site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस शीर्ष नेताकै जिल्लामा समायोजन बाँकी, होला त फागुनमा महाधिवेशन ?

काठमाडौं । कोरोना कहरका बीच १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुकै गृहजिल्लामा पार्टीका आन्तरिक संरचनाहरु समायोजन गर्न बाँकी छ ।  कोरोनाका कारण स्थगित महाधिवेशन प्रक्रिया सुरु गर्नका लागि नयाँ कार्यतालिका तय गर्न बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको प्रस्तावअनुसार कांग्रेसले २६ जिल्लामा आन्तरिक संरचनाहरु समायोजन गर्न बाँकी छ । 

जसअनुसार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय विमलेन्द्र निधी र विजयकमुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणकै गृहजिल्लामा आन्तरिक संरचना समायोजन बाँकी छ । 

सभापति देउवाको गृहजिल्ला डडेल्धुरा, उपसभापति निधिको गृहजिल्ला धनुषा, उपसभापति गच्छदारको गृहजिल्ला सुनसरी, महामन्त्री खड्काको गृहजिल्ला सुर्खेत, कोषाध्यक्ष यादवको गृहजिल्ला सिरहा, सहमहामन्त्री डा. महतको गृहजिल्ला नुवाकोट, प्रमुख सचेतक खाणको गृहजिल्ला रुपन्देहीमा आन्तरिक संरचना समायोजन हुन बाँकी छ । 

यस्तै आशन्न महाधिवेशनमा सभापति पदका दाबेदार मानिएका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा पनि समायोजन प्रक्रिया अपूरो रहेको देखिएको छ । यद्यपि, कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले आफ्नो जिल्लामा समायोजनको काम अन्तिम चरणमा पुगिसकेको दाबी गरेका छन् । 

“मोरङमा समायोजनको काम आजै सकिन्छ । एक–दुई दिनमै केन्द्रलाई समायोजन सम्पन्न भएको रिपोर्ट पठाउँछौं,” उनले बाह्रखरीसँग भने । 

त्यस्तै केन्द्रीय तहका नेताहरुको अत्यन्तै धेरै चहलपहल हुने काठमाडौंमा पनि आन्तरिक संरचनाहरु समायोजन गर्न बाँकी छ । 

के हो समायोजन ? 

मुलुक संघीयताअनुरुप पार्टीको सांगठिनक संरचना निर्माणलाई नै कांग्रेसले पार्टीका ‘आन्तरिक संरचनाहरु समायोजन’ भनेको छ ।  संघीयताको आधारमा राज्य पुनर्संरचना भएर कायम भएका नयाँ प्रशासकीय इकाईअनुसार पार्टीको संगठनात्मक संरचना निर्माण गर्नु नै समायोजन भएको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । 

संघीयताको आधारमा राज्य पुनर्संरचना भएर नयाँ प्रशासकीय इकाईहरु कायम भए । तदनुरुप पार्टीको सांगठनात्क संरचना निर्माण गर्नुलाई नै कांग्रेसले समायोजन भनेको छ ।

कांग्रेसले गत साउन २६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीका आन्तरिक संरचनाहरु समायोजनका लागि “स्थानीय तह संगठन पुन र्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६” सर्वसम्मतिले पारित गरी लागु गर्ने निर्णय गरेको थियो ।

वैठकले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी अन्तरिम व्यवस्था निर्देशिका सर्वसम्मतिले पारित गरी लागु गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई पार्टीको आगामी महासमिति–महाधिवेशनमा पेश गरी अनुमोदन गराइने कांग्रेसले जनाएको छ ।

समयमै महाधिवेशन हुनेमा आशंका 

गत वर्षको साउन महिनामा स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ जारी गरेर पार्टीले समायोजनका लागि पटक–पटक समय थप गर्दा पनि २६ जिल्लाले समायोजन गर्न सकेका छैनन् ।  पार्टीले आन्तरिक संरचना समायोजनका लागि पटक–पटक समय थप गरे पनि शीर्षस्थ नेताहरुकै गृहजिल्लामा समायोजनको काम पूरा नहुँदा निर्धारित समयमै महाधिवेशन हुनेमा कांग्रेसकै नेताहरु सशंकित देखिन्छन् । 

“पार्टीका शीर्ष तहका नेताहरुकै जिल्लामा समायोजन बाँकी छ । यसले गर्दा अहिले तोकिएको समयमा पनि अधिवेशन हुन्छ भन्नेमा शंका गर्ने थुप्रै ठाउँ छ,” संस्थापन इतर समूहका एक केन्द्रीय सदस्यले भने, “महाविधेशन निर्धारित समयमै गर्ने मनस्थिति भए त आ–आप्mनो जिल्लालाई तुरुन्त समायोजन गर भन्नुपर्ने होइन ? पटक पटक समय थपिदा पनि समायोजन किन नसकेको ?” 

आन्तरिक संरचना समायोजन हुन बाँकी जिल्लाहरु :

खोटाङ, सोलुखुम्बु, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, मुस्ताङ, रुपन्देही, दाङ, डोल्पा, सुर्खेत, बैतडी, डडेल्धुरा । 

यद्यपि, कांग्रेस केन्द्रीय कार्यलय सानेपाका मसख्यसचिव कृष्णप्रसाद पौडेलले २२ जिल्लाहरुमा मात्रै पार्टीका आन्तरिक संरचनाहरुको समायोजन हुन बाँकी रहेको दाबी गरेका छन् । उनले बाह्रखरीसँगको कुराकानीका क्रममा ५० जिल्लाका वडाहरुमा क्रियाशील सदस्यताको फारम पुगिसकेको समेत जानकारी दिए । 

“२६ जिल्लामा समायोजनको काम बाँकी थियो । यो बीचमा केही जिल्लाले समायोजन सकेको खबर गरेका छन् । अब २०–२२ जिल्लाहरुमा मात्रै हो बाँकी,” मुख्यसचिव पौडेलले भने, “५० जिल्लाका वडा–वडामा पार्टीको क्रियाशिल सदस्यताको फारम पुगिसकेको छ । अधिवेशनको तयारी तीब्र रुपमा भइरहेको छ ।”

स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका ल्याएको एक वर्ष पुग्नै लाग्दा पनि समायोजनका काम सम्पन्न हुन सकेको छैन । आन्तरिक संरचनाहरु समायोजन हुन नसक्दा क्रियाशील सदस्यता वितरणको काम अगाडि बढ्न सकेको छैन । अन्तरिम संरचनाको समायोजन सम्पन्न गरेका जिल्लाका पार्टी सभापतिलाई मात्रै कांग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको फारम उपलब्ध गराएको छ ।

सोमबार राति सम्पन्न कांग्रेस कार्यसमिति बैठकले आगामी साउन १० गतेभित्र समायोजनका काम सकेर केन्द्रमा जानकारी दिन र क्रियाशील सदस्यताका प्रक्रिया सुरू गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । बाँकी रहेका जिल्लाहरुले समायोजनका काम सुरू नगरे वडादेखि केन्द्रीय महाधिवेशनको पछिल्लो कार्यतालिका प्रभावित हुने देखिन्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असार २४, २०७७  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro