काठमाडौं । काठमाडौं उपत्यकाभित्र हर्न निषेध गरिएको एक महिनामा करिब ४ हजार जना चालक कारवाहीमा परेका छन् । जथाभावी हर्न बजाएको भन्दै उनीहरुलाई कारवाही गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वैशाख १ गते यता सडकमा जथाभावी हर्न बजाउने ४ हजार जना सवारी चालक कारवाहीमा परेका छन् ।
यतायात व्यवस्था ऐन २०४९ (घ) ३ अनुसार प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिबाना गर्न सक्ने व्यवस्था छ ।
जथाभावी हर्न बजाउने करिब चार हजार चालकलाई गरिएको कारवाहीबाट करिब २० लाख रुपैयाँ राजस्व पनि संकलन भएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङ्मार लामा भन्छन्, “हर्न बजाउन निषेध गरे यता उपत्यकाको सडक शान्त देखिएको छ,” उनले बाह्रखरीसँग कुरा गर्दै भने, “सवारीसाधन रोकिराखेको स्थानमा ट्वाँ ट्वाँ हर्न बजाएर भाग्न खोज्ने प्रवृत्ति पनि कम भएको छ । त्यसले गर्दा सडक पनि असुरक्षित देखिएको थियो । अब त्यस्तो गर्न पाइँदैन । प्रहरीले कारवाही सुरु भएपछि कम पनि भएको छ ।”
जथाभावी बाटो काट्नेलाई केही राहत, अब कडा !
स्थानीय तहको निर्वाचनका कारण सडकमा ट्राफिक कम भएको मौका पारेर जथाभावी बाटो काट्ने बढेको भए पनि अब जेठ १६ देखि झनै कडा बनाइने भएको छ ।
जथाभावी बाटो काट्ने यात्रुलाई दुई सय रुपैयाँ जरिबाना तिराउने तयारी गरेको प्रहरीले जेठ १६ बाट जथाभावी बाटो काट्नेलाई कडाईका साथ कारवाही गर्ने भएको छ ।
निर्वाचनका कारण सडकमा ट्राफिकको संख्या पनि कम भएकाले जेठ १६ गतेबाट थप कडाइका साथ कारवाही प्रक्रिया अघि बढाउने तयारी भएको महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी मिङ्मार लामाले बताए ।
लामा भन्छन्,“उपत्यकामा हुने सडक दुर्घटना र त्यसमा परेर मृत्यु हुने ४० प्रतिशत पैदल यात्रु भएकाले त्यसलाई न्यूनिकरण गर्न जथाभाबी सडक काट्न प्रतिबन्ध लगाउने तयारी गरेको हौं ।”
पैदल यात्रीलाई फुटपाथबाट हिँडाउने वा आकाशे पुलबाट बाटो काट्न सचेत गराउन यो नियम कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए ।
“पैदल यात्रुलाई आकासे पुल र जेब्रा क्रसिङबाट बाटो काटौं भन्दै सचेत गराउन म आफैँ र मेरा सिनीयर अफिसरलाई सडकमा उतारेको छु,” उनले भने ।