विश्वमा प्रविधि
अमेरिकी विद्वान क्लेटन (१९९५) ले प्रविधिसम्बन्धी एउटा सिद्धान्त “डिस्रप्टिभ इन्नोभेसन” प्रतिपादन गरे । यसमा उनले प्रविधिले नयाँ परिवेशमा विद्यार्थीहरूको सिकाइमा परिवर्तन गर्न मद्दत पुग्ने कुरा गरेका छन् । हार्वर्ड विश्वविद्यालयको प्राध्यापक पनि भएको हुनाले उनले धेरै विश्वविद्यालयहरू केही समयको अन्तरालमा समाप्त हुने भविष्यवाणी गरेका छन् । उनले प्रविधिको प्रयोग गर्ने विश्वविद्यालयहरूको भविष्य भने उज्यालो भएको बताएका छन् । किनभने नयाँ प्रविधिबाट त्यस्ता कमजोर शिक्षण संस्थालाई सजिलै परिवर्तन गर्न सकिन्छ । उनले यस्ता प्रविधि सामान्य, सरल र सबैको पहुँचमा हुनसक्ने भएको हँुदा सबैले प्रयोग गर्न सक्छन् पनि भनेका छन् ।
त्यसै गरी माइकल हर्नले सन् २००८ मा प्रकाशित गरेको पुस्तकमा सन् २०१९ सम्ममा विश्वमा आधा जति माध्यमिक विद्यालयहरूले इन्टरनेटको माध्यमबाट शिक्षा दिइरहेका हुनेछन् भनेका थिए ।
हुन पनि पछिल्लो समयमा व्यापक खुला अनलाइन कोर्सहरूको पढाइ हुने गरेको पाइन्छ । यसले कुनै सीमा, लिङ्ग, जात, वर्ग र क्षेत्रभन्दा माथि उठेर सबैलाई शिक्षा प्रदान गरिरहेको छ । यसले सांस्कृतिक, राजनीतिक, प्रशासनिक र संस्थागत क्षमता विकास गर्न मद्दत गरेको देखिन्छ । अरू मुलुकहरूलाई हेर्ने हो भने युरोपियन मुलुकहरू नै प्रविधिमा अगाडि देखिन्छन् ।
नेपालको सन्दर्भमा प्रविधि
नेपालको सन्दर्भमा प्रविधिको कुरा गर्दा विस २०१४ मा रेडियोसम्बन्धी नीति आएको देखिन्छ । त्यसैगरी दूर सञ्चार नीति २०५३ , सूचना प्रविधि नीति २०५७ र सूचना तथा सञ्चार नीति २०७२ आएको पाइन्छ । अनलाइनको कुरा गर्नु पर्दा अनलाइन सिकाइको अत्यधिक माग भए पनि अहिलेको अवस्थामा पर्याप्त अनलाइनको व्यवस्था हुनसकेको छैन । यद्यपि सूचना र प्रविधिलाई हरेक क्षेत्रमा प्रयोग गर्दै जाने राज्यको नीतिअनुसार इन्टरनेट, इमेलको प्रयोग र क्षमता बढाउने कार्य भइरहेको छ । तैपनि सबै भूगोल, प्रदेश र जिल्लाहरूमा यसको पहुँच विस्तार हुनसकेको छैन । विद्यार्थीहरूलाई प्रविधिको माध्यमबाट सिकाउनु भने आजको माग नै हो । त्यसैले नेपालमा ‘अफलाइन’ र ‘अनलाइन’ दुवै माध्यमबाट सिकाइ अगाडि बढाउन जरुरी देखिन्छ ।
प्रविधि भन्नाले शिक्षण सिकाइको प्रयोगमा आउने रेडियो, एफएम रेडियो, टेलिभिजन, अपनलाइन तथा अफलाइनका माध्यम भनेर परिभाषित भएको पाइन्छ । सिकाइमा प्रविधिको प्रयोग गर्नु भनेको विद्यार्थीको सिकाइमा सार्थक परिवर्तन ल्याउनु हो । यसका लागि सिकाइमा आवश्यक प्रविधिको उच्चतम, विश्वसनीय र भरपर्दो ढङ्गबाट प्रयोग हुनु जरूरी हुन्छ । विद्यार्थीलाई रूपान्तरणको मोडमा लैजान वा उत्पादित जनशक्तिको रूपमा उभ्याउन प्रविधि आवश्यक पर्छ । वास्तवमा २१ औं शताब्दीमा आवश्यक ठहरिएको शिक्षामा प्रविधिको उपयुक्त तवरले प्रयोग हुन सकेन भने यसले प्रत्युत्पादक नतिजासमेत ल्याउने खतरा देखिन्छ । यसका लागि प्रविधिको प्रयोग कुन बेला, कसरी र केका लागि भन्ने पूर्व जानकारी हुन जरूरी हुन्छ ।
प्रविधिको चुनौती
एक्काइसाैँ शताब्दीमा विद्यार्थीको सिकाइ पद्धतिमा प्रविधिलाई जोड्न आवश्यकमात्र नभई अनिवार्य भइसकेको छ । यसबाट शिक्षकशिक्षिकाले विद्यार्थीहरूको सिकाइमा उत्तिकै उपलब्धी हासिल गर्न सक्ने सम्भावना रहन्छ । यद्यपि यसका थुप्रै चुनौती भने नरहेका होइन् । ती चुनौती निम्न प्रकार रहेका छन् :—
विद्यार्थीहरूको सिकाइ पद्धतिमा नयाँ प्रविधिलाई जोड्न चुनौती हुनसक्छ । त्यसैगरी शिक्षकशिक्षिकामा रहेको परम्परागत सोचमा परिवर्तन गर्न पनि त्यतिकै चुनौती हुनसक्छ । प्रविधिलाई सिकाइसँग जोड्न इच्छा शक्ति, ज्ञान, सीप र क्षमताको जरूरत पर्छ । यी सबैको अभावमा चुनौती खडा हुनसक्छ । वास्तवमा विद्यार्थीहरूको सिकाइसँगै उनीहरूको मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।
प्रविधिकोको प्रयोग गरी सिकाइ उपलब्धि मूल्याङ्कन गर्न चुनौती हुन सक्ने सम्भावना रहन्छ । यसरी नै प्रत्येक विद्यार्थीको निजी समस्या पत्ता लगाई त्यसको समाधानका उपाय अवलम्बन गर्न पनि चुनौती हुनसक्छ । एकातिर बालबालिका प्रविधिसँग अत्यधिक झुम्मिने हुँदा त्यो प्रत्युत्पादक बन्न सक्ने जोखिम रहन्छ भने अर्कातिर पुराना शिक्षकशिक्षिका प्रविधिबाट भाग्ने सम्भावना देखापर्छ । यसै सन्दर्भमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै वैकल्पिक प्रणालीबाट शिक्षा सिकाइ कार्य अगाडि बढाउने निर्णय गरेको छ ।
वैकल्पिक शिक्षा प्रणाली
प्रविधि शिक्षाको सम्बन्धमा जनसाधारणको बुझाइ फरक देखिन्छ । धेरैले अहिले पनि प्रविधिलाई अनलाइन शिक्षाको रूपमा बुझ्नेगरेको देखिन्छ । तर यसलाई ‘अफलाइन’ र ‘अनलाइन’ दुवैबाट सिकाउने पद्धति भन्ने बुझ्नु जरुरी हुन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ देखि वैकल्पिक शिक्षा सञ्चालन गर्ने गरी जारी गरेको निर्देशिकाले विद्यार्थी समूह पहिचान गरी वैकल्पिक शिक्षा सञ्चालन गर्न निर्देश गरेको छ ।
उक्त वर्गीकृत समूहहरूमध्ये पहिलो वर्गीकरणमा पर्ने विद्यार्थी समूहको रूपमा त्यस्ता दूरदराजमा बस्ने विद्यार्थी समूहहरू पर्छन् जसको कुनै पनि प्रविधिमा पहुँच हुँदैन । त्यस्ता विद्यार्थी समूहका लागि छुट्टै वैकल्पिक व्यवस्था गर्नु पर्नेहुन्छ । त्यस्तो स्थानमा बिजुली बत्ती र श्रव्य दृश्य सामग्रीहरू भएको खण्डमा श्रव्य दृश्यको माध्यमबाट सिकाइ प्रक्रिया अगाडि बढाउन त सकिएला अन्यथा भौतिक दूरी कायम गरी प्रत्यक्ष पठनपाठन र सिकाइ क्रियाकलाप गर्नुको अर्को विकल्प हुँदैन ।
त्यसैगरी दोस्रो समूहमा रेडियो तथा एफएम् रेडियोको पहुँच भएको विद्यार्थी समूह पर्छ जसका लागि प्रदेश वा स्थानीय तहले सिकाइ व्यवस्था गरी रेडियो वा एफएमबाट सिकाइ क्रियाकलाप सम्बन्धी प्रसारण गर्ने व्यवस्था मिलाउनु पर्नेहुन्छ । यसको लागि स्थानीय शिक्षकशिक्षिकाको भूमिकालाई जोडनु जरूरी देखिन्छ । बालबालिकाको सिकाइलाई जीवित तुल्याउन अभिभावक र शिक्षकशिक्षिकाको रचनात्मक भूमिका र सहजीकरणले विद्यार्थीलाई निकै मद्दत पुग्ने देखिन्छ ।
तेस्रो समूह टेलिभिजनको पहूँच भएको समूह हो जसका लागि विद्यालयले विद्यार्थीहरूको सङ्ख्या किटान गरी उनीहरूलाई घरैमा पाठ्यक्रम तथा पाठ्य पुस्तक उपलब्ध गराउने कार्यमा मद्दत गर्ने र स्थानीय सरकारले पठनपाठनको समय तालिका मिलाई टेलिभिजनबाट बालबालिकालाई सिकाउने व्यवस्था गर्न जरूरी हुन्छ । यसका लागि पनि शिक्षकहरूले शिक्षण सामग्रीहरूको निर्माण र विकासमा महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने देखिन्छ ।
यसरी नै चौथो समूहअन्तर्गत कम्प्युटर उपलब्ध भएको तर इन्टरनेटको पहूँच नभएको समूह पर्छ । यिनका लागि अफलाइन मोडमा पनि सीडी, पेनड्राइभ वा हार्डडिक्सको मद्दतबाट सिकाउने व्यवस्था गर्नुपर्ने हुन्छ । यसमा स्थानीय सरकारले स्रोत साधन परिचालन गरी वैकल्पिक शिक्षाको माध्यमबाट सिकाइलाई निरन्तरता दिन मद्दत गर्न जरूरी देखिन्छ । साथै शिक्षकशिक्षिकाको क्रियाशीलतालाई पनि उपेक्षा गर्न मिल्दैन ।
पाचौँ समूहमा इन्टरनेटलगायत सबै प्रविधिको पहुँच भएको समूह पर्छ । यसका लागि विभिन्न अनलाइन पोर्टल र प्लेटफर्महरूमार्फत बालबालिकालाइ सिकाउन सकिने हुँदा त्यस्ता भरपर्दो अनलाइन सेवा प्रदायकहरुसँग छलफल गरी बालबालिकाको सिकाइमा व्यवस्थापन गर्न जरूरी देखिन्छ । यसमा विद्यालय, शिक्षक शिक्षिका र अभिभावकहरूको पनि महत्त्वपूर्ण भूमिका रहने हुनाले यसबारे थप छलफल गर्न जरूरी देखिन्छ ।
विद्यालयको जिम्मेवारी
विद्यालयले माथि उल्लिखित वर्गीकरणमा परेका आफ्ना विद्यार्थीको तथ्याङ्क निकाली आवश्यक सामग्रीको बन्दोबस्त मिलाइ दिनुपर्छ । विद्यालयले विद्यार्थीलाई कुन प्रकारको सामग्री आवश्यक पर्छ भन्ने जानकारी राख्नुपर्छ र सोअनुसार व्यवस्था गर्न ध्यान दिनुपर्ने हुन्छ । विद्यालयले आफ्ना शिक्षक तथा अभिभावकसँग छलफल र परामर्श गरेर कार्यक्रम बनाउनुपर्छ । त्यस्ता कार्यक्रमहरू विद्यार्थीहरूको हितलाई ध्यानमा राखेर बनाउनु जरुरी हुन्छ । साथै विद्यार्थी र शिक्षकशिक्षिकालाई आवश्यक परामर्श तथा तालिम पनि प्रदान गर्नुपर्छ । विद्यार्थीहरूको समग्र सिकाइका लागि शिक्षक तथा शिक्षिकाको भूमिका महत्त्वपूर्ण हुन्छ । एक जना शिक्षकको हातमा सिङ्गो विद्यार्थीको भविष्य अडिएको हुन्छ ।
बालबालिकाको सिकाइ पद्धतिमा सहजीकरण गर्न शिक्षकले भूमिका खेल्न जरुरी देखिन्छ । अहिले विद्यार्थीहरू बन्दाबन्दीमा घरमा बसिरहेको अवस्थामा सरकारले शिक्षण संस्थामा वैकल्पिक शिक्षाको माध्यमबाट बालबालिकाको सिकाइ क्रियाकलाप अगाडि बढाउन जारी निर्देशिकाअनुसार बालबालिकाको सिकाइका लागि विद्यालयले अभिभावकहरूको भूमिकालाई सिकाइमा जोड्नु पर्छ । माथि उल्लेख भएका ५ वटा समूहहरूमध्ये जुनसुकै समूहमा पर्ने अभिभावक भए पनि आफ्ना बालबालिकाको पठनपाठनमा सहयोगी भई अगाडि बढ्न जरूरी छ । बालबालिकाका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्था मिलाइदिनु र ससाना नानीहरूलाई तिनको गृहकार्य तथा परियोजनामा समेत सहयोग पुर्याउनु पर्ने देखिन्छ ।
निष्कर्ष
विद्यार्थीहरूको सिकाइका निमित्त शिक्षकशिक्षिकामा विषय वस्तुको राम्रो ज्ञान हुनु जरूरी हुन्छ । उक्त ज्ञानलाई सिकाइ पद्धति र सीपसँग जोड्नु आवश्यक हुन्छ । सिकाइ उपलब्धि शिक्षकको सिकाउने सीप र कलामा भर पर्ने हुनाले यसमा बढी ध्यान दिनुपर्ने हुन्छ । भनिन्छ, कमजोर शिक्षकले विद्यार्थीलाई बताइ दिन्छ तर असल शिक्षकले गरेरै देखाउँछ र महान् शिक्षकले भने विद्यार्थीहरूलाई सधैँ प्रोत्साहित गर्छ । यसका लागि शिक्षकले प्रविधिलाई पनि आत्मसात् गर्नु जरूरी छ । प्रविधिको सही र उच्चतम प्रयोग गर्ने बानी गर्न जरूरी हुन्छ । प्रविधिलाई सिकाइ उपलब्धिसँग जोड्न जरूरी छ । एक्काइसौं शताब्दीमा यस्ता प्रविधिहरू सिकाइका निमित्त अपरिहार्य बन्दै गएको सन्दर्भमा यसबाट अलग रहेर उपलब्धि नहुने कुरा यथार्थ हो । आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत यसको प्रयोग अधिक मात्रामा हुनुपर्ने देखिन्छ ।