काठमाडौं । काठमाडौंको मुख्य तरकारी बजार कालीमाटीमा आयातित हुने तरकारीमा विषादी प्रयोगको मात्रा कम देखिएको छ । कालीमाटी तरकारी बजार विषादी परीक्षण शाखाले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको हालसम्म गरिएका तीन सय नौ नमुनामध्ये एक नमुनामा मात्र विषादी भेटिएको हो ।
साउनमा दुई सय ४४ र भदौ महिनाको हालसम्म गरिएको ६५ गरेर कुल तीन सय नौ नमुनामध्ये साउनको नमुना परीक्षणमध्ये एउटा नमुनामा मात्र विषादी भेटिएको हो । जुन भारतबाट आयातित भएको केरामा भेटिएको थियो ।
के तरकारीमा विषादी प्रयोग गर्ने छोडिएको हो त ?
बाह्रखरीसँग कुरा गर्दै बाली संरक्षण अधिकृत तथा विषादी परीक्षण शाखाका प्रकाश घिमिरेले विगतका वर्षहरुमा भन्दा पछिल्लो समय कालीमाटीमा आयातित तरकारीमा विषादी प्रयोगको मात्रा न्यून भएको बताए ।
घिमिरेका अनुसार तरकारीमा विषादी प्रयोग गर्नै छोडिएको भने होइन । उनले नमुना लिएको तरकारीमा विषादी हालेको तरकारी नपर्न सक्ने, बजारमा ल्याउनुभन्दा ४– ५ दिन अघि नै विषादी छर्किने (जसले गर्दा विषादीको मात्रा देखिँदैन ) वा कार्बोमेट्स र अर्गाना फस्फेट (जुन परीक्षण गर्ने उपकरण कालीमाटीमा छैन ) को प्रयोग गरेको हुन सक्ने आशंका व्यक्त गरे ।
“तर पनि कालीमाटीका विषादी परीक्षण हुन्छ भन्ने जानकारी पाएपछि किसान केही सचेत भने भएका छन्,” उनले भने ।
उनका अनुसार कालीमाटीमा आयातित हुने तरकारी धेरै स्वदेशमै उत्पादन भएको हुनाले बजारमा हल्ला भएअनुरुप तरकारीमा व्यापक विषादी प्रयोग भएको छ भन्ने कुरा यथार्थ नभएकोे बताए । पछिल्लो समय किसान र उपभोक्ता सचेत भएको उनको भनाइ छ ।
विषादीको अवशेष दुई हप्तापछि नदेखिने हुनाले पर्खिनुपर्ने अवधिको ख्याल गरिएको हुनाले, कालीमाटीमा आउने तरकारीमा नाकाबाट होस् वा अन्य ठाउँबाट तरकारी आयात हुँदा चार–पाँचदिन समय लाग्ने भएकाले विषादीको मात्रा उडेर जान्छ । जसले तरकारीमा विषादी कम देखिएको छ । त्यसैगरी भारत तथा नाकाबाट आयात हुने तरकारी आइपुग्न समय लाग्ने भएकाले विषादीको मात्रा उडेर जाने सम्भावना धेरै भएको उनले प्रस्ट पारे ।
कालीमाटीमा आयातित हुने तरकारीमध्ये पछिल्लो समय बोडीमा विषादीको मात्रा धेरै पाइएको थियो भने हाल केरामा विषादीको मात्रा भेटिएको घिमिरेले बताए । परीक्षणको लागि संकलन गरिएको नमुनाको रिपोर्ट डेढ घन्टासम्ममा आइसक्ने घिमिरेले बताए ।
नमुना परीक्षणले देखाएको रिपोर्टअनुसार उपभोक्ता तरकारी प्रयोग गर्न आत्तिनुपर्ने अवस्था नभएको र ढुक्कसँग तरकारी प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् । शाखाले दिएको जानकारीअनुसार विगतका वर्षहरुमा भन्दा पछिल्लो समय तरकारीमा विषादीको मात्रा कम देखिएको छ । कालीमाटी तरकारी बजारमा तीन तहको तरकारीको विषादी परीक्षण क्वारेन्टाइन तथा जीवनाशक विषादी परीक्षण गरेर मात्र बेच्ने गरिएको छ ।
जसमध्ये शून्यदेखि ३५ पीपीएम (जसलाई ग्रिन मानिएको छ ) भएको तरकारीलाई खान योग्य मानिएको छ ।
त्यसैगरी, ३५ देखि ४५ पीपीएम (सलाई एलो मानिएको छ ) भएको तरकारीलाई केही दिन स्टक गरेर पुनः विषादीको मात्रा परीक्षण गरेर प्रयोग गर्न सकिने ४५ भन्दा बढी पीपीएम करेन्ट (जसलाई रेड मानिएको छ ) भएको तरकारीमा उच्च विषादी हुने भएकाले यसलाई नष्ट गरिने बताइएको छ ।
२०७१ असार ४ गतेबाट कालीमाटी तरकारी बजारमा विषादी परीक्षण सुरु गरिएको हो । विषादी परीक्षण सुरु भएको पाँच वर्ष पूरा भएको छ । शाखाले दिएको जानकारी अनुसार २०७१ असार ५ देखी ३२ गतेसम्मको विषादी परीक्षणको कुल नमुना संख्या एक सय ८७ मध्ये २६ वटामा विषादी प्रयोग भएको पाइएको थियो ।
जसमध्ये एक सय ५५ वटा ग्रिन (खान मिल्ने), छ वटा एल्लो ( केही दिन स्टक गरेर परीक्षण पश्चात खान मिल्ने) र २६ वटामा रेड ( खान नमिल्ने वा नष्ट गर्नुपर्ने) भेटिएकोे थियो । जुन नष्ट गर्नुपर्ने समग्रमा १३.९० प्रतिशत हो ।
त्यसैगरी, २०७१–७२ मा विषादी परीक्षणको कुल नमुना संख्या १५ सय ७० मध्ये चारवटा (०.२५ प्रतिशत) प्रयोग गर्न नमिल्ने भएकाले नष्ट गरिएको थियो । २०७२– ०७३ मा कुल विषादी परीक्षण संख्या १९ सय ३६ मध्ये १० वटा (०.५२ प्रतिशत), २०७३–०७४ मा कुल विषादी परीक्षण संख्या १९ सय ३० मा २२ वटा (१.१४ प्रतिशतमा भारतको गोलभेडामा विषादीको मात्रा धेरै भएको बताइएको छ ), २०७४–०७५ मा कुल विषादी परीक्षण संख्या १८ सय ५० मा तीनवटा र २०७५–०७६ को हालसम्ममा कुल विषादी परीक्षण संख्या २६ सय दुईमध्ये दुईवटामा मात्र खान नमिल्ने गरी विषादी प्रयोग भएको पाइएको छ ।
कालीमाटीले विषादी परीक्षण सुरु भएको अवधिदेखी हालसम्ममा ६८ वटा नमुना नष्ट गर्नुपर्ने भेटिएको बताएको छ ।
खान नमिल्नेगरी प्रयोग भएको तरकारीलाई नष्ट गर्न स्थानीय प्रशासन, समितिका प्रतिनिधि, व्यापारीका प्रतिनिधिलगायत बसेर मुचुल्का बनाई प्रक्रिया पूरा गरिन्छ । कालीमाटी तरकारी बजारबाट नमुना लिएर र्यान्डम परीक्षण गरिँदै आइएको छ ।
त्यसैगरी, मनिटरिङ्गको रुपमा तरकारीको पकेट क्षेत्र (नजिकका जिल्ला) मा गएरसमेत नमुना लिने गरेको र समय–समयमा नजिकका नाकाहरुमा ( इन्ट्रि पोइन्ट) राति गएर नमुना ल्याउने गरेको समेत बताइएको छ । फाइल तस्बिर