site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुन कारोबार सिजनमै निराशाजनक, व्यवसायी भन्छन्– मूल्यवृद्धि मुख्य कारण

काठमाडौं । विगतका वर्षहरुमा दसैंको समयमा सुन व्यापार उत्साहजनक हुने गरेकोमा यस वर्ष भन बजार सुनसान भएको व्यवसायीले बताएका छन् । सुनको मूल्य नघटेकाले कारोबार एकदमै न्यून रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । 

मूल्य नघटेपछि सुन किन्ने ग्राहक पनि घटेको व्यवसायीहरुको भनाइ छ । बाह्रखरीसँग कुरा गर्दै सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सुन कारोबार गत वर्षको दसैंको तुलनामा यो वर्ष ७५ प्रतिशत कम भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “विगतका वर्षहरुमा दसैंमा दैनिक ३० देखि ४० किलोसम्म सुनको कारोबार हुने गरेको थियो । यो वर्ष मुस्किलले दैनिक १५ किलो कारोबार भइरहेको छ । मूल्य बढेकाले नै कारोबार कम भएको हो ।” यद्यपि, तीजको समयमा भन्दा भने व्यापार केही बढेको उनको भनाइ छ । जेठ पहिलो सातादेखि सुनको भाउ उकालो लागेको हो । 

आजका लागि छापावाला सुन प्रतितोला ७० हजार ९ सय र तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा आज प्रतितोला ११ सय रुपैयाँले बढेको हो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ८ सय ३५ रुपैयाँ रहेको चाँदी आज प्रतितोला १५ रुपैयाँ बढेर प्रतितोला ८ सय ५० रुपैयाँ पुगेको छ । 

नेपालमा करिब २२ हजार व्यवसायीहरुले सुनको कारोबार गर्दै आएका छन् । सरदर दैनिक २० किलो सुन नेपाली बजारमा खपत हुने गरेको सुनचाँदी व्यवसायी महासंघले बताउँदै आएको छ । विगतका वर्षहरुमा चाडपर्वको समयमा यो परिमाण दोब्बर हुने गरे पनि यो वर्ष भने व्यापार निराशाजनक भएको व्यवसायीको गुनासो छ । 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६  १३:४५
प्रतिक्रिया दिनुहोस्