काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या दिनदिनै बढिरहेको भए पनि सडक भने बढ्न सकेको छैन । उपत्यकाभर १५ सय ९४ किलोमिटर सडक रहेको सडक विभागको तथ्यांक छ । यो सडकमा गुड्ने सवारीसाधनको संख्या भने करिब साढे ९ लाख छ । यो यातायात व्यवस्था कार्यालय बागमतीमा दर्ता भएको सवारीसाधनको संख्या हो । यीबाहेक अन्य अञ्चल कार्यालयमा दर्ता भएका सवारी पनि राजधानीमा गुड्छन् ।
सडक विस्तार सुस्त र विस्तार गरिएको सडक पनि व्यवस्थित नभएका कारण उपत्यकामा सवारी जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ । दिनदिनै थपिने सवारी साधनको संख्या त छँदैछ ।
यातायात व्यवस्था कार्यालय बागमतीको तथ्याङ्कअनुसार २०६५ सालमा काठमाडौं उपत्यकामा मोटरसाइकलको संख्या ३ लाख हाराहारीमा थियो । तर आर्थिक वर्ष २०७३ मा आइपुग्दा यो संख्या बढेर ९ लाख भन्दा माथी पुगेको छ ।
यसलाई हेर्दा आठ वर्षको अवधिमा ३ सय प्रतिशतले बृद्धी भएको देखिन्छ ।
२०५१ सालमा उपत्यका भित्र ७८ हजार सवारी साधन दर्ता भएका थिए । २० वर्षको अन्तरालमा राजधानीमा गुड्ने सवारी साधनको सङख्या २ सय बढी प्रतिशतले बुद्धि भएको छ ।
अहिले यातायात व्यवस्था कार्यालय बागमतीमा मात्र ९ लाख ५० हजार १ सय गाडी दर्ता भएका छन् । बाहिरबाट दर्ता भएका सवारीसाधन काठमाडौंमा पनि त्यत्तिकै गुड्दै आएका छन् ।
आर्थिक बर्ष २०७२ / ७३ सम्म कति दर्ता भए उपत्यकामा सवारी ?
बस १० हजार ३ सय ७९
मिनबस ९ हजार ५ सय ७५
ट्रक तथा मिनीट्रक २० हजार ८ सय ४७
क्रेन तथा स्काभेटर ४ हजार ८ सय ७७
कार, जीप र भ्यान १ लाख २५ हजार ४ सय ३९
पिकअप १७ हजार १ सय ७०
माइक्रोबस २ हजार १ सय २३
टेम्पो २ हजार ५ सय २८
मोटरसाइकल ७ लाख ७० हजार
पावर ट्याक्टर २ हजार ९ सय ८
एम्बुलेन्स ५ सय ३०
कूटनीतिक नियोगका गाडी ३ हजार ७ सय ६६
इलेक्ट्रोनिक रिक्सा ३६ वटा
यसबाहेक ब्याट्रीबाट चल्ने स्कुटरमात्र करिब ५ हजारको हाराहारीमा राजधानीमा सञ्चालित छन् । त्यस्तै साइकलको संख्या पनि १० हजार भन्दा बढी छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् ।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बागमती अञ्चलमा दर्ता भएका साढे ९ लाख मध्य अधिकांश उपत्यकाभित्रै चल्छन् ।
विभागकाअनुसार बागमतीमा दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्छन्, तर सडकको अवस्थाले त्यति सवारी थेग्न मुस्किल पर्छ ।
महानगरीय ट्राफिक प्रमुख डीआईजी मिङ्मार लामा भन्छन्, “सडकमा भएका भौतिक संरचनाको अवस्था नाजुक छ । जसका कारण ट्राफिक जामको समस्या धेरै छ । सवारी साधन बढेका बढ्यै छन्, सडकको अवस्था हेर्दा कहालीलाग्दो अवस्था छ । अझ मेलम्ची खानेपानीको पाईप बिस्तार हुन थालेपछि सडकको अवस्था अत्यन्तै नाजुक बनेको छ, जसका कारण ट्राफिक समस्या झन जटिल बन्दैछ ।”
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, सिंहदरबार, थापाथली, पुतलीसडक क्षेत्रमा अधिक जाम हुने गरेको छ । बिहान कार्यालय सुरु हुने समय र बेलुका कार्यालय छुट्टी हुने समयमा त झनै सवारी जाम हुने गरेको प्रहरीले जनाएको छ ।