site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल बाहिरका साहित्यकार : त्रासको फुर्सदमा लेखन !

लामो समयको बन्दाबन्दीका कारण यसबेला भर्चुअल मिटिङले तीव्रता पाएको छ । जुनसुकै विषयमा हुने बैठक वा भेटघाट, पारिवारिक जमघट र विविध कार्यक्रम होस्, सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट हुँदै आएको छ ।

विशेष गरी यतिबेला इन्टरनेटको प्रयोग गर्दै भर्चुअल कवि गोष्ठी, गजल वाचन, विशेष अन्तरक्रियात्मक कार्यक्रमले गति पक्डेको छ । कोठामै रहेर पनि यस्ता कार्यक्रममा कवि, कलाकार, लेखक सहभागी हुँदैआएका छन् ।

तर, सात समुद्रपारि अमेरिकामा रहेका चर्चित आख्यानकार तथा कवि राजव पुडासैनी भने आफू यस्ता गोष्ठीमा सहभागी नभएको बताउँछन् । नेपालमा तारन्तार यस्ता जमघट र भेला भइरहे पनि त्यसमा सहभागिता जनाउनका लागि उनलाई अनुरोध गरिएको छैन । उनले पनि भाग लिएका छैनन् ।

तथापि केही नेपाली कविहरूका कविता वाचनको भिडियो रेकर्डको तयारीमा राजव यतिबेला लागेका छन् । त्यसैले उनी आफूले राम्रा र वाचन योग्य कविताहरू संकलन गर्दै गरेको बताए । यो काम छिटै थाल्ने उनको भनाइ छ ।  

अमेरिकामै बस्‍ने लेखक हरि थापा यसबखत भर्चुअल गोष्ठी महत्त्वपूर्ण भए पनि आफूले त्यस्तो कार्यक्रममा भाग लिन नपाएको बताउँछन् ।

उता बेलायत बस्ने लेखक कृष्ण बजगाई यस किसिमको गोष्ठीको आयोजना हुनु खुसीको कुरा भएको बताउँछन् । केही समयअघि बेलायतमै भएको अंग्रेजी र हिन्दी भाषाका कविहरूको भर्चुअल कविता गोष्ठीमा सहभागी भएको उनले उल्लेख गरे । त्यसैले गर्दा मौका पाएर पनि आफूले नेपालमा भएको भर्चुअल गोष्ठीमा भाग लिन नसकेकोमा दुखेसो पोखे । यद्यपि पछि पनि भर्चुअल साहित्यिक गोष्ठीमा सहभागी हुने इच्छा राखेका छन् । 

फेसबुक म्यासेन्जरका माध्यमबाट साहित्यकारहरू राजव, हरि थापा तथा कृष्ण बजगाईसँग कुराकानी हुँदा कवि तथा आख्यानकार राजवले यतिबेला आफू घरमै थुनिएको बताए ।

राजव भन्छन्, “यो परिस्थितिमा मनःस्थिति स्थिर हुन सकेको छैन । तथापि दिन रातको केही समय आफ्नो लेखनमा केन्द्रित हुने कोसिस गरिरहेको छु । लेखिरहेको छु । यद्यपि यो आतंकको फुर्सद हो । दुःखको फुर्सद हो । वरिपरिको वातावरणप्रति मन सशंकित भइरहन्छ । यस्तोमा आफ्नो लेखन नै सहारा बनेको छ ।”

साहित्यकार हरि थापा आफू पनि लकडाउनको पूर्णरूपले पालना गरिरहेको बताउँछन् । उनी भन्छन्, “बूढ्यौली र कमजोर स्वास्थ्य अवस्था हुनेहरू सजिलै कोभिड १९ को सिकार बन्छन् भन्ने कुराले झनै सजग हुनुपर्ने भएकाले त्यसको कडाइका साथ पालना गरिरहेको छु ।”

घरै बसे पनि लेखकीय सिर्जनामा लकडाउनको प्रभाव परेको हरि थापा बताउँछन् । लेखनलाई आक्कल झुक्कल मात्रै समय निकाल्ने गरेको उनको भनाइ छ ।

अमेरिकापछि कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश बेलायत भएको छ । यो त्रशित वातावरण बेलायतभर रहे पनि बेलाबखत आफ्नो नियमित काममा जाने गरेको लघुकथाकार तथा नियात्राकार कृष्ण बजगाई बताउँछन् । बाँकी रहेको समयमा लेख्‍ने र पढ्ने काम गर्दै आएको उनको भनाइ छ । 

कृष्ण भन्छन्, “तुलनात्मकरूपमा फुर्सद मिले पनि अधिक फुर्सदले अल्छी बनाउँदो रहेछ । तर, पनि पढ्ने र लेख्‍ने काम छोडेको छैन ।”

साहित्यकार राजवका अनुसार उनको यो समय कविता वाचनका लागि कविता छान्‍नुका अतिरिक्त आख्यान लेखनकै चक्करमा बित्‍ने गरेको छ । कहिले कविता त कहिले आख्यान लेखनमा उनको समय खर्च भइरहेको छ । 

अमेरिकी अवस्थाका बारेमा राजव भन्छन्, “यतिबेला आम अमेरिकी र आप्रवासी नेपालीलगायत सबै यो महामारीबाट छुटकारा पाउने अभिलाषाकै मनःस्थितिमा छन् । त्यसैले त्यहीँ रहेका नेपालीहरूका बीचको सम्पर्क नियमितरूपमा भइरहेको छैन ।”

उता बेलायतबासी कृष्ण बजगाईं बेलायतमा रहेका नेपाली साहित्यकारहरूसँग बेलाबखत फोन तथा भिडियो च्याट मात्र हुने गरेको बताउँछन् । उनी भन्छन्, “सामाजिक दूरी कायम राख्‍ने निर्देशनलाई सबैले पालन गरेकाले परिवारबाहेक बाहिरका साथीभाइ कसैसँग सम्पर्क हुनेगरेको छैन ।”

कथाकार हरि थापा यस किसिमको बन्दीजीवन बाँच्‍नु सारै गाह्रो भएको अनुभव बताउँछन् । थापा भन्छन्, “घरभित्र बसेका छौँ । जानु कतै छैन । देख्नुसुन्नु केही छैन । कुवाको भ्यागुतोको जीवन बाँच्‍नु परेको छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro