रक्षाबन्धनपछिको एक साता गाईजात्रा मनाउने चलनअनुसार अहिले त्यो सांस्कृतिक पर्व जारी छ । पितृ वा मृत आफन्तलाई सम्झना गर्ने,गराउने ‘स्मृति पर्व’को परम्परासँग जोडिएर आध्यात्मिक, सांस्कृतिक र नेपाली समाजको श्रद्धाको परिचायक गाईजात्रासँग अहिलेको निकृष्ट राजनीतिक जात्रालाई तुलना गर्नु उपयुक्त त लाग्दैन ।
तर, उत्कृष्ट श्रद्धा पर्वमा बन्ने, बनाइने विकृत रुपाकृति वा व्यंग्यात्मक हास्य पक्षसँग चाहिँ राजनीतिको नाममा अहिले यहाँ गरिएको चालबाजीलाई तुलना गर्दा सटीक लाग्छ । पीडित नागरिकको ‘शोकधून’को आर्त बेला कथित राजनीतिका खेलाडीको निर्वस्त्र ‘मल्लयुद्ध’ले पराइलाई समेत हास्य आश्चर्य दिएको हुनुपर्छ । यस्तो निकृष्ट युद्धमा सबैभन्दा अगाडि सरकारधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) छ ।
कम्युनिस्टको विश्वास र आस्थाप्रति धेरै टिप्पणी गर्नु छैन । हलेदो भनेर चिनेपछि कोट्याउनु जरुरी हुँदैन । यसप्रति विश्वमा धेरै टिप्पणी भइसकेको छ । नेपालमा कम्युनिस्ट नेतृत्वको सरकार भएको कारण यिनको व्यवहार र चरित्रले मुलुकी जीवनमा पार्ने प्रभाव, दुष्प्रभावमाथि बहस अनिवार्य हुने नै भयो । कोरोना महाव्याधिले देश, जनता आक्रान्त छन् । बाढी, पहिरो र डुबानले सयौंको ज्यान लियो, हजारौँ विस्थापित छन् । देशको आर्थिक स्थिति र प्रशासनिक गति शिथिल छ ।
राजनीति नै ‘लिक’मा छैन । परराष्ट्र नीति दुर्घटना उन्मुख बनाइएको छ । देशको अस्तित्वको सामु समस्याहरुले सुरसाको जस्तो मुख बाएको छ । यस्तो बेला नेकपाभित्रको शक्ति युद्धले सबै समस्यालाई ओझेलमा पारेर जनतालाई थप संकटमा धकेलेको छ । राजनीतिमा निर्लज्जता यस्तो उदाहरण सायद अन्त कतै पाइँदैन ।
प्रतिपक्षको कुरा नगरौँ । ऊ हुनुको अस्तित्व नागरिकले खासै बोध गरेका छैनन् । सरकारको भूमिकाको पहिलो प्रभाव रहने हुनाले नागरिकहरु उसैको कारणले सुखी वा पीडित हुने हुन् । यतिबेला सरकार र सम्बद्ध दल सिर्जित बेथितिले नेपाली नागरिक पीडित बनाइएका छन्, बेथिति उत्कर्षमा छ । देश, प्रणाली र संविधान दुर्घटना उन्मुख हुँदैछ ।
नेकपामा शक्तिसंघर्ष स्वाभाविक थियो । यतिखेर मुखरमात्र भएको हो । देश संकटमा फसेको बेला घर्षण अस्वाभाविक लागेको हो । नेकपा वा यसका विभिन्न तहका नेता र सांगठनिक संरचना यतिबेला ‘लम्पूm’ साबित भएका छन् । कुनै निर्णय गर्न नसक्ने ‘कथित’ संगठन, नेता र कार्यकर्ता दुई अध्यक्ष मिल, मिलाऊ भन्दै पन्छिएका छन्, लाचार छन् ।
सिद्धान्तहीन धरातलमा कम्युनिस्ट दुई दलको एकतामा नामको समानताबाहेक शक्ति, स्रोतको भागबण्डा नै अन्तरनिहित उद्देश्य थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जोडाइको रसायन राज्यस्रोतमाथि सुखसयल गर्ने आकर्षण हो । बाह्य प्रेरणा समेतले ऊर्जा पाएको एकताको नेकपा त्यतिबेलासम्म एक रहन सम्भव छ जतिबेलासम्म त्यही प्रेरणा प्रेरित दबाबले थेगिरहन्छ । जसको सर्वाङ्ग प्रेरणा पनि उघ्री सकेको छ ।
शान्ति प्रक्रियामा मिसिएपछि कहिले पहिलो वा विगतको राजनीतिक उहापोहलाई प्रभावित गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘एकता’ भनिए पनि नेकपा एमालेमा आत्मसपर्मण गरेका हुन् । पूर्व एमालेका केही ठूला भनिने नेता आफूसँग रहेको आत्मरति यतिबेला अध्यक्ष दाहालले लिए पनि यो सैद्धान्तिक होइन । शक्ति स्रोतको भागबण्डाको बार्गेनिङमा अध्यक्ष केपी ओलीको एकाधिकार आरोपित सहकार्यमात्र हो ।
अवसरवादका माहिर प्रयोक्ताको पहिचान बनाएका दाहालले आफ्नो अस्तित्व हैसियतमाथि हुँदैआएको स्खलनबाट बच्न एमालेमा समर्पण गरेका हुन् । हिंसाचारका सहयात्रीलाई सँगै राख्न असफल दाहाललाई महत्त्वाकांक्षी अपेक्षा पूरा गर्न एमालेमा मिसिनु बाध्यता पनि थियो होला । अवसरलाई शक्तिमा बदल्ने आत्मविश्वासले यो रोजाइको नियतिप्रति उनले बेवास्ता गरे वा उपेक्षा गरे ।
प्रतिस्पर्धि कम्युनिस्ट घटकलाई आफूभित्र पचाएर मूलधार हुने अवसर उपयोग गर्न तत्कालीन नेकपा एमालेले जबज त्यागिदियो र दुई अध्यक्षको अवधारणामा सहमति दियो । बनेको ठूलो नेकपाको अध्यक्ष पाउँदा दाहाललाई आत्मगौरव नै भएको हुनुपर्छ । प्रथम अध्यक्ष केपी ओली र आफ्नो सहमतिमा पार्टी सञ्चालन गरिने एकता सहमति सूत्र वा विधानको धारा पढ्दा दाहाललाई समान हैसियतको अनुभूति पनि भएको हुनुपर्छ ।
त्यही धाराको माध्यम प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी संरचना र नेताहरुको आग्रहलाई निरर्थक बनाएपछि दाहाललाई मानका खातिर अध्यक्ष भएको अनुभूति हुने नै भयो । दाहालको अध्यक्ष पद ‘पेण्डुलम’को हैसियतमा झुण्डिएको छ । आफ्नो प्रभाव देखाउन दाहाल कहिले अध्यक्ष ओली र अहिले वरिष्ठ नेताहरुसँग खुसामद गर्न बाध्य पाइएका छन् ।
दाहाल पक्षले भागबण्डाको लागि होइन, पार्टी नीति, विधि र सिद्धान्तको लागि कुरा उठाएको स्पष्टीकरण जति दिए पनि केही वर्षदेखि नेपालका राजनीतिक दल विधिमा चल्न छाडेको जानकारी चासो राख्नेले पाएकै छन् । विधिको कुरा उठाउनेहरुको विगत र वर्तमान बुझ्नेहरु पनि छन् । त्यसमाथि कम्युनिस्ट परम्पराको विधि नै पदको थिचाइ हो । यिनै नेताले आफ्नै गुटका लागि मात्रै सरकारी नियुक्ति र पार्टी दायित्व सुम्पने अध्यक्ष ओलीको रबैया आरोपमा आलोचना गरेको सुनिएकाले विरोधको जग भागबण्डा नै हो भन्ने बुझाएको छ ।
जे जहाँको प्रेरणा भए पनि नेकपा बन्नुमा तत्कालीन दुवै दलको ‘घिउ र तरबार बेचुवा’ जस्ता एकअर्कालाई पचाउने (छक्याउने) रणनीति पक्कै थियो । आकारको हैसियतमा पार्टीका पद संख्या बाडियो । एमाले ठूलो थियो, ठूलो हिस्सा उसैको भागमा पर्यो । अध्यक्ष पदले त्यतिबेला दाहाललाई दिएको ढाढस र उत्साहको हावा यतिबेला खुस्किएको थाहा पछि उनले आगामी अवसरको सुरक्षा कवच कता देख्छन् र के गर्छन् रोचक पर्खाइ हो ।
एमालेका केही नेता प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिमा दाहाल नजिक देखिए पनि ती एमाले नै हुन् । सहमतिमा गरिने भनिएको ‘एकता’ महाधिवेशन भयो र उनीहरु एमाले धारमै फर्किए भने नेतृत्व पाउने तिनैले हो र एमाले भावधारामा आउने पनि तिनै हुन् । किनभने एमालेको पुरानो कार्यकर्ता पंक्ति जहाँको त्यहीँं छ, भत्किएको छैन । निश्चित छ, जनताको बहुदलीय जनवाद(जबज)का विरोधी दाहालको प्रतिस्पर्धी महाधिवेशनमा जबज समूह नै हुनेछ वा दाहालले त्यही जबजमा प्रत्यक्ष समर्पण गर्नुपर्छ । उनलाई त्यो मौका सायदै आउला वा अहंले त्यो रोजाइ गर्न दिनेछैन ।
एमालेहरुलाई थाहा छ जबजले आफूहरुलाई सबल राजनीतिक शक्तिमा स्थापित गरेको हो । अब पनि प्रजातान्त्रिक छवि दिएर त्यस्तो शक्ति बचाउन जबज नै काम लाग्ने उनीहरुले बुझेका छन् । त्यसमाथि महाधिवेशनमा उम्मेदवारी नदिए पनि निर्वाचनको प्रतिस्पर्धी कमान कट्टर जबजवादी अध्यक्ष ओलीले समाले भने बनाइएको नेकपाको अध्यक्ष हुने दाहालको धोको यहीं नै विसर्जित हुनेछ । केही दिनअघि राष्ट्रपतिकै रोहबरमा जबज स्वीकार गर्न भनिएको शीतलनिवास प्रसंगले पनि दाहाललाई तत्त्वबोध हुनुपर्छ ।
एकतापछि राजनीतिक, आर्थिक र राजकीय स्रोत साधनको फाइदा तत्कालीन एमाले धारले भरपूर पाएको छ, लिएको छ । खासगरी अध्यक्ष ओली र अधिसंख्यक जबजवादीले । त्यो स्रोत दाहालका पुराना समर्थकमाथि साम, दाम, दण्ड, भेदका लागि पनि प्रयुक्त छ । दाहालहरु यही अवसरको अभावमा नियास्रिएका हुन् । यहाँ विधि विधानको कुरै छैन । बनाउने सहमतिबाट चल्ने विधान अनि धम्की दिने बहुमतको ? यतिबेला नेकपाभित्रको बहुमत निरर्थक छ ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेर एक पदको ‘बार्गेनिङ’मा झरेको त्यस्तो बहुमत जसले न कुनै निर्णय लिनसक्छ वा न कुनै समस्या सुल्झाउने हैसियत नै राख्छ । बहुमतको दुहाई दिनेहरुले विवाद सुल्झाउन दुई सर्वेसर्वा अध्यक्षलाई सुम्पिनु वा कमिटीहरुको बैठक बोलाउन निवेदन दिनु नौटं.की साबित भएको छ । जिम्मेवारी दिएर गरुंगो देखाउन खोजिए पनि वा बहुमतको साथ पाएका भनिने कार्यकारी अध्यक्ष दाहालको निर्णायक ओजमाथि लेखिएको ‘पेन्डुलम’ गतिभन्दा भिन्न छैन । अध्यक्ष दाहालको यो नियति एकताकै बेला कोरिएको हो ।
दाहाललाई बहुमतको सबार ‘भालुको कम्पट’ साबित भएको छ । न ओर्लन सक्छन् न सधाउन । व्याधि र विपद्ले आक्रान्त जनतालाई थप पीडा थप्ने नेकपाको नेतृत्व हिस्सा न सरकारलाई सघाउन तयार छ न प्रधानमन्त्री ओलीको टाउकोमाथि उज्याएको लाठो बिसाउनै तयार छ । निर्णय गर्न वा मनाउन नसक्ने बहुमतले अध्यक्ष ओलीसँग समर्पण गरे भयो नि ! व्याधि, विपद् त थियो नै थप नेकपाभित्र महिनौ मञ्चित गाईजात्रे प्रहसन नेकपाकै ओली सरकारलाई नालायकी लुकाउने अवसर भएको छ ।