site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 केन्द्रले ‘अफ टाइम’ तोक्यो, जिल्ला सभापतिहरु छलफलमै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले निर्धारित समययावधिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न हुनेमा आशंका व्यक्त गरेका छन् । केन्द्रले निर्धारण गरेको समयमा हिमाली जिल्लाहरुमा हिउँ पर्ने भएकाले पार्टीको १४ औं महाधिवेशन सम्पन्न हुनेमा आशंका व्यक्त गरेका हुन् । 

कांग्रेसले हिमाली जिल्लामा हिमपात हुने समयमा वडादेखि जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने कार्यतालिका निर्धारण गर्दा निर्धारित समयमै अधिवेशन हुने सम्भावना न्यून देखिएको हिमाली जिल्लाका सभापतिहरुको भनाइ छ । 

कर्णाली प्रदेशका जिल्ला सभापतिहरु केन्द्रले निर्धारण गरेको समयावधिमा वडादेखि जिल्ला अधिवेशन गर्न सम्भव नहुनेमा एकमत देखिएका छन् । “जुम्लामा मंसिर महिनामै सबै मानिसहरु तल झरिसकेका हुन्छन्,” कांग्रेस जुम्लाका सभापति दीपबहादुर शाहीले बाह्रखरीसँग भने, “केन्द्रले अफ टाइममा अधिवेशन तोक्यो । समस्या छ ।”

उनले मुगु, हुम्ला, डोल्पाका जिल्ला सभापतिहरुसँग यस बारेमा कुराकानी भएको र उनीहरुले पनि परिमार्जित कार्यतालिका अनुसार अधिवेशन गर्न असहज हुने बताएको जानकारी दिए । 

कांग्रेसमा १४औं महाधिवेशनको चहलपहल

“यसबारेमा मैले मुगु, हुम्ला, डोल्पाका सभापतिजीहरुसँग पनि कुराकानी गरेको थिएँ । उहाँहरुको पनि समस्या एउटै हो,” जिल्ला सभापति शाहीले भने, “पुस ६ देखि १३ सम्म जिल्लाका सबै अधिवेशन सम्पन्न गर्नुपर्ने भनिएको छ । हिउँद भनेकै पुस हो । सम्भावना त गाह्रो छ । गर्दै जाउँ, के हुन्छ हेरौं ।”

उनले अधिवेशनकै बारेमा छलफल गर्न सोमबार बेलुकी ८ बजे कर्णालीका १० वटै जिल्लाका सभापतिहरुको ‘भर्चुअल मिटिङ’ बोलाइएको पनि जानकारी दिए ।  ‘भर्चुअल मिटिङ’ को निष्कर्षका आधारमा केन्द्रलाई हिमाली जिल्लाको कार्यतालिका हेरफेरका लागि आग्रह गरिने सभापति शाहीको भनाइ छ । 

महाधिवेशनको परिमार्जित कार्यतालिका अनुसार आगामी पुस ६ गते देशभरका गाउँ–नगरअन्तर्गत पर्ने ६ हजार ७४३ वडामा कांग्रेसको अधिवेशन हुनेछ । 

यस्तै सात सय ५३ स्थानीय तहमा पुस ८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते हुने भएको छ ।  एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते र प्रदेश अधिवेशन आगामी माघ ६ गते हुने भएको छ । 
पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म काठमाडौंमा छ । 

गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो । सिन्धुपाल्चोकका सभापति विकास लामाले आफ्नो जिल्लामा खासै असर नपर्ने भए पनि उच्च हिमाली जिल्लाहरुमा भने निर्धारित मितिमा अधिवेशन गर्न गाह्रो हुने बताए । 

उनले अधिवेशनकै विषयमा प्रदेश नम्बर १, २, वागमती, गण्डकी र ५ नम्बर प्रदेशका जिल्ला सभापतिहरुसँग ‘भर्चुअल मिटिङ’ मार्फत् छलफल भएको पनि जानकारी दिए । 

कांग्रेस शीर्ष नेताकै जिल्लामा समायोजन बाँकी, होला त फागुनमा महाधिवेशन ?

‘भर्चुअल मिटिङ’ मा अधिकांश जिल्लाका सभापतिहरुले तराई र पहाडीका जिल्लाहरुमा तोकिएको समयावधिभित्र अधिवेशन गर्न समस्या नभए पनि हिमाली जिल्लाको कार्यतालिका परिवर्तनका लागि केन्द्रलाई आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।

“हामी ५ नम्बर प्रदेशसम्मका सबै सभापतिहरुले जुमबाट छलफल गर्‍यौं । तराई र पहाडका जिल्लामा अधिवेशन गर्न अप्ठ्यारो नभए पनि हिमाली जिल्लाका सन्दर्भमा सवैको चिन्ता छ,” सिन्धुपाल्चोक सभापति लामाले भने, “कर्णाली र सुदूरपश्चिमका साथीहरुसँग पनि जुमबाट छलफल गरेर के गर्ने भन्ने निर्णय गर्छौं ।” 
उनका अनुसार ७७ वटै जिल्लाका सभापतिहरुले ‘भर्चुअल मिटिङ’ पछि निस्कने निष्कर्षका आधारमा हिमाली जिल्लाको अधिवेशन मिति सार्ने बारेमा केन्द्रीय कार्यसमिति समक्ष आग्रह गर्ने मनस्थिति बनाएका छन् ।  

कांग्रेस ताप्लेजुङकी सभापति लीला बोखिमले पनि केन्द्रीय कार्यसमितिले हिमाली जिल्लाहरुसँग समन्वय नगरेरै अधिवेशनको कार्यतालिका निर्धारण गरेको प्रति असन्तुष्टि व्यक्त गरिन् । “निर्देशन त मान्नै पर्‍यो तर केन्द्रे सल्लाह नै गरेन । उहाँहरु आफूलाई अनुकुल हुने गरी समय मिलाउनुहुन्छ, जिल्लाको समस्या बुझ्नुहुन्न,” उनले बाह्रखरीसँग भनिन् । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro