site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 भाषा विज्ञान जानेमा मात्रै शिक्षकले राम्ररी पढाउन सक्छ
SkywellSkywell

उनको जन्म सिरहा जिल्लाको दक्षिणी भेगस्थित नरहनिया गाउँमा भएको हो । जुन अहिले नवराजपुर गाउँपालिका अन्तर्गत पर्छ । सिरहा जिल्लाको दक्षिणी क्षेत्रमा रहेको हुलाकी सडक (जुन सडकले राजविराज र सिरहालाई जोड्छ) नरहनिया गाउँ हुँदै गएको छ ।

सिरहाको यो गाउँ पुग्नलाई उतिबेला कठिन थियो । त्यसबखत उनको परिवार लहान भएर गाउँ जाने आउने गर्दथे । पैदल यात्राको विकल्प थिएन । अहिले समय अनुरूप सबै परिवर्तन भएको छ । बस चल्छ गाउँसम्मै । 

उनको बाल्यकाल यही गाउँमा बित्यो । किसान परिवार भएकाले गोठमा सयवटा गाई भैंसी रहेको उनी बताउँछन् । ‘‘पिताजी दूध व्यवसायमा सक्रिय हुनुहुन्थ्यो ।’’

KFC Island Ad
NIC Asia

अंग्रेजी भाषा विज्ञानका प्राध्यापक योगेन्द्रप्रसाद यादव (७२) आज पनि भैंसीका पिठिउँमा चढेर हिँडेको सम्झना गर्छन् । किसान परिवारका बालकहरूको दिनचर्या नै त्यस्तै थियो ।

यद्यपि, उनको प्रारम्भिक शिक्षादीक्षा सुरु भइरहेको थियो । हुन त त्यसबेला गाउँमा स्कुल थिएन । र पनि, कखरा र पहाडा (१ देखि १०० सम्मको गिन्ती सिक्ने काम) उनले गरिसकेका थिए ।

Royal Enfield Island Ad

भाषा विज्ञान विषयमा लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका प्राडा योगेन्द्रप्रसाद यादव यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ हुन् ।

कार्यकक्षमा विनम्रताका साथ स्वागत गर्दै यादवले आफ्ना पुराना दिन सम्झिए । उनले सुनाए, “गाउँमा स्कुल नभएकाले कतै जानुपर्ने अवस्था नै थिएन । स्कुल कि त सिरहामा कि त लहानमा थियो । त्यसैले जे जति सिकें, घरमै सिकेँ ।”

घरेलु वातावरणमा दिन बितिरहे पनि पढाइलेखाइले नजानिँदो किसिमबाट आकर्षित गरिरहेको उनको भनाइ छ । यसको पहिलो कारण त, उनका हजुरबुवा सधैँ भन्थे रे, योगेन्द्रलाई पढाउनु पर्छ । त्यसपछि अर्का प्रेरक व्यक्तित्व गाउँमै थिए, यमुनाप्रसाद यादव । जो, यादव समुदायमा मास्टर्स गर्ने पहिलो व्यक्ति मानिने उनी बताउँछन् । उनै यमुना यादवले सधैँ योगेन्द्रलाई पढ्न प्रेरित गरिरहन्थे ।

विस्तारै नरहनियामा पठनपाठनको वातावरण बन्दै गयो । किनभने त्यहाँका जमिनदार परिवारका व्यक्तिहरूले आफ्ना केटाकेटी पढाउन भारतीय सहरबाट शिक्षक झिकाएर पढाउने व्यवस्था मिलाउँदै आएका थिए । 

यो मौकाको सदुपयोग योगेन्द्रको परिवारले पनि ग¥यो । ‘फलतः आफूहरूले पढ्ने वातावरण पाएको’ यादवको भनाइ छ । 

योगेन्द्र यादव भन्छन्, “गाउँमा गुरुजीहरू आए । पठनपाठकको क्रम विस्तार हुँदै गयो । निरन्तरताले उत्साह जगायो । मैले पनि पढ्ने अवसर पाएँ । त्यसबेला एक जना मात्रै केटी पढ्न आएको म आज पनि सम्झन्छु ! कस्तो समाज थियो होला, त्यसबेलाको ?” उनी हाँसे ।

त्यो समयमा योगेन्द्रले यस्तै केही शिक्षकहरूबाट पढ्ने मौका पाए । गाउँमा आएका एक जना शिक्षक युवा र उत्साही थिए । ती पनि भारतबाटै आएका थिए । यस्तै २२÷२५ वर्षका थिए होलान् । 

ती शिक्षकले त्यस गाउँका मात्रै नभएर वरपर तीन चार गाउँका जमिनदारहरूसँग भेटेर नहरनियामा स्कुल खोल्ने प्रस्तावलाई अगाडि बढाए । यसमा नहरनियाकै यमुनाप्रसाद यादवको पनि उल्लेख्य योगदान रह्यो । गाउँका पहिलो ग्य्राजुएट थिए, यमुना यादव । उनलाई गाउँमा सबैले मान्थे । उनी व्यावहारिक र लोकप्रिय पनि थिए ।

यमुनाप्रसाद र ती भारतीय शिक्षकको मिहिनेत सफल भयो । चन्दा संकलन गरेर गाउँमा स्कुल खोल्ने काम भयो । यसरी २०११ सालमा नहरनियामा स्कुल स्थापना भयो ।

योगेन्द्रप्रसाद यादव भरखर स्थापित स्कुलमा ४ कक्षामा भर्ना भए । त्यसबेला स्कुलमा पढाइने सबै किताब हिन्दी भाषामा रहेको उनी सम्झिन्छन् । नेपाली भाषा पढाइन्थेन, त्यसबेला ।

पढ्न सुरु गरेपछि योगेन्द्र यादवको सम्पर्क यमुना यादवसँग अझै झाङ्गिँदै गयो । पढे लेखेका यमुना यादवले पनि योगेन्द्रलाई सानासाना कुरामा सल्लाह दिँदै गए ।

योगेन्द्र यादवलाई पनि लाग्न थाल्यो, समाजमा खडा हुनका लागि पढाइ जरुरी रहेछ । नपढ्ने हो भने कुर्न अर्थ रहन्न । यमुना यादवको सँगतले योगेन्द्रलाई पढाइ अगाडि बढाउन हिम्मतिलो बनायो ।

४ कक्षामा स्थानीय स्कुलमा भर्ना भएका योगेन्द्र, ६ कक्षा पास गरेपछि सीमापारि मधुबनी जिल्लाको खुटौना गाउँको स्कुलमा पढ्न गए । त्यहाँ उनले २०१७ सालमा म्याट्रिक दिए ।

त्यसबेलाको एउटा रोचक प्रसँग उनले सम्झिए । योगेन्द्र यादव खुटौनामा पढ्न बस्दा स्कुलकै होस्टलमा बस्थे । यता नेपालमा ०१७ सालमा राजनीतिक उथलपुथल भए राजनीतिमा सक्रिय धेरै सानाठूला नेताहरू भारत प्रवासमा हिँडे । कतिपय स्थानीय नेताहरू भागेर खुटौनामा नै आएर  बसेको उनी आज पनि सम्झिन्छन् ।

०००

खुटौनाको स्कुलबाट म्याट्रिक दिएर योगेन्द्र नहरनिया फर्किए । उनको सम्पर्क यमुनाप्रसाद यादवसँग सधैँ नै थियो । अलिकति फुर्सद मिल्यो कि उनी यमुना यादवकोमा पुग्थे । उनीसँग बस्दा यादवबाट आफूलाई धेरै कुराको ज्ञान हुने गरेको उनी बताउँछन् ।

सानै उमेरदेखि सम्पर्क भएकाले पनि होला, उनलाई यमुनाप्रसाद यादवका कुराहरूले मन छुन्थ्यो । उनी पनि उनको कुरा मान्थे ।

म्याट्रिकको रिजल्ट आयो । योगेन्द्रप्रसाद यादव प्रथम श्रेणीमा पास भए ।

उनका अनुसार परिवारमा म्याट्रिक पास गर्ने योगेन्द्र पहिलो व्यक्ति थिए । उनका काका भने गाउँमा लेखापढीको काम गर्दथे ।

त्यसबेला राजविराजमा कलेज स्थापना भइसकेको थियो । महेन्द्र विन्देश्वरी कलेजमा गएर आइए पढ्ने निश्चित भयो । अनि उनी कलेज भर्ना भए । राजविराजबाटै यादवले बीएसम्म पास गरे ।

उनलाई सोधें– म्याट्रिकमा फस्र्ट डिभिजन आएको मानिस, किन साइन्स विषय लिएर पढ्नु भएन ?

उनी हाँसे । भने, “सही कुरो उठाउनु भयो । मलाई साइन्स पढ्नु पर्छ भन्ने सोचाइ नआएको होइन । मेरो प्रवल इच्छा पनि थियो । किनभने मेरो  अंग्रेजी र म्याथ राम्रो थियो । तर, राजविराजमा साइन्स विषयको पढाइ हुन्थेन । साइन्स पढ्न कि त मधुबनी या दरभङ्गा जानु पथ्र्यो । जुन आर्थिक दृष्टिकोणबाट सजिलो थिएन । त्यसैले मेरो यो इच्छा, इच्छामै सीमित रह्यो ।”

त्यसबेला शिक्षामा खासै खर्च गर्थेनन्, मानिस । परिवारबाट गरिने खर्च भनेको बिहे, पूजाआजा या जग्गा जमिन खरिदमा मात्र हुन्थ्यो । नगदको अभावका कारण पनि यो अवस्था हुने गरेको उनी बताउँछन् ।

यस्तोमा योगेन्द्र यादवलाई लाग्यो, ‘साइन्स पढेर घरको पैसा किन यत्तिकै खर्च गरिदिने । अरू विषय पढे पनि त हुन्छ ।’

योगेन्द्र यादवले अर्को एउटा प्रसँग सम्झिए । उनका अनुसार त्यसबखत एसएलसी रिजल्टका आधारमा कोलम्बो प्लान अन्तर्गत भारतका कलेजमा इन्जिनियरिङ पढ्न पनि पठाइन्थ्यो । काठमाडौं आएर आवेदन दिनुपथ्र्यो । त्यो बेला काठमाडौं आउनु उनका लागि असम्भव थियो । 

त्यसैले पनि उनले आइए पढ्ने निधो गरेका थिए । पढाइमा राम्रो भएकाले आइएमा राम्रो नम्बरका साथ पास भए । त्यसैले बीए पढ्दा ‘महेन्द्र छात्रवृत्ति’ पाए । छात्रवृत्ति मासिक १२० रुपैयाँ थियो ।

उनले दुई वर्षसम्मै छात्रवृत्ति पाए । खानपिनमा खासै खर्च थिएन । होटलमै खाँदा पनि महिनाको १७ देखि २० रुपैयाँमा पुग्ने उनी बताउँछन् । त्यसैले पैसा बच्थ्यो । आफूले छात्रवृत्ति बापत पाएको त्यही पैसा बचाएर एमए पढ्न खर्च गरेको उनी बताउँछन् ।

प्राज्ञ यादवले राजविराजको कलेजका प्रिन्सिपल शंकरदत्त झालाई सम्झिए, जसबाट उनले ठूलो सहयोग पाएका थिए । डा. यादव भन्छन्, “मलाई खुबै माया गर्नुहुन्थ्यो, प्रिन्सिपल झाले । उहाँले मलाई दुई वर्षसम्म आफ्नै भान्छामा खाना खुवाउनु भयो । मलाई उहाँले आफ्नो अर्को छोरा नै भन्नुहुन्थ्यो ।”

यादवले २०२३÷०२४ सालतिर ब्याचलर सके । त्यसपछि अब जागिर खानु पर्छ भन्ने सोच बन्यो । लोकसेवाले त्यसैबेला ७५ जना शाखा अधिकृतको माग गरेको थियो । जागिर खानै थियो, त्यसैले उनी दायाँबायाँ नहेरी राजधानी आए । 

शाखा अधिकृतमा जागिर खान उनको उमेरले दिएन । उनी १८ वर्षका मात्रै थिए । शाखा अधिकृत पदमा आवेदन दिनका लागि उमेर २१ पूरा भएको हुनुपर्ने थियो । 

अब के गर्ने ? उनी अस्मञ्जसमा परे । त्यसैबेला यमुनाप्रसाद यादव काठमाडौंमै थिए । उनी तत्कालीन राष्ट्रिय पञ्चायतको मनोनित सदस्य थिए । योगेन्द्र यादवले यमुनाप्रसाद यादवसँग सल्लाह गरे, अब के गर्ने भनेर ।

यमुनाप्रसादले पनि ‘जागिर न खाउ । एमए पढ’ भनेर उनलाई प्रेरित गरे । उनका लागि त्यो वचन अकाट्य थियो । उनी पनि यताउता नहेरी त्रिविमा अंग्रेजी पढ्न एमए भर्ना भए । उनलाई भन्न त राजनीतिशास्त्र लिएर पढ्न भनिएको थियो । तर, उनले राजनीतिशास्त्र नपढेर अंग्रेजीलाई महत्त्व दिए । त्यसबेला उनका सहपाठी थिए, पद्मरत्न तुलाधर । 

दुई वर्षमा उनले एमए पास गरे । त्यसैबेला एमए पढ्न आफूलाई राजविराज कलेजमा पाएको छात्रवृत्ति रकमले ठूलो सहयोग गरेको उनी सम्झन्छन् ।

एमए सक्याएर उनी गाउँ फर्किए । त्यसैताका सिरहामा कलेज खुल्ने भयो, सूर्यनारायण सत्यनारायण मरवैता कलेज । आफ्नै गाउँठाउँमा कलेज खुलेपछि अन्त किन जाने, गाउँठाउँकै कलेजमा पढाउनु पर्छ भन्दै योगेन्द्र यादवलाई सिरहा कलेजमा अंग्रेजी पढाउने जिम्मा दिइयो । उनी अब विद्यार्थीबाट गुरु बने । आफूले जानेको ज्ञान सिरहा कलेजमा विद्यार्थीमा बाँड्न थाले । 

सानोसानो कामका लागि गाउँका र वरपरका चिन्ने मानिस सिरहा आउँथे । त्यहाँ आउँदा उनको डेरामै बस्थे । सिरहा बजार, जिल्लाको केन्द्र भएकाले पनि यसमा कमी आउने अवस्था नै थिएन । विद्यार्थीलाई केही दिन आफूमा गुदी भर्नै पथ्र्यो । पाहुनालाई समय दिनुपर्दा पठनपाठनलाई बाधा भयो ।
स्थान परिवर्तनको सोच बन्यो । उनी जनकपुर गए । र, त्यहीँ रामस्वरूप रामसागर कलेजमा अंग्रेजी विषय पढाउने गरी उनले नियुक्ति पाए, कलेजका प्रिन्सिपल रामचन्द्रबहादुर सिंहबाट ।

०००

उनले जनकपुरमा १० वर्ष अंग्रेजी विषय पढाए । अंग्रेजी साहित्य प्राध्यापन गरेका उनमा भाषा विज्ञानप्रतिको मोह बलियो भएर आयो । भाषा विज्ञान अलिक टेक्निकल विषय भएकाले पनि आफ्नो रुची त्यस तर्फ रहेको उनको तर्क छ ।

प्राडा योगेन्द्र यादवले पढेको सैद्धान्तिक भाषा विज्ञान गणितमा आधारित तथा उत्कृष्ट रहेको उनी बताउँछन् । उनले भाषा विज्ञानको पढाइमा विशेष समय खर्चिए । म्याट्रिकपछि विज्ञान पढ्न नपाएका यादवले भाषा शास्त्रकै विज्ञान पढेर भए पनि आफ्नो अतृप्त चाहना पूरा गरेभन्दा अतिशयोक्ति नहोला !

उनी जनकपुर कलेजमा पढाउँदै थिए । कमलप्रकाश मल्ल रेक्टर थिए । त्यसैबखत त्रिविबाट आएको एउटा सूचनामा हैदराबादको ‘सेन्ट्रल इन्स्टिच्युट अफ इंगलिस एन्ड फरेन ल्याङवेजेज’, सञ्चालनमा आएको जानकारी दिइयो । त्यहाँबाट भाषा विज्ञान विषयमा तालिम लिन इच्छुकहरूलाई आवेदनका लागि आह्वान गरियो । यो मौका यादवले छोड्ने कुरै आएन ।

उनले पनि आवेदन दिए । त्यसका लागि कडा प्रतिस्पर्धा थियो । त्यहाँ  जाने पाँच जना छानिए । योगेन्द्र पनि परे । उनी तालिम लिन हैदराबाद पुगे ।

उनी केही समयका लागि त्यहाँ गएका थिए तर उनलाई लाग्यो, हैन अझै धेरै गर्न बाँकी रहेछ ।

डा. यादव भन्छन्, “हैदराबादको त्यो इन्स्टिच्युटमा पुगेर तालिम लिन सुरु गरेपछि मलाई लाग्यो, यो ठाउँमा आइसकेपछि त पीएचडी गर्नैपर्छ । मैले पीएचडी अप्लाई गरे । उक्त इन्स्टिच्युटबाट सहयोग पनि मिल्यो । त्यहींबाटै डिप्लोमा, एमफिल र पीएचडी गरेर फर्किएँ । त्यसबेला म पाँच वर्ष नै हैदराबाद बसेँ ।”
त्यसबेला साउथ एसियामै फस्र्ट पोजिसन ल्याएका थिए । भारतमै पनि उनले गरेको भाषा विज्ञान विषयक थेसिस हेरेरै आज पनि धेरैले आफ्नो पढाइलाई अगाडि बढाएको उनी बताउँछन् ।

हैदराबादबाट यादव जनकपुर फर्किए । र फेरि विद्यार्थीलाई पढाउने दैनिकीमा सक्रिय भए । तर, त्यसबेला भने उनलाई लाग्यो, ‘हैन, यतिका मिहिनेत गरेर भाषा विज्ञान पढेर आएँ । यहाँभन्दा त अब काठमाडौं नै बस्नु उपयुक्त होला ।’ 

अर्थात्, आफूले प्राप्त गरेको तालिम र शिक्षाको कुनै उपयोग जनकपुरमा भएको जस्तो उनलाई अनुभव भएन ।

त्यसबेला उनलाई नियुक्ति दिने रामचन्द्रबहादुर सिंह त्रिविका उपकुलपति थिए । सिंहलाई थाहा थियो, डा. योगेन्द्र यादवले भाषा विज्ञानमा पीएचडी गरेर आएका छन् । संयोग, त्यही समयदेखि त्रिवि केन्द्रीय क्याम्पसमा पनि भाषा विज्ञान पढाउने काम सुरु भएको थियो । 

भाषा विज्ञान नै पढाउने शिक्षक काठमाडौंमा थिएनन् । शिक्षक नभएका कारण विद्यार्थीले हडताल गरेका थिए । उपकुलपति सिंहले डा. यादवलाई फोन गरेर तुरुन्तै काठमाडौं आउन भने । प्राडा यादवको सोचले पूर्णता पायो ।

यसरी सिंहले नै डा. योगेन्द्र यादवलाई त्रिविमा भाषा विज्ञान पढाउने मौका दिए । उनी पनि २०४९ सालमा काठमाडौं उक्लिए र विद्यार्थीलाई भाषा विज्ञान पढाउन थाले ।

बिस्तारै अंग्रेजी भाषा विज्ञान (लिङ्विस्टिक) मा पीएचडी गरेका केही शिक्षकहरू थपिए । माधव पोखरेल, तेजरत्न कंशाकार, चूडामणि बन्धु र योगेन्द्र यादवलगायतका भाषा विज्ञान शिक्षकहरू थिए त्यहाँ । 

त्यसैबेला यी शिक्षकहरूलाई लाग्यो, ‘अब भाषा विज्ञानको बेग्लै विभाग हुनुपर्छ’ । र तिनीहरूले बेग्लै विभागको आवश्यकताका विषयमा आफ्ना धारणा सरोकारवालाहरू समक्ष राखे । 

अन्ततः भाषा विज्ञान अध्ययन अध्यापनका लागि त्रिविमा बेग्लै विभाग स्थापना भयो । जसको विभागीय प्रमुख भएर उनले प्राडा योगेन्द्रप्रसाद यादवले दस वर्षसम्म काम गरे ।

कुराकानीका क्रममा प्राडा यादवले भने, ‘‘साहित्य पनि भाषा हो, तर जबसम्म भाषाको संरचनाका विषयमा थाहा हुँदैन, तबसम्म त्यो भाषाले के सन्देश दिएको छ वा दिन खोजेको छ, बुझ्न गाह्रो हुन्छ ।’’

डा. यादव भन्छन्, “एउटा लेखकले कथा, कविता, उपन्यास वा नाटक, जे लेखेको होस्, त्यो लेखाइलाई सही रूपमा बुझ्न भाषाको संरचनाबारे ज्ञान हुनु जरुरी छ । भाषाको संरचना बुझ्नका लागि भाषा विज्ञान पढ्नै पर्छ । त्यसका विषयमा जान्नै पर्छ । कुनै पनि कुरा लेख्नका लागि भाषा विज्ञानको ज्ञान आवश्यक छ ।”

राम्रो भाषा विज्ञान नजानेकाले राम्रो लेख्न नसक्ने उनको तर्क छ । लेखकलाई मात्रै होइन, एउटा शिक्षकलाई पनि भाषा विज्ञानको ज्ञान हुनु आवश्यक रहेको उनी बताउँछन् । भाषा विज्ञान जानेमा मात्रै शिक्षकले राम्ररी पढाउन सक्छ ।

कुराकानीकै क्रममा उनले एउटा प्रसंग जोडे । एक पटक त्रिविको अंग्रेजी विभागलाई राम्रो बनाउनैका लागि ब्रिटिस काउन्सिलसँग सहयोग मागियो । काउन्सिलले पनि एक जना अंग्रेजी विषयका ज्ञाता एलेन डेभिसलाई त्रिविमा पठायो । उनी अंग्रेजी विभागको प्रमुख नै भएर बसेका थिए । उनलाई एडिनबराबाट झिकाइएको थियो ।

प्राडा योगेन्द्रप्रसाद यादव भन्छन्, “उनैले पहिलो पटक त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानको कक्षाको थालनी गरेका हुन् । उनले भाषा विज्ञानको पूरै कोर्स रिभाइज गरेका थिए । त्यसबखत एमएमा मात्रै नभएर बीएमा पनि भाषा विज्ञान पढाउने गरी पाठ्यक्रम परिवर्तन गरिएको थियो ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ०९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro