काठमाडौं । जाम नभएको बेला बौद्धबाट सुन्धारा पुग्न २० मिनेट पनि लाग्दैन । तर हिजोआज यही बाटो छिचोल्न कम्तीमा एक घण्टा लाग्छ । कारण हो, अस्तव्यस्त सडक र सडक किनारको पार्किङ ।
काठमाडौं उपत्यकामा ११ लाखको हाराहारीमा सवारी साधन छन् । तीमध्ये दैनिक ६ देखि ७ लाख सडकमा निस्कने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
सडक व्यवस्थित नभएका कारण उपत्यकाबासीले दैनिक ट्राफिक जाममा फस्नुपर्छ । जाम हुन नदिन अहोरात्र खटिरहेको बताउँछ ट्राफिक प्रहरी, तर जामको समस्या घटेको छैन ।
महानगरीय ट्राफिक प्रमुख डीआईजी मिग्मार लामा ट्राफिक जाम र बाटोको समस्या हल गर्न ३ वटा मुख्य काम गरे पुग्ने बताउँछन् । “सवारी जाम व्यवस्थापन गर्न सडक फराकिलो भएर मात्र हुँदैन । काठमाडौंमा भएको सडकलाई व्यवस्थापन गर्न सके पुग्छ,” लामा भन्छन्, “सडकलाई व्यवस्थित र सवारी जाम मुक्त गर्न सर्वप्रथम सार्वजनिक यातायातलाई व्यवस्थित र भरपर्दो बनाउनुपर्छ ।”
डीआईजी लामाको तर्क छ, “सार्वजानिक यातायातलाई भरपर्दो बनाएपछि भनेको बेलामा गन्तव्यमा पुग्न पाइयो भने आधाजसो निजी सवारीसाधन बाटोमा निस्कँदैनन् । आरामदायी तरिकाले भनेको बेला आफ्नो गन्तव्यमा पुग्न पाएपछि मानिसले किन आफ्नो सवारी निकाल्छन् ? सार्वजनिक यातायात भरपर्दो नभएकै कारण सकी–नसकी निजी साधन किन्नुपर्ने अवस्था छ ।”
अव्यवस्थित पार्किङले पनि जटिलता थपेको लामाको जिकिर छ । उनी भन्छन्, “पार्किङ व्यवस्था भद्रगोल छ । घरबाट सवारी निकालेपछि पार्किङको कुनै व्यवस्था छैन । सडकलाई पार्किङ बनाउने प्रवृत्तिले जाम बढाएको छ ।” प्राइभेट सवारी पार्किङलाई बढाउने र पार्किङ व्यवस्थापनमा ध्यान दिने हो भने ५० प्रतिशत समस्या समाधान हुने लामा बताउँछन् ।
काठमाडौंका ठूला चोकहरुमा अन्डरग्राउण्ड सडक बनाउनु पनि आवश्यक भइसकेको उनको भनाइ छ । लामा भन्छन्, “सवारीसाधनको चाप हेरेर चोकमा ८० सेकेण्ड जति रोक्ने गरिएको छ । एक ठाउँमा रोक्दा अन्यत्रबाट आएका सवारी पनि रोकिन्छन् नै, अनि किन नहोस् जाम ? त्यसैले सहरका मुख्य चोकमा आउने र जानेमा एकतर्फी अन्डरग्राउण्ड सडक बनाउनुपर्छ, तबमात्र सडक जाम हँुदैन ।”
काठमाडौं उपत्यकामा एक हजारको हाराहारीमा ट्राफिक प्रहरी परिचालित छन् । उनीहरुले १८ घण्टासम्म ड्युटी गर्ने गरेका छन् । “सडक समस्या समाधान गर्नकै लागि हामीले विभिन्न खालका कार्यक्रमहरु पनि गर्दै आएका छौं । केही सुधार पनि भएको छ । तर पार्किङ व्यवस्थापन र सार्वजनिक सवारी प्रभावकारी नभएसम्म सडकको समस्या समाधान हुन गाह्रो छ,” डीआईजी लामा भन्छन् ।