site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 अक्षर नचिन्दा आमाले हातको औँला टोकिदिनुभयो 
SkywellSkywell

ललितकलाका क्षेत्रमा कूची र कलमका संयोजक हुन् रमेशनाथ खनाल (७१) । उनी चित्र मात्रै कोर्दैनन् त्यसको समीक्षा पनि गर्छन् । योभन्दा भिन्न खनाललाई खेलाडीका रूपमा पनि चिन्न सकिन्छ ।  फुटबल खेल्ने, शारीरिक सुगठन अर्थात् बडिबिल्डिङ प्रतिस्पर्धामा भाग लिने उनका फरक सौख हुन् । धरानबाटै बीकम गरेपछि काठमाडौंं पसे । र, त्रिविबाट एमकममा उत्कृष्ट नतिजा ल्याए । 

उनी भन्छन्– ‘‘अब जागिर खानुपर्छ भन्ने लाग्यो । त्यसको केही समयपछि नै नेसनल ट्रेडिङ लिमिटेडको अनुसन्धान अधिकृतमा नियुक्ति पाएँ ।’’

जागिरे जीवन सुरु भयो । आफूलाई मधुकर शमशेरले यो जागिरमा लगाएको उनी बताउँछन् । खेलकुदको रुचीले उनलाई खेलकुद परिषद्तिर लैजान्थ्यो । उनी नेसनल ट्रेडिङ लिमिटेडको कामबाट फुर्सद भयो कि खेलकुद परिषद् पुग्थे । 

KFC Island Ad
NIC Asia

उनले करिब ११ वर्ष नेसनल ट्रेडिङमा जागिर खाए । र त्यो अवधिभरि उनको आउजाउ खेलकुद परिषद्‍मा भई रह्यो । यसले सम्पर्क र सम्बन्ध विस्तार हुँदै गयो ।

एकदिन उनी अफिस (नेट्रेलि) मा नै थिए । उनलाई धीरेन्द्र शाहको निवास जीवनकुञ्जबाट फोन आयो । सिधै भनियो, ‘तपाईं यहाँ आउनु पर्‍यो ।’ उनी भन्छन्, ‘आफूले के बिराएछु’ भन्ने सोच्दै जीवनकुञ्ज पुगें ।

Royal Enfield Island Ad

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यकक्षमा बुधबार हामीसँग गफिँदै प्राज्ञ रमेशनाथ खनालले त्यो रोमाञ्चकारी कथा सुनाए । 

उनी भन्छन्, मभित्र जाँदा धीरेन्द्र शाह र शरदचन्द्र शाह बसिरहेका थिए । म पुगेपछि धीरेन्द्र शाहले शरदचन्द्रलाई भने, ‘रमेशलाई किन बोलाएका हौ, भन ।’ अनि शरदचन्द्र शाहले मलाई भने, ‘स्पोर्टस साइकोलोजीमा एमएस गर्ने मानिस चाहिने भयो । त्यसका लागि तपाईंले विशेष अध्ययनका लागि युरोप जानु पर्‍यो ।’ यो सुनेर म अलमलमा परेँ ।

नेसनल ट्रेडिङमा स्थायी जागिर थियो । हुन्छ भनुँ, जागिर जाने । नाई भनुँ अधिराजकुमारको अघिल्तिर आएको अफर कसरी नाइँ भन्नु । असमञ्जसमा परें । तर, पनि हिम्मत गरेर भनें, ‘म जाउँला । तर मेरो नोकरीको के हुन्छ ?’

उनको यो प्रश्नको जवाफ तत्कालै शरदचन्द्र शाहले दिए । जस अनुसार  युरोप जानु अगाडि रमेशनाथलाई नेसनल ट्रेडिङबाट एक तह प्रोमोसन दिँदै परिषद्‍मा तान्ने । र, तीन वर्षमा युरोपबाट फर्किएपछि फस्ट क्लासमा प्रोमोसन गरिदिने ।

रमेश खनाल भन्छन्, “यसरी म केही समयभित्रै थर्डक्लास अफिसरबाट फस्टक्लास अफिसर भएँ !

त्यसको सात दिनभित्रै उनी जर्मनी गए । केही महिनापछि उनको होस्टलमा शरदचन्द्र शाह आइपुगे । उनको अवस्था देखेर नेपाल फर्किएर दिनको पाँच डलर थप दिने निर्णयसमेत उनले गरिदिएको खनाल सुनाउँछन् । 

०००

रमेशनाथ खनालको जन्म पूर्वाञ्चलको सुन्दर नगरी धरानको पुरानोबजारमा भएको हो । उनी पिताजीका एक्ला छोरा हुन । उनका तीन बहिनी छन् ।

धरानमा खनालहरूको ठूलो बस्ती छ । उनलाई थाहा भएसम्म उनका पुर्खा पहिले तेह्रथुमबाट भालढुँगा हुँदै धरान झरेका हुन् । भालढुँगामा खनालहरूको कुलपूजा हुन्थ्यो । त्यहाँबाट छुट्टिएका परिवार धरान झरे पूर्वको त्यही सुन्दर नगरीमा आफू हुर्किएको र स्थानीय पब्लिक हाइस्कुबाटै २०२१ सालमा एसएलसी पास गरेको उनी बताउँछन् ।

प्राज्ञ खनालले आफ्नो बाल्यकालका केही रोचक सन्दर्भ यसरी सम्झिए– मलाई पढ्न लेख्‍न साह्रै गाह्रो लाग्थ्यो । सावाँ अक्षर चिन्नै सकस । आमाले आफैं पढाउन थाल्नुभयो । मानौं अक्षरदेखि रिस नै उठेको थियो, ध्यान नै नजाने । चिन्दै नचिन्ने लेख्दै नलेख्‍ने ।

रमेशनाथ खनाल हाँसे र भने, ‘‘एक दिन आमा मलाई केही लेख्‍न सिकाउँदै हुनुहुन्थ्यो । मैले नलेख्‍न अनेक बाहाना गरिरहेँ । उहाँलाई झोँक चलेछ । मेरो हात तानेर औँला नै किटिक्क टोकिदिनु भयो ।  सायद, मेरा लागि त्यो नै ठूलो सजाय भयो !” 

दाँतको टोकाइबाट दुख्नु स्वाभाविक थियो । त्यही दुखाइले हो वा केले हो, भोलि पल्टदेखि नै उनले सारा अक्षर बुझ्‍न थाले । पढ्न र लेख्‍न पनि थाले । उनलाई यो घटनाले आज पनि झक्झकाई रहन्छ । 

धरानमा उनको परिवार साहित्य, कला संगीत र संस्कृतिमा भिजेको थियो । उनका पिता साहित्य कोर्थे । त्यसका अतिरिक्त पिताजीको रुची खेलकुदमा पनि थियो ।

उनका ठूलो बुवाका छोरा गोविन्द खनाल भने चित्रकार तथा नाट्यकर्मी थिए । उनका कैयन सुन्दर चित्रहरूले आफूलाई त्यसतर्फ आकर्षित गरेको रमेशको भनाइ छ । खनालका अनुसार उनको घर परिवारका धेरै जसो सदस्य सृजनात्मक क्रियाकलापमा सक्रिय थिए । 

यसरी घरायसी वातावरणले उनलाई कलातर्फ आकर्षित गरेको थियो । यद्यपि उनी धरानको राम्रो फुटबल खेलाडी थिए ।  

उनका दाजु (ठूलोबाका छोरा) नूतनदेव खनाल शिक्षक थिए । रमेश ६ कक्षामा पढ्थे । एकदिन नूतनदेवले सबैलाई बोलाएर सामान्यज्ञान सोधे । सबै पालैपालो गएर सोधिएका कुराको जवाफ दिन थाले ।  पालो रमेशको आयो । उनी दाजु नूतनदेवका अगाडि गए । उनले सोधेछन्, ‘एक मन रुवो र एक मन फलाममा कुन भारी हुन्छ ? बताऊ ।’

रमेशले पनि फ्याट्टै जवाफ दिए ‘फलाम भारी भै हाल्छ नि !’ तर, त्यो जवाफले उनलाई आजसम्म पनि झस्काउँछ । भन्छन्, “मेरो जीवनको एउटा रोचक सन्दर्भ हो यो ।”

२०२१ सालमा एसएलसी पास गरेपछि धरानकै कलेजमा आइकम पढ्न सुरु गरें । त्यहीँबाट बीकम पास गरें । त्यसपछि सुरु भयो काठमाडौं यात्रा । २०३१ सालमा काठमाडौं छिरें ।

त्यो बेलाको धरान पिच नभए पनि रमाइलो र राम्रो रहेको उनी बताउँछन् । शैक्षिक दृष्टिकोणबाट पनि धरान त्यसबेलाको चर्चित गन्तव्य थियो । मिश्रित समाज थियो उतिबेला । पछि मात्रै राई लिम्बुहरू माइग्रेट भएर धरान आउन थालेको उनको भनाइ छ ।

उनी भन्छन्, “गजबकै रमाइलो थियो धरान । विराटनगर र इटहरीभन्दा धेरै चिसो ठाउँ । धरानमा लामखुट्टे लागेको मलाई थाहा छैन । आज पनि त्यत्तिकै रमाइलो लाग्छ । त्यसैले बेलाबेलामा जन्मभूमि गइरहन्छु ।”

धरानलाई सफा र स्वच्छ सहर मान्छन् खनाल । धरानमा पानी जमेको उनलाई थाहा छैन । अचेल त झन् धरानले युरोपको झझल्को भेटेको अनुभूत हुन्छ खनाललाई ।

०००

धरानलाई फुटबलका लागि नेपालभित्रको ब्राजिल मान्छन् उनी । फुटबल मात्रै होइन्, हरेक खेलमा धरानका खेलाडी उत्कृष्ट र अद्वितीय मान्छन्  । धरानबाट उत्पादन भएका जुनसुकै खेलका खेलाडी पनि नेपालभरि रुचाइन्थे । नेपालका विभिन्न ठाउँमा उनीहरू खेल्न पुग्थे । रमेशनाथ खनाल कुशल फुटबल खेलाडी पनि थिए ।

उनले धरानमै रहेर धेरै खेल खेले । फुटबलमा उनी धरानको अञ्चलस्तरीय खेलाडी थिए । तर, पछि उनले फुटबल खेल्न छोडे । यद्यपि उनको रुची फुटबलमा आज पनि उस्तै छ, जुन धरानमा थियो । 

पछि उनी बडिबिल्डिङ (शारीरिक सुगठन) तिर लागे । यसको रोचक प्रसंग सुनाउँदा उनी आफैं रोमाञ्चित भइरहेका थिए– एक दिन घरमै बसिरहेको थिएँ । एक जना साथी आएर ‘एउटा राक्षस जस्तो मानिस देखें ।’ भन्दै त्यसको बयान गर्‍याे । ‘त्यसको हातखुट्टा यति मोटामोटा छन् । छाती पनि यति ठूलो छ ।’

बयान सुनेपछि उनी रोकिन सकेनन् । भने, ‘‘लौ जाउँ, गएर हेरौँ’ साथीसँगै पुगें पुलिस क्याम्प । त्यहाँ पुग्दा थाहा भयो ती व्यक्ति लाहुरे रहेछन् । मिस्टर सिंगापुर भइसकेका ती उनी छुट्टीमा घर आएका रहेछन् ।’’ 

त्यसपछि रमेशले उनीसँग परिचय बनाए । बडिबिल्डिङका बारेमा जानकारी लिए र तिनै लाहुरेसँग छ महिना बडिबिल्डिङ सिके ।

‘‘लाहुरे फर्किएपछि कलकत्ताबाट बडिबिल्डिङका लागि चाहिने सामानहरू मगाएँ । र धरानमा ‘डाँफे युथ जिम्‍नाजिएम क्लब’ को स्थापना गरें ।’’ धरानमा यो पहिलो क्लब खोलिएको उनी बताउँछन् ।

०२५/२६ सालतिर बडिबिल्डिङ सिक्न थालेका रमेशनाथले २०२७ सालमा धरानमा बडिबिल्डिङको प्रतिस्पर्धा गराएर ‘मिस्टर धरान’ को उपाधि नै हात पारे ।

त्यसपछि उनको नाम मिस्टर धरान रह्यो । आज पनि धरान जाँदा उनी मिस्टर धरानकै नामले चिनिन्छन् ।

२०३१ सालमा काठमाडौंं आउँदा यहाँ पनि मिस्टर काठमाडौंको प्रतिस्पर्धा हुँदै थियो । उनले त्यसमा पनि भाग लिए र तेस्रो भए । पछि उनले बडिबिल्डिङको प्रतिस्पर्धामा भाग लिन्न भन्दै यस खेललाई नेपालभरि प्रचार प्रसार गर्ने हेतुले नेपालका विभिन्न जिल्ला घुम्दै त्यसको प्रचार गरे ।

यसरी खेलकुदमा सक्रिय रमेशनाथ खनाल चित्रकलामा पनि निरन्तर लागि रहेका थिए । चित्रकला सिकिरहेका थिए । 

०००

चित्रकारिताका क्षेत्रमा उनको प्रेरणाका पुञ्ज उनका पिताजी र दाजु गोविन्द भएको उनी स्वीकार्छन् । ठूलो बुवाका छोरा गोविन्दको साथ र संगतले उनलाई कलाको क्षेत्रमा अगाडि बढ्न प्रेरित गरिरह्यो । 

‘‘गोविन्द दाइ भित्तामा अनेक रंगका चित्र बनाउँथे । तिनले आकर्षित गरिरहे । यस्तै चित्र मैले पनि बनाउन पाए कस्तो हुन्थ्यो भन्ने सोच्दथें ।’’

तिनताक उनका पिताजी भारतका विभिन्न सहर गइरहन्थे । उताबाट फर्किँदा कहिले काहीँ आफ्नो पोट्रेट चित्र पनि बनाएर ल्याउँथे । उनले पिताजीलाई सोध्दा उनका पिताजीले ‘कलकत्ताको चौरंगीमा बनाएर ल्याएको’ भन्थे ।

पिताजीको पोट्रेट देखेर यस्ता पोट्रेट त आफूले बनाउन पाए पनि हुन्थ्यो भन्ने उनलाई लागिरहन्थ्यो । अनि कहिले काहीँ उनको बालमनले अह्राउँथ्यो चित्र बनाउन । त्यसैले पनि उनी अनेक चित्र पेन्सिलले कागजमा कोरिरहन्थे ।

उनी भन्छन्– आठ कक्षामा पढ्दै गर्दा कोरेको एउटा चित्रमा एकातिर अब्राहम र अर्कोतिर केनेडी थिए । उनीहरूको बीचमा आफ्नो अनुहार बनाएर सबैलाई देखाएँ । त्यो चित्र के सोचेर बनाएँ, थाहा छैन । तर, आज सम्झन्छु– त्यो चित्रमा मभित्रको चाहना पो थियो कि ? केही न केही त थियो नै त्यसमा ! मानिसले हाँसेर टारे पनि त्यसले ठूलो अर्थ बोकेको थियो भन्ने लागिरहन्छ ।

बेलाबेलामा चित्रकला पनि कोर्ने रमेशनाथले धरान कलेजमा पढ्न थाले पनि खेलकुद र चित्रकारितामा देखिएको लगावलाई मलजल गरिरहे । उनी दुवै क्षेत्रमा आफ्नै किसिमबाट लाग्दै गए । उनको यात्रा कता जाने हो, त्यो थाहा नभए पनि उनी चित्रकला पनि कोरिरहेका थिए र फुटबल र बडिबिल्डिङमा पनि सक्रिय नै थिए ।

त्यसैबेला चर्चित कलाकार रामानन्द जोशी धरान आए । उनी देश दर्शनका लागि धरान पुगेका थिए । जोशीसँग उनको भेट भयो । रमेशले जोशीलाई सहयोग पनि गरे । 

पछि जोशीले खनाललाई ‘काठमाडौं आऊ । म तिमीलाई चित्रकला गर्न सिकाउँछु,’ भने । यसले उनलाई कलाप्रति झन् उत्साही बनायो । त्यो बेलासम्म आफूले चित्रकलाको एबीसीडी नजानेको उनी बताउँछन् । 

एमकम पढ्न काठमाडौं आएका उनी पार्क ग्यालेरी पुगे । उतिबेला रत्नपार्कमा पार्क रेष्टुरेन्ट थियो । र त्यसकै मुनि पार्क ग्यालेरी थियो । त्यहाँ रामानन्द जोशीका छोराहरूको ग्यालेरी सञ्चालन गर्थे । त्यो ग्यालेरीमा देशका नामुद कलाकारहरू आउने गरेको उनी सम्झिन्छन् ।

उनी भन्छन्, “त्यतिबेला लक्ष्मण श्रेष्ठ जस्ता कलाकारलाई पनि मैले त्यहीँ भेटेको हुँ । त्यही ग्यालेरीमा रामनाथ जोशीसँग चित्रकला सिक्न थालें ।’’ उनीसँगै श्यामलाल श्रेष्ठ, हिरालाल डंगोल, किरण, गौतमरत्न पनि चित्रकला सिक्न आउँथे ।

उनको चित्रकलाको शिक्षादीक्षा यहींबाट सुरु भयो र उनले आफ्नो कूचीलाई क्यानभासमा निरन्तर कुदाउँदै गए ।

उनलाई आफ्नी आमाले भनेको एउटा कुरा सधैँ सम्झना हुन्छ । उनकी आमा भन्थिन् ‘कहिले पनि सस्तो नहुनु । केही गर्नु छ भने अरूले नगरेको फरक काम गर्नु । त्यो सबैको नजरमा पर्छ ।’ 

आमाको यो भनाइले उनलाई सधैं मार्गनिर्देश गरिरह्यो । र, उनी पनि आफ्नो त्यही अडानमा रहे ।

आमाले ठूला र राम्रासँग संगत गर्नु भनेकाले बालकृष्ण सम कहाँ पुगेको उनी सम्झन्छन् । समजीसँग आफ्नो संगत बढ्नुमा बडिबिल्डिङले काम गरेको उनी मान्छन् । किनभने समजीलाई पनि बडिबिल्डिङमा रुची थियो । समजीसँगको संगतमा उनले आफ्नो कलाकारितालाई तिखार्दै लगे ।

०००

रामानन्द जोशीसँग चित्रकला सिक्दै गर्दा आयामेली कवि ईश्वर बल्लभसँग परिचय भयो । बैरागी काइँला र इन्द्रबहादुर राईसँग पनि संगत भयो ।

एकदिन ईश्वर बल्लभलाई सोधें, ‘म अरू कोही जस्तो हुन चाहन्न । यसका लागि के गर्नुपर्छ ?’ 

कवि ईश्वर बल्लभले पनि तिमीले केही पृथक गर्ने सोच भन्दै सात दिनपछि बोलाए ।

सात दिनपछि जाँदा ईश्वर बल्लभले ‘अरूपण’ शैलीमा चित्रकला बनाउन भने । अरूपण अर्थात् कुनै रूप नभएको । यस्तो चित्र बनाउन भनेपछि उनले त्यस्तै चित्र बनाउन थाले, रंगहरू हुन्थ्यो । त्यसको संयोजन हुन्थेन ।

त्यसपछि उनले ‘अरूपण’ शैलीका चित्र बनाउनु सुरु गरे । जसलाई उनी एक्सिडेन्टल आर्ट पनि भन्छन् ।

‘रूपविहीन चित्रलाई अरूपण भनिने त थाहा पाएँ । त्यसको गहिराईमा पुग्न अझै धेरै जान्नु थियो । किताबहरू पढें । त्यसको साधनालाई निरन्तरता दिएँ । आज पनि, अरूपण शैलीमै चित्र कोर्दै आइरहेको छु । जसमा रूप हुन्न । बिम्ब हुन्न । बस रंग हुन्छ । भाव हुन्छ ।’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro