site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पौडेल समूहको रणनीति–एक्लाएक्लै उम्मेदवारी घोषणा नगर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह आशन्न महाधिवेशनमा जसरी पनि सभापति शेरबहादुर देउवालाई पराजित गर्नुपर्ने भन्दै आन्तरिक रणनीतिमा जुटेको छ । सभापति देउवाबाट पार्टी सञ्चालन नहुने निष्कर्ष निकालेर संस्थापनइतर समूह १४औं महाधिवेशनमा उनीविरुद्ध घेराबन्दी गर्ने दाउमा देखिएको छ ।

सोही रणनीतिअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा सभापति पदका झन्डै एक दर्जन आकांक्षी भए पनि कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारका रुपमा दाबी गरेका छैनन् । पौडेलनिकट स्रोतका अनुसार उनीहरुका बीचमा अहिले नै कसैले पनि सभापतिका लागि एक्लाएक्लै उम्मेदवारी घोषणा नगर्ने आन्तरिक सहमति बनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संस्थापनइतर समूहमा रहेका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफूहरु देउवाविरुद्ध प्रभावशाली टिम बनाउनका लागि आन्तरिक गृहकार्यमा लागेका बताएका छन् । “हाम्रो चाहना भनेको दुईजना मात्रै हुनुपर्छ भन्ने हो । हाम्रो वर्कआउट पनि शेरबहादुर देउवाविरुद्ध एउटा इफेक्टिभ टिम बनाउनपर्छ भनेर भइरहेको छ,” उनले बाह्रखरीसँगको अन्तर्वार्तामा भनेका छन् ।

सिंहले वर्तमान सभापति देउवाबाट अगामी दिन पार्टी सञ्चालन नहुने निष्कर्षमा पुगेका सबै नेताहरु एक ठाउँमा उभिएर आगामी महाधिवेशनमा होमिनुपर्नेमा पनि जोड दिए । १३औं महाधिवेशनबाट कांग्रेसमा तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौला पनि सभापति देउवाबाट पार्टी चल्न नसक्ने भन्दै उनीविरुद्ध सवै एक ठाउँमा उभिनुपर्ने पक्षमा देखिएका नेता सिंहको भनाइ छ ।

“शेरबहादुरजीबाट अब यो पार्टी चल्दैन भन्ने जो-जो साथीहरु हुनुहुन्छ हामी सबै एक ठाउँमा बस्नुपर्छ,” उनले भने, “सिटौलाजीले पनि शेरबहादुरजीबाट पार्टी चल्दैन भनिसक्नुभएको छ । हामी एक ठाउँमै बसिराख्छौं ।”

वरिष्ठ नेता पौडेलले पनि आफूनिकटका एक दर्जन बढी नेताहरु साथमा राखेर बिहीबार पत्रकार सम्मेलनमार्फत् सभापति देउवाविरुद्ध इतर समूह मोर्चाबन्दीमा लागेको सन्देश दिएका छन् । उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो समूहका सभापतिका आकांक्षीहरुलाई दायाँबायाँ राखेर आफूहरु महाधिवेशनसम्म एक भएर जाने दाबी गरे ।

शेरबहादुर देउवा अब कामचलाउ सभापति मात्रै हो, कुनै निर्णय गर्न मिल्दैन 

पौडेलले ब्रिफिङ गरेको पत्रकार सम्मेलनमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुनरसिंह केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, नवीन्द्रराज जोशी, दिलेन्द्रप्रसाद बडू, गुरुराज घिमिरे, रामकृष्ण यादव, सरिता प्रसाईं र किरण यादव उपस्थित थिए ।

पत्रकार सम्मेलनमा नेता पौडेलले भनेका थिए, “महाधिवेशनसम्म हामी एक भएर जान्छौं । पत्रकार सम्मेलननै गरेर उम्मेदवारी घोषणा गर्छौं । महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट हुँदैन । १४औं महाधिवेशनले पार्टीमा गुटको अन्त्य गर्छ ।”

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १३:१५
प्रतिक्रिया दिनुहोस्