काठमाडौं । एक भारतीय नागरिकले नेपालमा बसेर क्यानाडा पठाइदिने भन्दै सयौं जनालाई ठगी गरेको रहस्य खुलेको छ । भारत गुडगाउँका विजेन्द्र सिंह यादवले केही एजेन्टलाई प्रयोग गरी क्यानाडाको भिसा लगाइदिने भन्दै ठगी गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।
६८ जनाले प्रहरीमा उजुरी दिएका थिए ।
क्यानाडाको वर्किङ भिसा मिलाईदिने भन्दै यादवले ६८ जनाबाट ७ करोड भन्दा बढी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
६८ जनालाई नक्कली भिसा देखाएर एकजनाबाट १५ लाखसम्म रकम असुल्ने गरेका थिए । उनलाई प्रहरीले गतसाता थानकोटबाट पक्राउ गरेको हो ।
यादवले काठमाडौं टेकुका प्रकाश बज्राचार्य, रोल्पाका कमल बुढामगर लगायतका व्यक्तिबाट जम्मा भएका ६८ सर्वसाधारणबाट ७ करोड भन्दा बढी रकम असुलेको अनुसन्धानबाट खुलेको प्रहरी परिसर काठमाडौंका डीएसपी रवीन्द्र रेग्मीले बताए ।
सिराह ठेगाना भएको बताउने यादवबाट प्रहरीले भारतीय परिचयपत्र र भारतीय विभिन्न बैंकका ५ वटा एटीएम कार्ड पनि बरामद गरेको छ ।
त्यसैगरी उनीबाट बरामद भएको मोवाईलमा ५ सय नेपालीको राहदानी र १ सय ५० वटा नक्कली भिसा लगाएको फोटोकपी भेटिएको प्रहरीले जनाएको छ ।
क्यानाडा पठाउने कन्सलटेन्सीलाई समेत ठगेको पाइयो
प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिक यादवबाट पीडित भएकामध्येका प्रकाश बज्राचार्य कन्सल्टेन्सी संचालक हुन् । बज्राचार्यले काठमाडौंको टेकुमा क्यानाडा पठाउने कन्सल्टेन्सी खोलेका छन् ।
उनको कन्सल्टेन्सीमार्फत क्यानाडा जाने भन्दै ३० जनाले प्रक्रिया थालेका थिए ।
अनुसन्धान अधिकारीका अनुसार बज्राचार्यले बुझेरै आफूकहाँ आएका ३० जनाको पासपोर्ट र पैसा यादवलाई दिएका थिए । उनले ३० जनाबाट सुरुमा उठाएर ३ करोड रुपैयाँ पनि दिएका थिए ।
रकम लिएको केही समयसम्म सक्कली जस्तै देखिने नक्कली कागजपत्र भारतबाट पठाउने गरेको प्रहरीले जनाएको छ । पछि उनी आफैँ गायव भएपछि बज्राचार्यले आफ्नो सम्पत्ति बेचेर ३० जनाको रकम फिर्ता गरे अनि यादवको खोजीमा लागे ।
यादवले क्यानाडा लैजाने भन्दै आफुलाई मात्रै नभई अन्य दजैनौं व्यक्तिलाई विचल्लीमा पारेको रोल्पाका कमल मगरले जानकारी दिए ।
यादवबाट ठगीएर रकम उठाईदिन भन्दै महानगरीय परिसर काठमाडौं पुगेका मगरले आँखाबाट आँसु झार्दै भने, “क्यानाडा जाउँला भनेर गाँउबाट ऋण गरेर रकम दिइयो । आज यसरी बिचल्ली पार्यो ।”
उनले घटनाको बेलिविस्तार लगाउँदै भने, “एकजना नेपाली एजेण्टमार्फत नै हामीले यादवलाई भेटेका हौं ? (जुन व्यक्ति पक्राउ पर्न बाँकी भएका कारण प्रहरीले नाम गोप्य राखेको छ ) । यादवले हामीलाई निकै विश्वास पनि देखायो । पूर्वराष्ट्रपतिदेखि बहालवाला मन्त्रीसम्म सँगै फोटो खिचेर हामीलाई देखाउँथ्यो । यस्तो मान्छेले पनि कसरी वदमासी गर्ला र भनेको त यो हाल बनाइदियो ।”
उनका अनुसार यादवले दिल्लीमा लगेर दूतावासका कर्मचारी भन्दै अर्का एकजनासँग चिनाजान समेत गराएका थिए ।
धेरै नै ठग्ने दाउमा थिए
अनुसन्धान अधिकारीका अनुसार पक्राउ परेका यादवको मोबाइल चेक गर्दा पाँच सय पासपोर्टको कपी र १५० वटा नक्कली भिसा लागेको कागजको फोटो फेला परेको छ । अहिले निवेदन दिएका ६८ जनालाई पनि यसैगरी ठगी गरेको प्रहरीले जनाएको छ ।
यसरी ठगी गर्थे यादव
यादवले क्यानाडा जान पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको देखाउँथे । उनले जसरी पनि जाने व्यक्तिको विश्वास जित्ने गरेको पीडितहरु बताउँछन् ।
“साढे दुई लाख रकम पहिले नै लिन्थे,” पीडित मगरले भने, “त्यति रकम लिएपछि उनी केही कागजपत्रमा हस्ताक्षर गर्न लगाउँथे । दूतावासका कर्मचारी भन्दै केही युवासँग पनि फोन गर्न लगाउँथे । अनि थप रकम माग गर्थे ।”