काठमाडौं । लुम्बिनीबाट हराएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबीब जाहिर अझै फेला परेका छैनन् ।
नेपाल प्रहरीका अनुसार लुम्बिनीबाट हराएका भनिएका हबीबको खोजी जारी छ । नेपाल प्रहरीका प्रवक्ता सर्वोन्द्र खनालले भने, “पाकिस्तानी दूतावासको पत्र आएको छ । हामीले विषेश रूपमा खोजी कार्य जारी राखेका छौं । अहिलेसम्म उनी कहाँ छन् भन्ने खुलेको छैन ।”
स्रोतका अनुसार नेपाल प्रहरीको स्पेशल ब्युरोले उनको खोजी गरिरहेको छ । हबीब अप्रिल ६ तारिखमा लाहोरबाट ओमान हुँदै ओमान एयरको विमानबाट नेपाल आएको र त्यसपछि बुद्ध एयरको विमान चढी भैरहवा गएको प्रहरीले बताएको छ । सुरक्षा अधिकारीहरूका अनुसार काठमाडौं आएलगत्तै उनी भैरहवा विमानस्थल किन पुगे भन्ने ठूलो रहस्य छ ।
“नक्कली अमेरिकी कम्पनी, व्यक्ति र वेबसाइटसमेत खडा गरी अवकाशप्राप्त सैनिक अधिकृतलाई नेपाल झिकाउनु र लुम्बिनी पुर्याएर परिवारसँग सम्पर्क गरेपछि गायब बनाउनुको पछाडि ठूलै रहस्य हुन सक्छ । फेरि लेफ्टिनेन्ट कर्णेल मोहम्मदले सेनामा रहँदा हतियार विभाग सम्हालेका कारण कुरा झनै रहस्यमय छ,” एक सुरक्षा अधिकारीले भने ।
हबीब नेपालको लुम्बिनी क्षेत्रबाट बेपत्ता भएको दाबी पाकिस्तानी मिडियाहरूले गरेका छन् । ६ अप्रिलमा नेपाल आएका उनी परिवारको सम्पर्कबाट विच्छेद भएपछि पाकिस्तानी मिडियाले हराएको समाचार प्रस्तुत गरेका थिए । उनी हराएको समाचार आएपछि नेपालस्थित पाकिस्तानी दूतावासले परराष्ट्र मन्त्रालय तथा प्रहरीलाई पत्र लेखेर खोजिदिन आग्रह गरेको थियो ।
बुद्ध एयरको विमानसँगै उभिएको उनको फोटोसमेत पाकिस्तानी मिडियाहरुले सार्वजनिक गरेका थिए ।
पाकिस्तानी मिडियाका अनुसार मार्क थम्पसन नाम गरेका व्यक्तिले एक राष्ट्रसंघीय निकायका लागि अन्तर्वार्ता दिन हबीबलाई नेपाल बोलाएको थियो । रक्षा मामिलासम्बन्धी वेबसाइट डिफेन्सडटपिकेको फोरममा राखिएको जानकारीअनुसार हबीबले अवकाश पाएलगत्तै लिङ्क्डइन र यूएनको वेबसाइटमा आफ्नो बायोडाटा राखेका थिए ।
उनलाई मार्क थम्पसन नामका व्यक्तिले career@stratsoluotions.biz ईमेलमार्फत् सम्पर्क गरी ३५ सयदेखि ८५ सय डलर तलबको प्रस्ताव गर्दै ओमन एयरको बिजनेश क्लासको टिकट पठाई नेपाल बोलाएको वेबसाइटमा उल्लेख छ । अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद पाकिस्तानी सेनाको हातहतियार विभागमा काम गर्थे ।