक होइन । सभ्यता निर्माणको चरणमा आउने प्रलयकारी परिवर्तन अर्को दुनिया भयो । धार्मिक दर्शनले जीव मानिसको पुनर्जन्म कल्पना गरेको छ, त्यो कति यथार्थ छ ? वैज्ञानिक खोजको विषय हुनसक्छ तर संस्थाहरु सबैभन्दा सजिलै पुनर्जीवित हुन्छन् । इतिहासकै आँखा अगाडि यस्ता पुनर्जन्म विम्बित छन् । विश्वमा मर्दै, झर्दै गएको कम्युनिस्ट वृत्ति अर्कै हंश धारण गरेर नेपालमा पुनर्जीवित भएको छ ।
संस्थाहरु मर्नु र ब्रह्मनालबाट पुनर्जीवित फर्कनु इतिहासका लागि दुवैै अन्यथा होइन । कांग्रेस पुनर्जीवनको चर्चा यही कारण भइरहेको हो । सम्भावना देखिउन्जेल समाजले चियो चर्चो गर्ने रहेछ । चर्चा जीवन गति हो जब त्यो सेलाउँछ त्यो चाहिँ मृत्यु हो, सम्झना छोडेर जाने ।
सम्भावित महाधिवेशनको निहुँ कांग्रेसप्रति विचार विश्लेषणको सान्दर्भिकता हो । यतिमात्रै होइन कांग्रेसको गतिविधिले उब्जाएको दिक्दारीको निकास यस सन्दर्भमा खोजिएको समेत हो । फराकिलो वैचारिक फाँटमा सबल र सुदृढ कांग्रेस देशलाई बहुआयामिक साथ दिन पुनःजाग्रत होस् भन्नेमा लोकतन्त्रवादी जनमत व्यक्त भएको छ ।
विश्लेषण र दशाले कांग्रेसको वैचारिक आत्मा शून्य प्रायःतिर गएको देखाएको छ । उसलाई मृतसंजीवनी विचार चाहिएको छ । सधैँ प्रजातन्त्र र खासगरी दक्षिण एसियामा भारतीय स्वतन्त्रता संग्रामले रोजेको लोकतन्त्र शब्द पुनःपुनः उद्धरणमात्रैले कांग्रेसलाई अटुट जीवन दिन सक्तैन । दक्षिण एसियाली मुलुक नेपालबाट उठेका विश्वप्रसिद्ध बिपी कोइराला जस्ता मूर्धन्य राजनेताको नाम जपले नै पनि ‘बेडा पार’ लाग्नेवाला छैन ।
बिपी त समय सन्दर्भ दर्शन हो जसले सबै दर्शनको केन्द्रीय तत्त्व मानवीय वा नागरिक भएको लक्ष्य तोके या उद्घाटित गरे । बिपीको सानो ‘मोदियाइन’ उपन्यासको ठूलो सन्देश पनि यही हो । समय गतिशील छ । यसैले मानिस पनि गतिशील हुन्छ । गतिले प्रगति खोज्छ र सम्बोधन माग्छ । यही माध्यम निःसृत विचारहरुलाई सामयिक बनाउने सभ्यता अगाडि बढेको हो । समयले मागेको चिन्तन समाविष्ट हुदैजाँदा विचारको साम्राज्य बन्यो । मान्छेको सभ्यता बाचुञ्जेल विचारको मृत्यु त्याज्य छ । कांग्रेस कता ?
बीपीले आफ्नो दुनियाँमा गाई, हलगोरु, घर, शिक्षा र स्वास्थ्य जस्ता ‘कुटीर’ प्राप्तिमा आफूसरहको नेपाली बन्ने, बनाउने सपना देख्नुभएको हो । यो सपना नागरिक वा समय सम्बोधक छ । आधुनिक वैचारिक जग बसेको नेपाली समयले छ दशकभन्दा धेरै नेटो काट्दै छ । जनता लक्षित बिपी विचारको केन्द्र विन्दुमा मान्छेको समयलाई सम्बोधन गर्ने कांग्रेसको सान्दर्भिकता यसै कारण विश्लेषण भएको हो ।
नेपाली कांग्रेस राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक साथै नेपाली जनजीवनको प्रत्येक आयामको उज्यालो हो । भोक्ता मात्रै होइन इतिहासलाई नयाँ युगमा रुपान्तरण गर्ने शक्ति हो । कांग्रेसको शुभ्र, सुन्दर यही अनुहार यतिबेला मलीन भएको छ । खोजी हुँदैछ सौन्दर्य पुनःभरण गर्ने । महाधिवेशन नीतिवाहक नेतृत्वको खोजी पर्व हो । नीति, विचार (खासमा) राजनीतिक संस्थाको लोभ्याउने सुन्दर आर्कषण कला हो ।
सत्तरी वर्षमाथिको जीवन गतिमा चौधौं महाधिवेशनको सँघार टेकेको कांग्रेसप्रति अहिले बाह्य चासो र चर्चा जुन तहमा व्यक्त भएको छ त्यस तहमा कांग्रेसभित्रैबाट वैचारिक वा सांगठनिक बहस खासै सार्वजनिक भएको छैन । आन्तरिक गठजोडका कुरा होलान् तर चेतनशील समाजलाई प्रेरणादायी विचार दिन आफ्नो सम्भावना तोक्ने नेतृत्व पनि चुक्दैछ ।
अधिनायकवादी ‘स्कुलिड्’बाट आएको कम्युनिस्ट नेतृत्व आफ्नै शीर्ष नेताहरुलाई ‘सुँगुरको प्रतिमूर्ति’उपमा दिने हैसियतमा देखिएको बेला कांग्रेसका दाबेदार नेतृत्व आफ्नो उपयोगिता प्रदर्शन हुने सम्बोधन राष्ट्रसामु गर्न सकेको छैन । त्यही तहको शब्दपीडा व्यक्त नगर्दा पनि नागरिकसँग सम्वाद गर्ने आकर्षण त भावी नेतृत्व दाबा गर्नेले दिनैपर्ने हो ।
कांग्रेससँगको आग्रह त्यसै होइन । प्रजातन्त्रप्रति प्रतिबद्ध रहेकाहरुलाई समाजवादी कांग्रेसको प्रजातन्त्रप्रतिको अटुट आस्थाले आकर्षित र अपेक्षित बनाएको छ । अहिलेको सन्दर्भमा कम्युनिस्ट सरकारको मनपरी तन्त्र, बेथिति र भ्रष्टाचारविरुद्ध कांग्रेस सुध्रिएर आओस् भन्ने हो । कम्युनिस्ट मनपरी ब्रह्मलुटले आजित जनमत विकल्पको तीव्र खोजीमा प्रष्टै छ । विकल्पमा कांग्रेसमात्रै देखिन्छ ।
विकल्पको कल्पना बुनेर देखिन खोजेका पारम्पारिक र नयाँ दलहरुले विचार, विश्वासको कुनै आधार प्राप्त गर्न सकेका छैनन् । त्यस्तो सम्भावना नजिक पनि देखिँदैन । कांग्रेसबाहेक अन्य दल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा व्यक्त भएर अधिनायकत्व र वैदेशिक हस्तक्षेपको स्पर्धा भित्र्याउन उद्यत देखिएका छन् । चेपिएको भूराजनीनिक जोखिम बुझेर नै समावेशी संसदीय प्रणालीप्रति प्रतिबद्ध कांग्रेससँग देशभक्त नेपालीको संवेदना जोडिएको छ ।
महाधिवेशनको बेला कथित संंस्थापनको मनपर्दो राजनीतिक प्रतिवेदन आउला नै । संस्थापन भन्नु के हो ? विचार कि, पदासीनहरु ? सजिलोको लागि पदासीनलाई संस्थापन भन्ने गरिएको छ । युवा नेताको विषयमा अहिलेकै कांग्रेस तानिएको कतिपय विषय छन् भने यसलाई के भन्ने, इतर ? महाधिवेशनको मुखमा मुद्दाको उठान र बैठानको विश्वास दाबेदार कांग्रेस नेतृत्वले आर्जन गर्ने पाञ्चजन्य शंखघोषको प्रतीक्षा छ ।
सतही र पारम्पारिक ढर्रा बखानेर हुँदैन । नेतृत्वलाई दोष देखाएर लथालिङ्ग संगठन बखानेरमात्रै पनि वैकल्पिक विश्वास आर्जन गरिँदैन । गुट उपगुट संक्रमित ‘क्रोनिक’ कांग्रेसलाई नयाँ दिशा दिने भरपर्दो नेतृत्व उपचार चाहिएको छ । नीति सही होला त्यसको सामयिक व्याख्या खोजिएको छ । त्यस्तो व्याख्या दिन आफ्नै चर्चा गर्ने विचारवान् कोही कांग्रेस नेता अघि सरेको छैन ।
नेतृत्वको दाबा गर्नेले छलफलको लागि कमसे कम चारवटा विषयमा खुला आउनु पर्छ । पहिलो प्रजातान्त्रिक संसदीय राजनीति, दुई अहिलेको प्रणाली र सुधार संशोधन, अर्थ समाजवादी अवधारणाको समयानुकूल व्याख्या तेस्रो र चौथो छिमेक वा परराष्ट्र नीतिमा दृष्टिकोण अपेक्षित छ । इतिहाससमेत भावी बोल्ने प्रकारको अरु सामाजिक, सांस्कृतिक अपेक्षित नागरिक विषय यिनैभित्र समेटिनुपर्छ । नागरिक संवाद चाहिएको छ ।
यही दस्तावेज नेतृत्व दावेदारको राजनीतिक प्रतिवेदन हुनेछ । बहस र सुधार समावेश गर्ने आधार पाइनेछ । पदीय अहंकारले आन्तरिक प्रजातन्त्र थिचिएको तेरोमेरो पक्षपाती कांग्रेसमा विचार बहसमाथि अझै प्रतिबन्ध लगाइएको छैन क्यार ? कांग्रेसमा हुनुपर्ने खोज नेतृत्वमा अर्को आउने आग्रहमात्र होइन, समग्र रुपान्तरणको पनि हो । सारमा यस्तै कांग्रेसको होइन, रुप पनि यो हुनु हुँदैन । सहिष्णु, क्षमाशील र समेट्ने कांग्रेस चाहिएको छ ।
प्रतिपक्षीय पहिचान विलुप्त, सरकारी भागबण्डामा लिप्त, अकर्मण्य भ्रष्ट कांग्रेस अपेक्षित छैन । देश, नागरिक कोरोना प्रताडित, बाढी पहिरोपीडित र सामान्यजन दैनन्दिन खाँचो टार्न अशक्त यो बेला भागबण्डाको वार्षिकी लडाइँ गर्ने नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र यसको सरकार नै बेथिती, भ्रष्टाचारका लागि पर्याप्त छ । यही विकल्पको खोजी कांग्रेस हो । देशको अस्मिता रक्षा र खुला समाजको अपेक्षाले लोकतान्त्रिक सभ्यताको कांग्रेस खोजिएको हो । प्रायः स्वीकार्यता अस्वीकृत गरिने अनुदार नेपाली समाजमा नेपाली कांग्रेसको उदार संस्कारको समेत प्रभाव परीक्षण हुनेछ । यही हो जीवन र मृत्युको दोसाँध !