काठमाडौं । दशैं नजिकिँदै लाग्दा खसीबोकाको मासु उपभोगको चर्चा चलेको छ । दशैंका लागि व्यापारी तथा सरकारी कम्पनीले खसीबोका संकलन गरिरहेका छन् । यसै सन्दर्भमा खसीबोकामा देश आत्मनिर्भर हो वा आयात गर्नुपर्छ भन्ने चासोको विषय बनेको छ ।
सरकारले खसीबोकामा मुलुक आत्मनिर्भर भएको दाबी गरे पनि व्यापारी भने मासुको माग देशले धान्न नसक्ने बताउँछन् । अन्य समयमा पुग्ने भए पनि विशेषगरी दशैंको समयमा खसीबोका आयात गर्नुपर्नेे यथार्थ विगतको छ । यता कृषि विकास मन्त्रालय भने चाडपर्व लक्षित खसीबोकाको उत्पादनबारे कुरा गर्दा देश आत्मनिर्भर रहेको दाबी गर्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागका महानिर्देशक वंशी शर्मा नेपाल खसीबोकामा आत्मनिर्भर भइसकेको दाबी गर्छन् । बाह्रखरीसँग कुरा गर्दै शर्माले भने, “नेपाल खसीबोकामा आत्मनिर्भर छ, चाडपर्वमा मासुको अभाव हुने गरेको छैन । यो वर्ष पनि हुँदैन ।”
शर्माका अनुसार हाल देशभर १ करोड १८ लाख खसीबोका तथा बाख्रा छन् । जसको ३० प्रतिशत कटनीमा जान्छ । यसमध्ये ३० लाख खसीबोकाको मासु खाने गरिएको छ । ३० लाखमध्ये वार्षिक ६ लाख काठमाडौं उपत्यकाको माग हो । अन्य समयमा सामान्य रहने बजार दशैंको समयमा भने चापमा पर्ने गरेको छ । चाडको समयमा खसीबोकाको मागले काठमाडौं बाहेक कुनै ठाउँमा समस्या नपार्ने गरेको दाबी उनले गरे । शर्माले भने, “मासु पाइएन भन्ने समस्या कतै छैन र हुँदैन पनि ।”
यता राजधानीको आफ्नै उत्पादन नभएका कारण देशका विभिन्न स्थानबाट वार्षिक ६ लाख खसीबोका आयात गरिँदै आएको छ । जसमध्ये दशैंमा दैनिक ४० हजार वटा खसीबोका तथा च्यांग्राको माग हुने गरेको छ ।
दशैंमा माछामासुको अभाव हुन नदिन विभिन्न सहकारी तथा निजी संघसंस्था, व्यवसायी संघसँगको सहकार्यमा आवश्यकता भन्दा बढी खसीबोका आयात हुने गरेको शर्मा बताउँछन् । यसपल्टको दशैंमा पनि यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । व्यापारीले सहजता खोज्ने भएकाले कृषक समक्ष उनीहरु नपुग्ने तर अभावको हल्ला चलाउने गरेको आरोप पनि शर्माले लगाए । भने, “तर, यतार्थ त्यस्तो चाहिँ छैन ।”
सरकारले व्यवसायीलाई कुन ठाउँ र कुन घरमा कति खसीबोका छन्, त्यसको सूची मासु व्यवसायीलाई उपलव्ध गराएको समेत उनले जानकारी दिए । “तर, व्यापारी त्यहाँ लिन जान चाहँदैनन्, किसान व्यापारीसम्म आउन सक्दैनन् । समस्या यतिमात्र हो,” उनले भने ।
दशैंमा खसीबोकाको ९५ प्रतिशत र भेडाच्यांग्रा ५ प्रतिशत खपत हुन्छ । सरकारी तथ्यांकमा पनि गएको फागुन ३ गतेबाट भारतबाट एउटा पनि खसीबोका आयात भएको दखिँदैैन । “६–७ महिना नेपालकै उत्पादनले धान्यो भने दशैंमा ४० हजार कसरी पुग्दैन ?” शर्माको प्रश्न छ ।
मासु जाँच ऐन, २०५५ र नियामावली २०५६ अनुसार चौपायाको अनिवार्य स्वास्थ्य परीक्षण र क्वारेन्टाइन कार्यान्वयनमा आइसकेको छ । सोहीकारण पनि स्वच्छ मासु प्रयोग गर्न पाइँदैन भन्ने शंका नगर्न पशु सेवा विभागको आग्रह छ । विभागले आवश्यकताअनुसार नै खसीबोकाको आयात गरेर यो वर्ष मासुको मूल्य बढ्न नदिन पनि मन्त्रालयसँग छलफल समेत गरेको बताएको छ ।
भन्सार विभागले दिएको जानकारी अनुसार पनि नयाँ आर्थिक वर्षमा एउटा पनि खसीबोका आयात भएको देखिँदैन । गत आर्थिक वर्षमा भने ३ लाख १६ हजार वटा जिउँदो खसीबोका आयात भएको तथ्यांक भन्सार विभागको छ ।
चौपाया खरिद बिक्री संघका पूर्व अध्यक्ष दीपक थापाले भने नेपाल खसीबोका उत्पादनमा जम्मा ६० प्रतिशतमात्र आत्मनिर्भर भएको दाबी गरेका छन् । उनका अनुसार हाल ४० प्रतिशत खसीबोका भारतबाट ल्याउनुपर्ने अवस्था छ । उनले भने, “खसीबोका नेपालको उत्पादन ६० प्रतिशतमात्र हो, ४० प्रतिशत भारतबाटै आयात हुन्छ ।”
उनका अनुसार राजधानीमा मासुको माग पूरा गर्न दैनिक करिब एक हजार वटा खसीबोका चाहिन्छ । तर, दैनिक ६–७ सय वटामात्र आयात हुने गरेकाले दैनिक ३ सय वटा खसीबोकाको अभाव छ । “चाडपर्वमा पनि आयातको अवस्था यस्तै रहे मासुको अभावका साथै मूल्य बढ्ने पनि पक्का छ,” उनले भने ।
व्यवसायी भने सरकारले ल्याएको चौपाया क्वारेन्टाइनका कारण प्रशासन र बिचौलिया मिलेर कालोबजारी बढाएको आरोप लगाउँछन् । थापाले खुल्ला बोर्डर भएका कारण भारतीय खसीबोकालाई नेपाली भनेर क्वारेन्टाइन सर्टिफिकेट दिइने गरेको आरोप लगाए । चौपायाको स्वास्थ्य परीक्षण गरिएको भन्दै ढाटिँदा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर लापरवाही भएको आरोप उनको छ । उनले भने, “हामीसँग खेलबाड गरिएको प्रमाण छ । कागजमा जेसुकै होस् । त्यो हेरेर सत्य कुरा थाहा हुँदैन ।”
उनले सरकार कागज मात्र खोज्ने तर सीमामा चेक प्वाइन्ट राखेर जाँच नगर्ने आरोप लगाए । थापाले भने, “सीमामा चेक गर । राम्रो भए पठाउ, नत्र फिर्ता गर । तर, सरकार मान्दैन ।” त्यसकारण पनि क्वारेन्टाइनको सर्टिफिकेट र गाविसको सिफारिसमा ठूलो रकम झ्वाम पार्ने नियत स्पष्टै देखिने दाबी उनको छ ।
हाल बजारमा स्थानीयभन्दा आयातीत तथा चोरी पैठारीका खसीबोका बढी देखिन्छ । थापाले कलंकीको खसीबोका बजारमा आएर प्रत्यक्ष अवलोकन गर्न सरकारी निकायलाई आग्रह पनि गरेका छन् । उनले भने, “नेपाली र इन्डियन खसी कुन हो सजिलै चिन्न सकिन्छ । एकपल्ट बजार त आउनुहोस् ।”
यसरी एकातिर सरकार आत्मनिर्भरता र मासुको मूल्य नबढाउने कसरतमा लागि परेको छ, अर्कातिर व्यापारी उत्पादन कम र भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यो वर्ष स्वतः मासुको मूल्य बढ्ने बताइरहेका छन् । जसको प्रत्यक्ष असर भने उपभोक्तामा पर्ने देखिन्छ ।
तस्बिरः रासस