site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 जेल जान्छु, तर पञ्चायतको समर्थनमा कागज गर्दिनँ भनेँ
SkywellSkywell

पिताजीको देहान्तपछि घर परिवार हेर्नुपर्ने भएकाले उनी पिपरामै थिए । उनका एकजना काका मथुराप्रसाद मिश्र गाउँमै थिए । उनी हरेक बिहान मथुरा काका कहाँ पुग्थे, भेटघाटका लागि ।

काकाको घरै अगाडि एउटा पान पसल थियो । त्यो पान पसलमामा कहिले काहीँ उनी पनि गाउँघरकालाई साथ दिँदै पान खान्थे । उनका काका भने, यहीँ आएर पान मँगाएर खाए हुन्न भन्दै उनीमाथि झोक्किन्थे । 

एक दिन पान पसलमै भेटिए, गाउँकै ईश्वरनारायण पाण्डे । उनको साथमा एउटा पत्रिका थियो । जुन पत्रिकामा झापा जिल्लाको भद्रपुर कलेजका लागि राजनीतिशास्त्रको ‘लेक्चरर’ माग गरिएको सूचना छापिएको थियो । त्यही सूचनाले उनको जीवनको मार्ग अर्कोतिर मोडिदियो ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

प्राध्यापक महेन्द्रनारायण मिश्र (८२) का लागि यो सुनौलो अवसर थियो । उनले सोचे, ‘हैन । यो जागिर खानु पर्छ ।’ त्यसैले उनी भारतीय भूभागको कठियार हुँदै गलगलिया पुगे । मेची नदी तरेर भद्रपुर गए । उनले राजनीतिशास्त्रको प्राध्यापनका लागि कलेजमा आवेदन दिए ।  

कलेज प्रमुख वसन्तकुमार खड्का र सचिव शम्भुलाल श्रेष्ठ थिए । उनको अन्तरवार्ता भयो । उनी राजनीतिशास्त्र पढाउने गरी छानिए । विसं २०२५ सालमा मिश्रसँगै भद्रपुर कलेजमा छ जनाको नियुक्ति भयो, रामस्वार्थ झा, मोहनराज शर्मा, घनश्याम खनाल, लीला शर्मालगायतको । 

यहाँबाट नयाँ कर्म सुरु भयो । मिश्रले विद्यार्थीलाई राजनीतिशास्त्र पढाउन सुरु गरे । तिनको तलब मासिक ६ सय ७५ रुपैयाँ थियो ।

प्राध्यापक महेन्द्रनारायण मिश्रको गठ्ठाघरस्थित निवासमा बुधबार बिहान पुग्दा उनी बिहानको धिपधिपे घाममा पर्खेर बसिरहेका थिए । कुराकानीका क्रममा उनी हाँसे । अनि भने, “त्यसबेला शाखा अधिकृतको तलब ४ सय ५० रुपैयाँ थियो । तर, झापातिर कोही पनि जान नमान्ने भएकाले त्यहाँ जानेलाई अलिक बढी तलब तोकिएको थियो । त्यहाँ ६ सय ७५ रुपैयाँ पाइन्थ्यो ।” 

भद्रपुर कलेजमा महेन्द्रनारायण पढाउँदै थिए । एकपटक चितवनको रामपुरस्थित प्रशिक्षण केन्द्रमा त्रिभूवन विश्वविद्यालयको राजनीतिशास्त्र र समाजशास्त्रका शिक्षकहरूको बृहत्त भेला हुुँदैथियो । उनले कलेजका प्रिन्सिपललाई त्यो भेलामा आफू जान इच्छुक भएको जानकारी दिए, तर प्रिन्सिपलले अरू कसैलाई पठाउने कुरो गरे ।

मिश्रले ‘आफू अहिलेसम्म यस्तो कार्यक्रममा नगएको, र अगाडि पनि अरूले नै मौका पाएको भन्दै आफू नै जान पाउनु पर्ने’ जिकिर गरे । आखिर, उनले त्यहाँ जाने स्वीकृति पाए ।

२०३६ सालको विद्यार्थी आन्दोेलन पछिको समय थियो । त्यतिबेलाका  उपकलुपतिको नामै भीसी मल्ल थियो । उनी पनि त्यो कार्यक्रममा आएका थिए । अरू पनि धेरै विद्वान्हरूको उपस्थिति थियो, रामपुरमा । त्यहाँ डा. हर्क गुरुङ पनि थिए । 

त्यो भेलामा प्रचण्ड प्रधानले महेन्द्रनारायणको क्रियाकलापमाथि निगरानी गरिरहेका रहेछन् । एक दिन मिश्रलाई एकान्तमा लगेर प्रचण्ड प्रधानले भनेछन्, ‘अब भद्रपुरमा तपाईँको काम छैन । तपाई काठमाडौं आउनुस् ।’

प्रा. मिश्रको मुहार टलक्क टल्कियो । उनले भने, “हेर्नुस्, धारा कसरी बदलिन्छ जीवनको ! प्रधानजीले भन्नु भयो, ‘जनप्रशासन (पब्लिक एड्मिनिस्ट्रेसन) विषयमा ब्याचलर्स लेवेल खोल्न चाहेका छौं । तपाई काठमाडौं आउनुस् ।’ उनले मेरो स्वीकृति मागे । मैले हुन्छ भन्दै स्वीकृति दिएँ । केही समयपछि मेरो सरुवा काठमाडौंमा भयो जनप्रशासन विषय पढाउने गरी । त्यसबेला ‘डिप्लोमा इन पब्लिक एडमिनिस्ट्रेसन’ भनिन्थ्यो ।”

उनी सरुवा भएर काठमाडौं आए । सुरुमा जनप्रशासन विषयकोे कक्षा शंकरदेव कलेजमा पढाइन्थ्यो । पछि त्यो जनप्रशासन पढाउनका लागि बेग्लै भवन भाडामा लिइयो, डिल्लीबजारमा, त्यो पनि केही समयपछि त्रिपुरेश्वरको आफ्नै भवनमा गयो । (जहाँ अहिले व्यापारिक भवन वल्र्ड ट्रेड टावर छ ।)

प्राध्यापक मिश्रका अनुसार यो नितान्त संयोग नै थियो । जुन विषयमा उनलाई रुची नै थिएन, त्यही विषयको शिक्षक भएर उनी काठमाडौं भित्रिएका थिए । र उनले त्यही विषय लामो समयसम्म आफ्ना विद्यार्थीहरूलाई पढाए । आज उनले पढाएका हजारौं विद्यार्थी प्रशासनिक सेवामा छन् । 

मिश्र भन्छन्, “मैले एक घण्टा पढाउने विषयको तयारी दैनिक तीन घण्टासम्म गर्थेँ । त्यसैले पनि मेरा विद्यार्थी मैले पढाउँदा सदैव सन्तुष्ट भए । आज पनि ती विद्यार्थीहरूले मलाई मान र सम्मान दिन्छन् ।”

जनप्रशासन कलेजमा उनको प्राध्यापन चलिरहेको थियो । त्यसैबेला उनले फेरि एउटा अर्को सूचना पाए । त्यो थियो जनप्रशासन विषयमा मास्टर्स गर्ने । त्यतिखेर यूएसएआइडीको स्कलरसिपमा फिलिपिन्समा मास्टर्स गर्न जानु थियो । यसका लागि तीन जना छानिए । उनी पनि गए । तीन वर्षमा मास्टर्स गरेर फर्किए ।
फेरि जनप्रशासनमै उनका दिन बित्न थाले ।

०००

प्राध्यापक महेन्द्रनारायण मिश्रको जन्म महोत्तरी जिल्लाको पिपरामा भएको हो । पिपराको मिश्र परिवार प्रशिद्ध परिवार हो । जिल्लामा मात्रै नभएर मुलुकमै पिपराका मिश्रहरूको ख्याति रहेको उनी बताउँछन् ।  

पिपरामा महेन्द्रनारायणका हजुरबुबाले बनाएको मुल घर १ सय ७५ वर्ष पुरानो छ । आज पनि मानिस छक्क पर्छन् उनको त्यो पुख्र्यौली घर देखेर । 

यही पुख्र्यौली थलोमा महेन्द्रनारायणको बाल्यकाल बित्यो । त्यहीँको अयोध्या मिडिल स्कुलमा उनको पढाइ–लेखाइ सुरु भयो । उनी आफू पढाइमा ठीकठाक नै रहेको बताउँछन् ।

आफ्नो औषत स्तरको पढाइका साथ सात कक्षाको मध्यतिर पुग्दा उनलाई उनका पिताजीले ‘छोरालाई अंग्रेजी स्कुलमा पढाउनु पर्छ’ भन्ने सोच्दै उनलाई दरभंगा नजिकको मधुवनीस्थित वाट्सन इङ्लिस हाई स्कुलमा भर्ना गरिदिए ।

महेन्द्रनारायण भन्छन्, “मलाई बुवाले एकै चोटी दस कक्षामा भर्ना गराई दिनुभयो । सायद त्यसो नगरेको भए राम्रो हुन्थ्यो होला ! किनभने त्यो डबल प्रोमोसनले मेरो पढाइमा धेरै असर गर्‍यो ।”

दस कक्षामा भर्ना भइसकिएको थियो । पढाइ पूरा गर्नै पथ्र्यो । त्यसैले म्याट्रिक पास गर्न ‘जिउज्यान’ दिएर मिहिनेत गरे । 

उनको अंग्रेजी राम्रो थियो । हिसाब खासै राम्रो थिएन । त्यसले पनि उनको पढाइमा अलिकति असर गर्‍यो । त्यसबेला मधुवनीलगायत बिहारका स्कुलमा १०० नम्बरको परीक्षामा ८० नम्बरको लिखित परीक्षा हुन्थ्यो भने २० नम्बरको एसिस्मेन्ट हुन्थ्यो । तर, त्यसबारेमा उनलाई कुनै ज्ञान नै थिएन । उनले जाँच दिँदै गए ।
नौ वटा विषय पढनु पथ्र्यो । फाइनल परीक्षाको एसिस्मेन्टमा उनले ९/९ नम्बर मात्रै ल्याए । जे होस्, उनी म्याट्रिक पास भए, हायर सेकेन्ड डिभिजनमा । यो भनिरहँदा उनी हाँसे । भने, “म्याट्रिकमा फस्र्ट डिभिजन अलिकति नम्बरले चुक्यो !”

मधुवनीमै एउटा चर्चित कलेज थियो, आरके कलेज । उनी भने आईए पढ्न मुजफ्फरपुरको एलएस कलेज पुगे । त्यहाँ आईएको पढाइ नहुने भएकाले मधुवनी नै फर्किए । अनि आरके कलेजमै पढाइ सुरु भयो ।

दुई वर्ष अर्थात् सन् १९५७ मा हायर सेकेन्ड डिभिजनका साथ उनले आईए पास गरे । त्यसपछि उनी फेरि एलएस कलेज, मुजफ्फरपुर पुगे ।

०००  

आईए पास गर्नुभन्दा अगाडि नै महेन्द्रनारायणको बिहे भइसकेको थियो । उनको ससुराली मुजफ्फरपुर निकटको धरहरा गाउँमा थियो । उनको पत्नीका दाजुभाइ त्यसबेला मुजफ्फरपुरमै बस्थे ।  बीएको दुई वर्षे कोर्स थियो । तर, उनका पिताजीले बीए अनर्स गर्न महेन्द्रनारायणलाई सुझाए । साधारण बीए १ हजार अंकको थियो भने अनर्सका लागि अर्को ३ सय अंक थप पढेर जाँच दिनुपथ्र्यो । 

अंग्रेजी अपेक्षित राम्रो भएकाले अंग्रेजीमै अनर्स गर्न चाहन्थे । उनका साला÷जेठान र तिनका साथीहरूले उनलाई भने, ‘अंग्रेजी एकै पटकमा पास गर्न सक्नु भयो भने त धेरै राम्रो हुन्छ । तर, पास गर्न सक्नु भएन भने अनर्स पूरा हुँदैन ।’

प्राध्यापक मिश्र भन्छन्, “त्यसबेला भनिएको एउटा लाइन मलाई आज पनि सम्झना छ– ‘बेटर रिजल्ट इज बेटर द्यान ए बेटर सब्जेक्ट ।’ नातेदारले ‘तपाईं अनर्स बरु राजनीतिशास्त्रमा गर्नुस् ।’ मैले पनि राजनीतिशास्त्र नै लिएर पढाइ सुरु गरेँ ।”

उनी राजनीतिशास्त्र लिएर बीए अनर्समा भर्ना भए । होस्टलमा बसेर पढ्न थाले । राजनीतिशास्त्र आफ्नो सोचभन्दा बाहिरको विषय थियो । त्यसैले मिहिनेत पनि अधिक गर्नुथियो । उनले मिहिनेत पनि खुबै गरे । र, राजनीति शास्त्रमा बीए अनर्स गरे ।

राजनीतिशास्त्र भित्रै जन–प्रशासन विषय पनि पढ्नु पथ्र्यो । तर, यो जनप्रशासन विषय उनलाई कहिल्यै रुचिकर लागेन । बस्, कोर्समा भएकाले पढ्नु पथ्र्यो । उनी पनि उक्त विषय पास हुनका लागि मात्रै पढ्थे । 

कालान्तरमा रुची नभए पनि पढिएको यही विषयले उनको जीवनको धारा बदलिदिएको बताउँछन् ।

पढ्नु त पर्‍यो नै । त्यसको जाँच पनि दिइयो । तर, जनप्रशासन (पब्लिक एडमिनिस्ट्रेसन) विषयमा उनले जम्मा ३१ अंक मात्रै पाए । ३० भन्दा कम नम्बर आएको भए उनले फेरि परीक्षा दिनुपथ्र्यो ! धन्न, जाँच फेरि दिनुपरेन । यतिबेला अरू विषयमा राम्रो नम्बर ल्याएकाले पनि उनी हायर सेकेन्ड डिभिजनमा पास भएका थिए ।

कुराकानीकै क्रममा उनले सम्झिए, त्यसबेलाका प्राध्यापकहरू विश्वनाथ अग्रवाल, डा. ललन सिंह, डा. डीएन मल्लिकहरूलाई । यी आफू पढेको कलेजका उत्कृष्ट प्राध्यापक भएको बताए ।

सन् १९५९ मा बीए सकेर उनले सोही कलेजमा मास्टर्सको पढाइ सुरु गरे । 

उनले एउटा प्रसङ्ग सम्झिए । उनकै परिवारका दुई व्यक्तित्व तत्कालीन नेपाली राजनीतिमा सक्रिय थिए, भद्रकाली मिश्र तथा रामनारायण मिश्र । 

उनी मुजफ्फरपुरमा मास्टर्स पढ्दै गर्दा एकपटक काठमाडौं पुगेका थिए । रामनारायण मिश्र त्यसबेला बीपी कोइरालाको क्याबिनेटमा मन्त्री भएका थिए । उनले महेन्द्रलाई सोधे, ‘तिमीलाई पढ्न कति खर्च लाग्छ महिनाको ?’ उनले ‘महिनाको ६० रुपैयाँ भए पुग्छ’ भने । 

रामनारायण छक्क परे । उनले भनेछन्, ‘मेरो छोराले त २ सय रुपैयाँ लिन्छ महिनाको ! तिमीलाई ६० रुपैयाँले कसरी पुग्छ ?’

त्यसबेला शिक्षामन्त्री परशुनारायण चौधरी थिए । उनले महेन्द्रनारायणलाई परशुनारायणसँग भेट गराएर ‘यो मेरोे भाइ हो । यसलाई स्कलरसिप दिनुप¥यो’ भने । त्यसपछि महेन्द्रनारायणले एमए पढ्नका लागि मासिक १ सय ५० रुपैयाँ सरकारका तर्फबाट छात्रवृत्ति पाउन थाले । 

त्यसैबखत रामनारायण मिश्रले महेन्द्रनारायणलाई ‘तिमी एमए पास गरेर आऊ । तिमीलाई अमेरिका पठाउँछु’ भनेछन् ।

मिश्र भन्छन्, “तर, सन् १९६० को १५ डिसेम्बर (२०१७ साल पुस १ गते) का दिन नेपालमा ठूलो दुर्घटना भयो । राजा महेन्द्रले बीपी कोइरालाको  सरकारलाई अपदस्त गरे । सबै नेता थुनिए । मेरा दाजु रामनारायण मिश्र पनि थुनिए । मेरो अमेरिकाजाने बाटो पनि थुनियो ।”

नेपालमा भएको सत्ता परिवर्तनले उनलाई एमएको परीक्षा पनि दिउँ कि नदिउँ भन्ने अवस्थामा पुर्‍यायो । दाजु रामनारायण जेलमा थिए । उता मुजफ्फरपुरमा उनलाई पढाइ पूरा गर्न मन लागेन । त्यसैबेला ‘नेप्लिज स्टुडेन्ट्स फेडरेसन’को स्थापना मुजफ्फरपुरमा भएको थियो । जसमा सीके प्रसाई अध्यक्ष भए । महेश्वर सिंह महासचिव र महेन्द्रनारायण मिश्र कोषाध्यक्ष ।

त्यसैताका दरभंगामा शशि शमशेरले एउटा भेलाको आयोजना गरे । त्यो भेलामा भाग लिन देशभरिका बुद्धिजीवीहरू आएका थिए । महेन्द्रनारायण पनि दरभंगा गए । भेलामा भाग लिए । त्यहाँ उनलाई सबैले परीक्षा नछोड्न भन्दै फेरि मुजफ्फरपुर पठाइदिए ।

उनले फर्किएर एमएको परीक्षा दिए । पास पनि भए ।

०००

एमए दिएर उनी पिपरा फर्किएका थिए । त्यतिबेला दिलबहादुर श्रेष्ठ महोत्तरी–सर्लाही गोश्वाराका बडाहाकिम थिए । उनको घरकै एक सदस्यले दिलबहादुर श्रेष्ठसँग महेन्द्रनारायण मिश्रका विषयमा कुरा गरे । 

दिलबहादुरले ‘उनले केही गरेका छैनन् भने डराउनु पर्दैन । यहाँ लिएर आउनु’ भनेछन् । महेन्द्रनारायण मिश्र एक दिन जलेश्वरस्थित बडाहाकिमको कार्यालयमा पुगे । दिलबहादुरसँग कुरा गरे । र केही समय पछि बयलगाडा चढेर पिपरातिर फर्किए ।

उनी चढेको बयलगाडाले जलेश्वरको सीमा काटेको पनि थिएन, चार पाँच जना प्रहरी कुद्दै आए र गाडा रोके । ‘महेन्द्रनारायण मिश्र को हो ?’ भनेर सोधे । उनले ‘म हुँ’ भने पछि उनलाई बडाहाकिमले बोलाएको कुरा सुनाए । 

उनले पनि ‘म नगए के गर्छौ ?’ भनेर अडानका साथ सोधे । तिनले पनि ‘समातेर लान्छौं,’ भने । अब त जानै पर्नेथियो, गए ।

बडाहाकिमको अफिसमा पुगेपछि दिलबहादुरले भने– 

“एउटा कागज गर ।”

“के कागज ?“ मिश्रले भने ।

”म पञ्चायती व्यवस्थालाई समर्थन गर्छु ।”

“यो त म मरे पनि गर्दिन ।” उनले कडाइका साथ जवाफ दिए । युवा उमेर थियो । उनी झनै जोशिए ।

“त्यसो भए जेल पठाउँछु ।”

“बरु म जेल जान तयार छुँ । तर पञ्चायती व्यवस्थाको समर्थनमा कागज गर्दिनँ ।”

दिलबहादुर भने, “त्यसो भए एउटा काम गर । तिमीले म विरोध गर्दिन भनेर लेखिदेऊ ।”

महेन्द्रनारायणले पनि सोचे, अब यिनले अनेक लफडा गर्छन् । त्यसैले मध्यमार्गी बाटो अपनाउनु नै बेस हुन्छ । उनले पनि ‘म निर्दलीय पञ्चायती व्यवस्थाको विरोध गर्दिनँ ।’ भनेर कागज गरिदिए ।

प्राध्यापक मिश्र भन्छन्, “खै, त्यसबखत मैले गलत गरेँ कि सही गरेँ । म आज पनि भन्न सक्दिनँ !”

त्यसबेला पिपराकै मिश्र परिवारका एक जना अग्रज श्यामनन्दन मिश्र भारतबाट चुनाव जितेर लोकसभा सदस्य भएका थिए । १९५२ को निर्वाचनमा महाराज दरभंगासँग चुनाव लडेर उनलाई पराजित गर्दै लोकसभा सदस्य भएका उनी नेपालको नागरिकता छोडेर हिँडेका थिए ।

उनै श्यामनन्दन पिपरा आएका थिए । महेन्द्रनारायण मिश्रलाई के गरुँ कसो गरुँ भइरहेको थियो । उनी श्यामनन्दनसँगै दिल्ली गए । र केही वर्ष दिल्ली नै बसे । 

त्यसबेला भद्रकाली मिश्र पनि दिल्लीमै बस्थे । केही वर्षपछि महेन्द्रनारायणले भद्रकालीसँग २ सय रुपैयाँ सापट मागेर पिपरा फर्किए ।

०००

पिपरामा पनि कुनै काम थिएन । उनी आफ्ना पिताजीलाई सहयोग गर्दै गाउँ बसिरहेका थिए । त्यसैबेला कोलम्बो प्लान अन्तरगत पीएचडीका लागि आवेदन खुल्यो । उनले पनि आवेदन दिए । र पीएचडीका लागि छात्रवृत्ति पनि पाए । र इलाहावादबाट पीएचडी गर्न थाले ।

पिपराको मिश्र परिवारबाट तीन जनाले पीएचडीका लागि स्कलरसीप पाएका थिए । ती हुन्, प्रा.डा. कृष्णचन्द्र मिश्र, प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र प्रा. महेन्द्रनारायण मिश्र ।

प्राध्यापक मिश्र भन्छन्, “भन्नेले जे भनुन्, तर हाम्रो पढाइले नै हामीलाई त्यो छात्रवृत्ति मिलेको थियो । त्यसमा कुनै शंका छैन ।”

पीएचडी सक्नुभन्दा केही अगाडि नै महेन्द्रनारायणको पिताजीको निधन भयो । उनी नेपाल फर्किए । सुरुमा माइग्रेन थियो उनका पिताजीलाई । पछि क्यान्सर भयो । क्यान्सरले नै उनको पिताजीको निधन भयो । 

०००

काँग्रेस नेता दाजु रामनारायण मिश्रलाई पनि क्यान्सरले नै लगेको उनी सम्झिन्छन् । महेन्द्रनारायण मिश्र एक पटक रामनारायण मिश्रलाई भेट्न सुन्दरीजल जेल गएका थिए । दाजुको दयनीय हालत देखेर उनले भने ‘बिरामीले तपाईंलाई गलाएको छ । बरु तपाईं समर्थन गरेर बाहिर आउनुस् र बाहिरबाटै राजनीति गर्नुस् ।’

उनको कुरा सुनेर रामनारायण अत्यन्त क्रोधित भए, महेन्द्रनारायणसँग । उनले भनेछन् “मधेसीमा साहस हुँदैन भनेर भनिँदै आइएको छ । यहाँ पनि म एक जना मधेसी मात्रै छु । मैले पनि समर्थन गरेर बाहिर निस्कने हो भने त मधेसीलाई सबैले थुक्नेछन् । म कुनै पनि हालतमा सरेन्डर गर्दिनँ ।”

रामनारायण मिश्रको अवस्था जेलका हाकिमहरूले देखिरहेका थिए । कुरो पनि दरबारसम्म पुगिरहेकै थियो । त्यसैबेला कसैले ‘रामनारायण मिश्रको आयु लामो छैन । उनी रोगले गलेका छन् । तिनी जेलमै मरेभने ‘ब्रह्महत्या’ लाग्न सक्छ’ भनेपछि उनलाई जेलबाट निकालेर न्युरोड गेटको मिलिट्री अस्पतालमा लगियो । त्यसपछि उनलाई आफन्तहरूले भारतका केही ठूला सहरमा लगेर उपचार गराए । 

पछि उनको निधन पटनाको अस्पतालमा भयो । उनको अन्त्येष्टि भने उनकै इच्छा अनुरुप मातृभूमिमै ल्याएर गरियो । उनको शवयात्रामा अथाह मानिस उपस्थित भएको मिश्र सम्झना गर्छन् ।

०००

पछि उनको सरुवा जनकपुर क्याम्पसको क्याम्पस प्रमुखमा भयो । त्यसबेला जगतमोहन अधिकारी उपकुलपति थिए । उनले मिश्रलाई जनकपुर जान भनेँ । उनले आफूले जनप्रशासन विषय पढाइ रहेकाले त्यहाँ गएर के गर्ने ? भनेर सोधे । उनले जनकपुर रारा क्याम्पसको प्रिन्सिपल भएर जाने भने । मिश्र मानेनन् । जगतमोहनले तत्कालै त्यसो भए पहाडमा सरुवा गरिदिन्छु भने । आखिर उनले जनकपुर जाने निर्णय गरे । 

जनकपुर कलेजमा पहिलो केही वर्ष त राम्रै भयो । क्याम्पसको पछिल्लो कार्यकाल त्यति राम्रो नभएको उनी बताउँछन् । तत्कालीन उपकुलपति रामचन्द्रबहादुर सिंह त्यसबेला जनकपुर आएका रहेछन् । उनी आएको मिश्रले थाहा पाएनन् । अनि सिंहले ‘मलाई भेटन किन नआएको’ भनेछन् । मिश्रले आफूलाई थाहा नभएको जानकारी गराए । तर, सिंहले उनको सरुवा गरिदिने कुरा उठाए । मिश्रले पनि केही नहेरी प्रिन्सिपल पदबाट राजीनामा दिएर केही समय पिपरा बसे । अनि काठमाडौं फर्किए । 

पछि उनी जनप्रशासन क्याम्पसको प्रमुख भए । विद्यार्थीलाई जनप्रशासनसम्बन्धी ज्ञान बाँड्दै हिँडे । आज पनि प्राध्यापक मिश्र जनप्रशानविद्का रूपमा गनिन्छन् । 

यसरी उनले करिब २५÷२६ वर्ष विद्यार्थीलाई पढाए ।

०००

पञ्चायती व्यवस्था गएर बहुदल आइसकेको थियो । जनकपुर क्षेत्रका सांसदहरूको भेला हुँदैथियो । उनको भेट सांसद हरिशंकर मिश्रसँग भयो । उनले महेन्द्रनारायणलाई पनि त्यो बैठकमा लगे । त्यहाँ जनकपुरको विकास कसरी गर्ने भन्ने छलफल भइरहेको थियो । महेन्द्रनारायण मिश्रले म पनि केही भन्छु भन्दै ‘जनकपुरको मात्रै होइन, जनकपुर वरपरका सबै गाउँठाउँको विकास नगरी जनकपुरको विकास हुँदैन’ भने । 

उनको कुरा सबैलाई चित्त बुझ्यो । उनलाई त्यसका बारेमा अर्को दिन आफ्नो विस्तृत धारणा राख्न भनियो । उनले आफ्नो धारणा र योजना दुवै सुनाए ।

केही समयपछि एकदिन रेडियोमा समाचार आयो, जुन सुनेर सुखद आश्चर्यमा परे । समाचार थियो, ‘बृहत्तर जनकपुर क्षेत्र परिषद्को अध्यक्षमा लीला कोइराला र सदस्य सचिवमा प्राध्यापक महेन्द्रनारायण मिश्रलाई मनोनयन गरिएको छ ।’

आफूले पाएको त्यो जिम्मेवारीलाई तनमनका साथ निर्वाह गरेको उनी सुनाउँदै थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १३:४७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro