site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पौडेललाई देउवाको प्रश्‍न - वरिष्ठ नेताजस्तो मान्छेले बोल्दा विचार गर्नुपर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले हुँदै नभएको अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले हुँदै नभएको कुराका बारेमा अभिव्यक्ति दिएको भन्दै वरिष्ठ नेता पौडेलसँग असन्तुष्टि व्यक्त गरेका हुन् । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सत्ता साझेदारीका लागि छलफल गरेको विषयमा पौडेलले जिज्ञासा राखेपछि देउवाले असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य स्रोतले जानकारी दिएको छ । 

“नेकपासँग सरकार गठनका बारेमा छलफल भएको कुरो के हो भनेर रामचन्द्र दाइले कुरो उठाउनुभयो । सभापतिजीले उहाँलाई नै बोल्न दिनुभयो । हुँदै नभएको कुरो बोल्दै हिँड्ने भनेर सभापतिजी कड्किनुभयो,” स्रोतले भन्यो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जवाफमा वरिष्ठ नेता पौडेलले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको हल्ला सुनेको प्रतिक्रिया दिएका थिए । “बाहिर सुनिएको हल्ला के हो ? यही गर्नुभएको हो भनेको त होइन नि,” पौडेलले सभापति देउवालाई फर्काएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो । 

प्रतिउत्तरमा सभापति देउवाले वरिष्ठ नेता पौडेललाई पदीय गम्भीरतालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका थिए । “वरिष्ठ जस्तो मान्छेले बोल्दा विचार गर्नुपर्ने हो भन्नुभयो सभापतिजीले,” स्रोतले जानकारी दियो । 

नेता पौडेलले शनिबार कांग्रेसले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आर्दशको राजनीति अबलम्बन गर्नुपर्ने बताएका थिए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वाग्मती प्रदेशका नेता–कार्यकर्ताहरुसँग गरेको छलफलमा उनले ‘अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने टिप्पणी गरेका थिए । 

असार १७ गते प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको भेटवार्तालाई लक्षित गरेर पौडेलले यस्तो टिप्पणी गरेका हुन् । बैठकमा सभापति देउवाले असार १७ गते प्रधानमन्त्री ओलीसँग भएको भेटको वातावरण केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्माण गरेको जानकारी बैठकलाई गराएका थिए । 

केन्द्रीय सदस्य रिजालले प्रधानमन्त्री ओलीसँग भएको भेटवार्ताका बारेमा थप ‘ब्रिफिङ’ गरेका थिए । “प्रधानमन्त्रीले संवैधनिक परिषद् र आयोग गठन बारे समय मागिरहनुभएको रहेछ । मिनेन्द्रजीले यही कुरो सभापतिजीलाई भन्नुभएको रहेछ । अनि उहाँहरुबीच भेट भएको रहेछ,” रिजालले बैठकमा गरेको ‘बिफ्रिङ’ बारे जानकारी दिँदै स्रोतले भन्यो । 

सभापति देउवा र रिजालले प्रधनमन्त्री ओलीसँग सत्ता साझेदारीका बारेमा कुनै छलफल नभएको बैठकमा प्रष्ट्याएका थिए । यस्तै आइतबार नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफलमा पनि सत्ता साझेदारीका बारेमा कुनै कुराकानी नभएको पनि जानकारी बैठकमा गराइएको थियो ।  

केन्द्रीय सदस्य रिजालले सभापति देउवा र नेम्वाङबीच भएको छलफलका बारेमा बैठकमा ‘ब्रिफिङ’ गरेको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए । “बैठकमा नेम्वाङजीसँग आज बिहान भएको भेटघाटको मिनेन्द्रजीबाट ब्रिफिङ भयो,” बैठकमा सहभागी केन्द्रीय सदस्य जोशीले बाह्रखरीसँग भने, “उहाँले नेम्वाङजीसँग संवैधानिक कुरामात्रै भएको भन्नुभयो ।” 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार फेरि बस्ने गरी स्थगित भएको छ । 

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्