
भ्याटिकन सिटी । इसाई धर्म गुरु पोप फ्रान्सिसले नाबालकलाई यौन शोषणमा जोडिएको मामिलामा अब पोप सम्बन्धी गोपनीयता (पोन्टीफिकल सेक्रेट)को नियम लागु नहुने नयाँ नियम ल्याएका छन् ।
चर्चका अनुसार यस सम्बन्धी मामिलामा पारदर्शिता ल्याउनका लागि यो नयाँ नियम ल्याइएको हो । यसअघि चर्चमा यौन शोषणको मामिलालाई अक्सर लुकाउने गरिएको थियो । चर्चले पहिला यस खालको विषयलाई पीडितको गोपनीयता र अभियुक्तको प्रतिष्ठाको रक्षाका लागि सार्वजनिक गर्न नहुने नियम बनाएको थियो ।
मंगलबार जारी गरिएको पोप सम्बन्धी नयाँ दस्ताबेजमा अब भने जसले आफूमाथि शोषणको उजुरी गर्न रोक लाग्ने छैन । पहिला यस्तो उजुरी गरेको अवस्थामा गोपनीयता भंग गरेको दोष उल्टो उजुरीकर्ता वा पीडितलाई लाग्ने गरेको थियो ।
परिणाम स्वरुप उनीहरुलाई नै चर्चबाट निकाल्ने अवस्था आउन सक्ने खतरा रहेको थियो । त्यस्तै प्रहरी वा न्यायीक निकायमा पनि उनीहरु त्यस्ता कुरा खोल्न सक्ने अवस्थामा थिएनन् ।
फेब्रुअरीमा भएको भ्याटिकन समिटमा चर्चका धार्मिक नेताले यस सम्बन्धी नियम बदल्नुपर्ने माग गरेका थिए । उनीहरुले पुरानो नियम अन्त्य गरेको अवस्थामा यो मामिलामा पारदर्शिता आउनेछ जनाएका थिए । साथै प्रहरी र न्यायीक संस्थाले पनि चर्चसँग जानकारी लिन सक्ने नयाँ व्यवस्था अहिले गरिएको छ ।
पोपले आफनो घोषणामा उत्पीडनमा जोडिएका जानकारीलाई अझै पनि सुरक्षा, सत्यता र गोपनीयतामा ध्यान राख्नुपर्ने जनाएका छन् । यद्यपि न्यायीक संस्थालाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।
चाइल्ड पोर्नोग्राफीको उमेर तोकियो
पोपले चाइल्ड पोर्नोग्राफीमा भ्याटिकनको परिभाषासमेत बदलेका छन् । उनले भिडियोमा देखाउनेवाला उमेर १४ बाट बढाएर १८ पुर्याएका छन् । अर्थात् अब पोर्न भिडियो १८ वा त्यो भन्दा कम उमेरको व्यक्तिको भएमा त्यसलाई चाइल्ड पोर्नोग्राफी मानिनेछ ।
भ्याटिकनका सबैभन्दा अनुभवी यौन उत्पीडन जाँचकर्ता तथा माल्टाका आर्च विशपले यो कदमलाई महत्वपूर्ण बताएका छन् । यसले जाँचको बाटोमा आउने बाधालाई घटाउने उनको तर्क छ । उनले पारदर्शितालाई अब उच्चस्तरमा नै लागु गरिने जनाएका छन् । चर्चमा विश्वभरीका पादरीको यौन उत्पीडनको हजारौं रिपोर्ट आएपछि यसअघि हलचल मच्चिएको थियो ।
त्यतिबेला उच्चस्तरका पादरी नै यस्ता मामिला लुकाउन लागिपरेको समेत चर्चा भएको थियो । त्यसपछि पोप फ्रान्सिस यो संकटलाई पार लगाउन कुनै न कुनै उपाय गर्नैपर्ने दबाबमा परेका थिए ।
पोप सम्बन्धी गोपनीयता भनेको के हो ?
‘पोन्टीफिकल सेक्रेट’ अर्थात पोप सम्बन्धी गोपनीयताका नाममा यसअघि लुकाइने गरेका थिए । खासगरी यस्तो गोपनीयताको नियम संवेदनशील सूचना जस्तो भ्याटिकन र पोपको दूतावासबीच हुने कुराकानीलाई सुरक्षित राख्नका लागि बनाइएको हो । यो डिप्लोम्याटिक केबललाई सुरक्षित राखेजस्तै हो । पोप सम्बन्धी गोपनीयताको मामिला न्यायीक निकायमा पनि लागु हुँदै आएको थियो । जसमा अभियुक्तको पहिचान लुकाउने गरिएको थियो । आलोचकले यो गोपनीयतालाई चर्चका केही अधिकारीले दुरुपयोग गरेको र शोषणको मामिलामा प्रहरीबाट जोगिने गरेको आरोप लगाउँदै आएका थिए ।
यद्यपि अब यसरी जोगिन अप्ठेरो हुनेछ । नयाँ नियमअनुसार अब बच्चालाई यौन शोषणको मामिलाबाट कोही पनि जोगिन सक्ने छैनन । साक्षी, पीडित र उजुरीकर्तालाई पनि यस्तो मामिलामा चुप रहनुपर्ने बाध्यता अब हुने छैन । आफ्नो ८३ औं जन्मदिनमा पोपले पीडितबाट लामो समयदेखि गरिदै आएको मागलाई ध्यान दिँदै चर्चमा यौन उत्पीडन, नाबालकलाई उत्पीडन र चाइल्ड पोर्नोग्राफीलाई लिएर जुन जानकारी हुन्छ त्यो प्रशासनलाई जानकारी दिइने जनाएका छन् ।
यसअघि गोपनीयतको विषय भन्दै उजुरी पनि लुकाइने गरेको थियो । पहिला त्यस खालको गोपनीयता तोडेमा चर्चसँगका सबै सम्बन्ध तोडिने डरमा पीडितहरु थिए । त्यसले गर्दा उजुरीकर्तापनि सरकारी निकायलाई बताउन डराउने गरेका थिए । तर, अब यो प्रतिबन्ध हट्ने भएको छ । (बीबीसी)