site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
राष्ट्रपति रबर छापमात्र हुन् 

सरकारले २०७७ सालको वैशाख ८ गते गुरिल्ला शैलीमा जारी गरेको संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी प्रावधानमा संशोधन गर्ने दुई अध्यादेश चार दिनमै फिर्ता गर्नु पर्‍यो । यस प्रकरणले ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने’ भनाइ फेरि चरितार्थ गर्‍यो । कोरोनाको महामारीबाट आहत जनतालाई सहायता दिनुपर्ने बेलामा ल्याएको राजनीतिक दल फुटाउने कानुनको आवश्यकता र औचित्य न सरकारले पुष्टि गर्न सकेकोछ न त सामान्य छलफलविनै हतार हतार जारी गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र उनको सचिवालयले । 

संविधानतः राष्ट्रपति संविधानको ‘रक्षक र पालक’ पनि हुन् । त्यसैले राष्ट्रपतिमार्फत सरकारले गराउने काम कारवाही देश र जनताको हितमा छन् छैनन्, निक्र्योल गरी सरकारलाई सुझाव दिने र सच्याउन लगाउने काम पनि उनको हो । 

देशलाई अस्थिरताको भूमरीमा पार्ने र संवैधानिक निकायलाई सरकारको कठपुतली बनाएर अधिनायकवादी वाटोमा लैजाने अध्यायदेश किन जारी भए ? अनि किन यति छिटै खारेज भए ? के सरकारले ल्याएको जस्तोसुकै निर्णयमा छाप लगाउनेमात्र काम हो राष्ट्रपतिको ? 

Dabur Nepal

यस सन्दर्भमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको कार्यकालमा भएको एउटा निर्णय बारे लेख्न मन लाग्यो । राजनीतिक संक्रमणका कारण राष्ट्रपति भण्डारीको तुलनामा राष्ट्रपति यादवको कार्यकाल निकै चुनौतीपूर्ण थियो । दलहरुलाई मिलाएर गणतन्त्र संस्थागत गर्नु थियो, संविधान निर्माणमा अविभावकीय भूमिका खेल्नु थियो । गणतन्त्रमा राष्ट्राध्यक्षको भूमिका र परम्परा स्थापित गर्नु थियो । 

‘‘तपाइँको सात वर्ष दुई महिने कार्यकालको सबैभन्दा कठिन निर्णय कुन थियो ?’’ भन्ने लेखकको प्रश्नमा डा. यादवले भनेका थिए – ‘‘धेरै उतार चढाव भए । तर, म आफैँलाई ‘ड्यामेज’ गरेको घटना चाहि लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दा हो ।’’
अन्तरात्माले स्वीकार नगर्दा नगर्दै उनले कार्कीलाई नियुक्त गर्नु परेको थियो । 

संविधान दिन नसकेर पहिलो संविधान सभा स्वतः विघटन भएपछि प्रमुख दलका नेताहरूको सहमतिमा प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको थियो । त्यसको दुई दिनपछि २०६९ चैत्र ३ गते प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित ‘उच्च स्तरीय राजनीतिक समिति’ गठन भयो । समितिको पहिलो बैठकको मूल एजेन्डा थियो – ‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि कार्कीको नाम सिफारिस गर्ने ।’’ 

राजाको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीले जनआन्दोलन दबाउन निर्णायक भूमिका खेलेका थिए । जनआन्दोलन दमनको छानबिन गर्न ‘‘सर्वोच्च अदालतका न्यायाधीश कृष्णजंग रायमाझीको संयोजकत्वमा गठित आयोगले कार्कीलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस’’ गरेको थियो । संविधानमा अख्तियार प्रमुख हुन उच्च नैतिक चरित्र भएको हुनुपर्ने प्रावधान छ । कार्कीमा त्यो योग्यता थिएन । जनता माझसमेत उनको छवि राम्रो थिएन । कार्कीको नाम सिफारिस भएपछि राष्ट्रपति यादवले एक महिनाको बीचमा तीनपटक अध्यक्ष रेग्मीलाई बोलाएर निर्णय फिर्ता लिन सम्झाए । 

‘‘सम्माननीय अध्यक्ष जी, अहिले हाम्रो लक्ष्य चुनाव गराउने हो । कार्कीको नियुक्तिले गाह्रो हुन्छ । वातावरण बिग्रन्छ । जनताले स्वीकार्दैनन् । मुख्य सचिव हुदा उहा“को क्रियाकलाप जनताले पचाएका थिएनन् । नगरौँ ।’ अध्यक्ष रेग्मीसँगको कुराकानी वारे डा. यादवले लेखकलाई सुनाए  । ‘‘नियुक्त गर्नै पर्ने भए कार्कीबाहेक अरु कसैको नाम ल्याउनुस् । हैन भने पहिला चुनाव गराऊँ । उहाँलाई नगराैँ ।’’

राष्ट्रपतिले नियुक्त नगर्ने संकेत पाएपछि अध्यक्ष रेग्मीले तत्कालीन एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा गरी चारै दललाई कार्कीको नियुक्तिका लागि सहमत गराए । अनि ‘‘२०७० साल वैशाख २२ गते संवैधानिक परिषद्बाट निर्णय गराई’’ एकैपटक नियुक्तिका लागि शीतलनिवासमा पठाई दिए । 

संवैधानिक परिषद्को निर्णयसहित सरकारले नियुक्तिका लागि पत्र नै पठाएपछि राष्ट्रपति यादव अप्ठेरोमा परे । तैपनि कार्कीको नियुक्ति रोक्ने प्रयास भने जारी राखे । प्रमुख दलका नेताहरु पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनाल र विजयकुमार गच्छदारलाई निर्णय फिर्ता लिन आग्रह गर्दै उनले भनेका थिए – ‘‘यो लफडा ल्याएर तपाईँहरुले के गर्न खोजेको ? तपाईँहरु सरकारलाई सिफारिस गर्न लगाउने तर सार्वजनिकरुपमा प्रतिरक्षा पनि नगरी सुतुरमूर्गजस्तै टाउको लुकाएर बस्ने ? आफू लुक्ने, कार्यकर्तालाई सडकमा नारावाजी गर्न पठाउने ? यसले त चुनावी वातावरण बिगार्छ । तत्काल बैठक बसेर निर्णय ठीक हो भन्ने लाग्छ भने कार्कीको प्रतिरक्षा गर्नुस्, हैन भने सँच्याएर अघि बढ्नुस् ।’’  

राष्ट्राध्यक्षको अनुनय विनयको सुनुवाइ भएन । 

बरु एमाओवादी अध्ययक्ष दाहालले फोन गरे – ‘‘राष्ट्रपतिजी कार्कीलाई गरिदिऊँ । झलनाथ खनाल र विजयकुमार गच्छदारले पनि त्यही कुरा दोहोर्‍याए । कांग्रेस सभापति सुशील कोइराला भने अलमलमा थिए तर अन्तिम क्षणमा उनी पनि टिक्न सकेनन् । 

संविधानसभा विघटन भएपछि सबै दलको सहमतिमा निर्णय लिने परम्परा बसाएका राष्ट्रपति अप्ठेरोमा परे । तैपनि, उनले अध्यक्ष रेग्मीलाई भनेका थिए – ‘‘सक्नुहुन्छ पुनर्विचार गर्नुस्, सक्नुहुन्न चुनावपछि नियुक्त गर्ने गरी सहमतिमा पुग्नुस् ।’’ तर पनि रेग्मीलाई सम्झाउन सकेनन् । वैशाख २२ गते सरकारले नियुक्तिका लागि पत्र पठाएको थियो । तीन दिनसम्म फाइल शीतलनिवासमा  थन्कियो । 

तेस्रो दिन बिहान अध्यक्ष रेग्मीले शीतलनिवास पुगेर भने – ‘‘सम्माननीय राष्ट्रपतिज्यूसँग म हात जोड्छु । मलाई चुनाव गराउनका लागि यति काम गरिदिनु पर्‍यो ।’’ 

चुनाव गराउनका लागि दलहरुको सहमतिमा बहालवाला प्रधान न्यायाधीशको  अध्यक्षतामा सरकार बनाएको छ । उनै अध्यक्ष हात जोडेर भन्दैछन् – ‘‘यो काम भएन भने मलाई चुनाव गराउन अप्ठेरो पर्छ । सिफारिस कार्यान्वयनमा ढिलाइ भए उत्पन्न हुनसक्ने दुर्घटनातर्फ ध्यान दिन जरुरी छ ।’’
राष्ट्रपति डा. यादव तैपनि कार्कीलाई नियुक्ति नगर्ने मनःस्थितिमै थिए । एकपटक पुनर्विचार गर्नु भनेर फाइल सरकारलाई फिर्ता गरी दिने पक्षमा थिए उनी । 

सल्लाहकार समूहसँगको गर्मागर्म बहसपछि राष्ट्रपति यादव त्यो निष्कर्षमा पुगेका थिए । उनको कार्यकालको सबल पक्ष नै बलियो सल्लाहकार समूह थियो । कैयौंपटक गर्मागर्म छलफल हुँदा राष्ट्रपतिको विचार सल्लाहकारसँग मिल्दैनथ्यो । तर, अन्त्यमा उनी सल्लाहकारले दिएकै मार्गमा हिँडे ।

त्यो दिन पनि लामै बहस भयो । त्यही आधारमा प्रेस सल्लाहकार राजेन्द्र दाहालले मिडियालाई भनेका थिए – ‘‘राष्ट्रपतिज्यूले सिफारिसको कानुनी पक्ष अध्ययन गरिरहनु भएको छ । अध्ययनपछि निर्णय हुन्छ ।’’ सल्लाहकार समूहसँगको छलफलपछि नै मिडियालाई कुन तहको सूचना दिने भन्ने तय भएको थियो । अध्यक्ष रेग्मीसँग भेट भएको भोलिपल्ट मिडियामा समाचार प्रकाशित भयो – ‘‘सिफारिस अस्वीकार गर्नेदेखि अस्वीकार गर्दा कस्तो भाषा प्रयोग गर्ने भन्ने गृहकार्य भैरहेको छ ।’’ 

‘घटनाक्रमले राष्ट्रपति यादवलाई एकदमै चिन्तित बनाएको थियो । बेचैन थिए उनी । सरकार प्रमुखको कुरा सुनेर निर्णय लिऊँ जनमत त्यसको ठीक विपरीत छ । सरकारको निर्णय कार्यान्वयन नगरौँ चुनाव गराउनै गाह्रो हुन्छ भन्ने मन्त्रिपरिषद्का अध्यक्षको भनाइ डा. यादवले लेखकलाई सुनाए – ‘मैले सोचेँ । ठूलो लक्ष्यका लागि अघि बढेको बेला सानोतिनो कुरामा अड्कियौँ भने चुनाव हुन सक्तैन । संक्रमणकाल झनै लम्मिन्छ । जब मैले शक्ति पृथकीकरणको सिद्धान्तमा संझौता गरेर बहालवाला प्रधान न्यायाधीश रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष स्वीकार गरी सकेँ भने कार्की त त्यसका ‘बाइप्रोडक्ट’मात्र हुन् । अध्यक्ष रेग्मीलाई  सम्झिए ।

दलहरुतिर हेरे – ‘‘चारतिर फर्किएका प्रमुख चार दल यही मुद्दामा एक ठाउ“मा छन् । कार्कीको नियुक्ति रोकेर संक्रमणकाल लम्याउनुभन्दा घुमाउरो बाटोबाट भए पनि चुनावमार्फत लोकतन्त्र र गणतन्त्रको गाडीलाई अघि बढाउने दायित्व सम्झिए । अनि कार्कीलाई स्वीकार गरेँ ।’’

राष्ट्रपतिबाट निवृत्त भएर बागडोल निवासमा सरेपछि लेखकलाई उनले सुनाए – ‘‘अहिले आएर सोच्दा लाग्छ सदर नगरेर एकपटक  फिर्ता गरिदिएको भएहुन्थ्यो । दोस्रोपटक मन्त्रिपरिषद्ले सिफारिस पठाउन सक्थ्यो । त्यति बेला संवैधानिकरुपमा मैले रोक्न सक्ने आधार हुने थिएन । त्यसपछि नियुक्ति गरेको भए मलाई दोष लाग्ने थिएन ।’’ 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro