काठमाडौं । वैशाख ३१ गते हुन लागेको पहिलो चरणको निर्वाचन सुरक्षामा ४५ हजार बढी प्रहरीहरु फिल्डमा खटिइसकेका छन् ।
प्रहरी कर्मचारी र म्यादी प्रहरी गरी ४५ हजार बढी चुनावी सुरक्षाका लागि खटिएको नेपाल प्रहरीले जनाएको छ ।
वैशाख ३१ गते ३ वटा प्रदेशमा मतदान हुँदैछ । २२ हजार ६ सय १५ जना प्रहरी कर्मचारी तथा २२ हजार ६ सय ९९ म्यादी प्रहरी खटाइएको छ ।
प्रहरी प्रधान कार्यालयले ४ हजार ८ सय ८७ जना प्रहरी कर्मचारीलाई थप मद्धतका लागि पहिलो चरणको निर्वाचन हुने स्थानमा खटाएको जनाएको छ । त्यस्तै प्रधान कार्यालयले २ सय २० वटा सवारी साधन पनि उक्त प्रदेशमा पठाएको छ ।
स्थानीय निकायको पहिलो चरणमा वैशाख ३१ गते हुने निर्वाचन सुरक्षाका लागी प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय, क्षेत्रीय प्रहरी कार्यालयहरु बिराटनगर तथा दिपायल, प्रहरी युक्ति महाविद्यालय र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट गरी प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने जिल्लाहरुमा थप मद्धतका लागि पठाइएको छ ।
खटाइएकामध्ये गोरखामा ५ सय ५५, बाग्लुङमा १०, नुवाकोटमा ६ सय १४, पर्वतमा २५, काभ्रेमा ६ सय ५१ सिन्धुपाल्चोकमा ४ सय ५१, स्याङजामा ७०, म्याग्दीमा १२, धादिङमा ३ सय १३, लम्जुङमा ८१, कास्कीमा ४०, चितवनमा ८१, तनहँुमा ८९, मकवानपुरमा ८०, रसुवामा १४, सुर्खेतमा ३ सय ९३, नवलपरासीमा ५, सिन्धुलीमा १ सय ३०, दोलखामा १ सय ८६, रामेछापमा १ सय २४, दैलेखमा १ सय ४२, कालीकोटमा १ सय १२, जुम्लामा २६, जाजरकोटमा ७२, सुर्खेतमा १ सय २९, सल्यानमा ४ सय २५ र रुकुममा ५७ जना थप प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निर्वाचनको घोषणा भए पश्चात प्रहरी प्रधान कार्यालयले केन्द्रमा केन्द्रीय निर्वाचन समन्वय कक्ष २०७४ स्थापना गरी प्रहरी परिचालन गर्दै आएको छ ।
यसैबीच प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्वाचन सुरक्षामा जुट्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।
“चुनाव हुन्छ, सरकारले तयारी तीव्र पारेको छ,” उनले प्रहरी मुख्यालयमा सोमबार प्रहरी अधिकारीलाई निर्देशन दिँदै भने, “निर्वाचन सम्पन्न गराउन प्रहरीलाई ठुलो अवसर र चुनौती छ । त्यो पूरा गर्न रात दिन नभनि लाग्नु र लगाउनू ।”